नेपाली चङ्गा भनेको 'फाइटर काइट' हो

राजधानी काठमाण्डूमा वसन्तपुर दरबार स्क्वायरमा रहेको काष्ठमण्डप मन्दिर नजिकैको गल्लीमा नाम नराखिएको सानो चङ्गा पसल छ। ५३ वर्षदेखि निरन्तर चलिरहेको यो पसलमा अहिले अधिकांशत: आयात गरिएका आधुनिक डिजाइनका कागज र प्लास्टिकका चङ्गा, धागो र लट्टाईहरू पाइन्छ। यो पसलको विशेषता - यहाँ अझै नेपाली चङ्गा पनि पाइन्छ।
पसलका मालिक प्रतापमान श्रेष्ठका बुवाले सुरु गरेको यो पसल वर्षमा एक पटक मात्र खुल्छ।
उनका लागि यो पसलले उनका बुवासँगको भावनात्मक साइनो पनि राख्छ।
"चङ्गा पसल चलाउन नछोड्नू" भन्ने बुवाको आज्ञा पालन गर्दै उनी यो पसल चलाउने कामलाई निरन्तरता दिन चाहन्छन् र नेपाली चङ्गा खोज्न आउनेहरूका लागि आफूले सकून्जेल बनाइरहन चाहन्छन्।
उनी आफू पछिको पुस्ताले नेपाली चङ्गा बनाउन सिक्न नचाहेको ठान्छन् किनभने आधुनिक चङ्गा सुपथ मूल्यमा निर्यात गर्न सकिन्छ।
"सानैमा बुवाले चङ्गा बनाएको हेरेर मैले चङ्गा बनाउन सिकेँ। मलाई निकै रुचि थियो। तर पछिको पुस्तालाई रुचि नभई सिकाउन सकिँदो रहेनछ," श्रेष्ठले भने।
उनका छोरा चङ्गा त बनाउन्नन् तर चङ्गाको व्यापारमा लागेका छन्। ।
पाँच दशकभन्दा पुरानो चङ्गा पसलको व्यापार अहिले उनकै छोराले सम्हाल्न खोजिरहेको उनी बताउँछन्।
"आयात गरेरै बेच्दा सहज र फाइदा राम्रो हुने हुँदा हातले गर्ने यो काम झन्झटिलो हुन्छ नि," उनी भन्छन्।
उनका अनुसार अहिले बजारमा धेरैजसो भारत र केही चीनबाट आयात गरिएका चङ्गा, लट्टाई र धागो पाइन्छ।
बजारमा पाइने चङ्गाहरू बीस रूपैयाँदेखि माथि रहेको उनले बताए।
काठमाण्डू उपत्यकामा रहेका पसलहरूमा धेरैजसो देखिने प्लास्टिकका बुट्टे र कार्टुन छापवाला चङ्गा भारतबाट पनि आउँछन्।
नेपाली कागजबाट बनेको चङ्गाको मूल्य अहिले १५० रूपैयाँदेखि सुरु हुने श्रेष्ठ बताउँछन्।
नयाँ पुस्तालाई चङ्गा बनाउने काममा रुचि जगाउन सके हराउन थालेको चङ्गा बनाउने परम्परा जोगिन्थ्यो भन्ने उनको धारणा छ।
"चङ्गा भनेको पनि हाम्रो संस्कृति हो। चङ्गा बनाउने कला एक पुस्ताबाट अर्कोमा हस्तान्तरण हुँदै गयो भने न हाम्रो संस्कृति जोगिन्छ," उनले भने।
त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक निर्मालमान तुलाधर चङ्गाका सोखिन हुन्। उनका अनुसार नेपाली चङ्गाको विशेषता भनेको आकाशमा जुधाउन उपयुक्त चङ्गा हो जसलाई 'फाइटर काइट' पनि भनिन्छ।
नेपाली चङ्गालाई विदेशी चङ्गाले पुनर्स्थापन गर्दै गएको कुरा औँल्याउँदै उनले बीबीसी न्यूज नेपालीलाई भने, "नेपाली चङ्गा बनाउने मानिसहरू हराउँदै गएको देखिन्छ। नेपाली चङ्गालाई आयात गरिएका सस्तो र उडाउन पनि सहज चङ्गाहरूले विस्थापन गरिरहेका छन्।"
तुलाधरका अनुसार नेपालमा चङ्गा उडाउनेबारे दुई किम्वदन्ती छन् – बर्खाभर परेपछि अब पानी पुग्यो भनेर इन्द्र भगवानलाई चिठ्ठीरूपी चङ्गा उडाइन्छ। दोस्रो परिवारमा बितेका आफन्तको वैकुण्ठ बास होस् भनेर पनि उडाइन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















