इरान-अमेरिका युद्धविराम कायम राख्न कठिन हुनुका चार कारण

तस्बिर स्रोत, Atta Kenare / AFP via Getty Images
- Author, लुइस बरुचो
- Role, बीबीसी विश्व सेवा
- Published
- पढ्ने समय: ६ मिनेट
क्षेत्रीय स्तरमा गरिएका ताजा आक्रमणहरूका कारण संयुक्त राज्य अमेरिका र इरानले एप्रिलको प्रारम्भमा गरेको युद्धविराम सम्झौता थप सङ्कटमा पर्दै गएको देखिन्छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र इरानका वरिष्ठ अधिकारीहरूले पछिल्लो आक्रमणपछि थप कारबाही गर्ने भन्दै धम्कीहरू आदानप्रदान गरेका छन्।
बुधवार संयुक्त राज्य अमेरिकाले खाडीमा आफ्नो एउटा हेलिकप्टर खसालिएपछि इरानी सेना र निगरानी केन्द्रहरूमा हमला गरेको जनाएको थियो।
इरानको इस्लामिक गार्ड कोरले बाहरेन र जोर्डनमा रहेका अमेरिकी अखडाहरूमा हमला गरेको उल्लेख गरेको थियो। कुवेतले अर्को आक्रमणलाई विफल बनाइदिएको प्रतिक्रिया दिएको थियो।
आइतवार इरानले इजरेलमाथि क्षेप्यास्त्र हमला गरेपछि इजरेलले पश्चिम र मध्यइरानका निसानाहरूमा हवाई आक्रमण गरेको थियो। युद्धविराम सुरु भएयता दुई देशबीच भएको त्यो पहिलो प्रत्यक्ष मुठभेट थियो।
राष्ट्रपति ट्रम्पले दुवै पक्षलाई लडाइँ रोक्न आह्वान गरेका थिए।

तस्बिर स्रोत, Anadolu via Getty Images
अमेरिकी राष्ट्रपतिले विस्तृतमा नखुलाईकन इरानले अब 'त्यसको मूल्य चुकाउनुपर्ने' बताएका छन्। उनले इरान 'पूर्ण रूपमा पराजित भएको' भन्दै उसले 'कुरा मात्रै गरेको तर नतिजा नदिएको' बताए।
यसअघि इरानका विदेशमन्त्री अब्बास अराग्चीले आफ्नो मुलुकले 'कुनै पनि आक्रमण वा जोखिमको जवाफ नदिई नबस्ने' बताएका थिए। उनले अमेरिकाले युद्धमैदानमा पराजय बेहोरेको पनि टिप्पणी गरेका थिए।
अहिलेका लागि कुनै पनि पक्षले औपचारिक रुपमा युद्धविराम तोडेका छैनन् तर तनाव थप चर्किएको अवस्थामा इरान युद्ध अन्त्य गर्ने तेहरान र वाशिङटनको बृहत् प्रयासमा नकारात्मक असर पर्न सक्ने चिन्ता व्यक्त भइरहेको छ।
उसो भए युद्धविरामलाई कायम राखिराख्न किन कठिन भइरहेको छ? विज्ञहरूका अनुसार चार कारणहरू यस्ता हुन सक्छन् :
१. इरानका लागि असहज युद्धविराम
वाशिङ्टनमा रहेको थिङ्कट्याङ्क सेन्टर फर इन्टर्न्याश्नल पोलसीकी वरिष्ठ फेलो सिना टोसीका अनुसार 'इरानको दृष्टिकोणमा' युद्धविरामले 'द्वन्द्वका मूल कारण'हरू सम्बोधन गरेको छैन।
उनले इजरेली सेनाले सक्रिय रूपमा लेबननमा हमला गरिरहेकोबाहेक प्रतिबन्ध र इरानी बन्दरगाहमा नौसैनिकमाथि नाकाबन्दी लगाएर अमेरिकाले तेहरानमाथि आर्थिक र सैनिक दबाव कायम राखेको बताए।
इरानले आक्रमणहरू रोक्न आह्वान गरेको भोलिपल्ट मङ्गलवार इजरेली फौजहरूले दक्षिणी लेबननको सहर टायरमा आक्रमण गरेका थिए।
तेहरान दिनप्रतिदिन यसलाई वाशिङ्टनलाई 'उल्लेख्य फाइदा हुने अवस्था'का रूपमा हेर्छ। पूर्ण स्तरको द्वन्द्वमा फर्कने सम्भावनालाई छल्दै अमेरिकाले लिएको फाइदा 'अस्थिर र अस्वीकार्य' रहेको इरानी अधिकारीहरूको धारणा रहेको टोसी बताउँछन्।
उनका अनुसार अमेरिकाले सैन्य दबाव थेग्नसक्ने र कम खर्चमा नै आफ्ना क्षेत्रीय साझेदारहरूलाई निसाना बनाउन सक्ने चिन्ता इरानको छ। त्यसो हुँदा त्यो क्षेत्रीय परिस्थितिको 'स्थायी विशेषता' बन्न सक्ने र समयक्रममा त्यसले इरानको शक्तिलाई क्षीण बनाउन सक्ने उसको विश्लेषण छ।
विज्ञहरूका अनुसार आफू सङ्कुचित हुने तर आफ्ना शत्रुहरूले सैन्य र आर्थिक दबाव बनाउन सक्ने युद्धविराम सम्झौता स्वीकार नगर्न इरानको नेतृत्वमाथि आन्तरिक दबाव रहेको छ।
२. इजरेलको भूमिका

तस्बिर स्रोत, Anadolu via Getty Images
विज्ञहरूले युद्धविरामलाई कायम राख्ने प्रयासलाई इजरेलको कदमले बाधा पुर्याइरहेको औँल्याएका छन्।
"तेल अभिभको आधारभूत स्वार्थ भनेको अमेरिका र इरानबीचको जुनसुकै सम्झौता रोक्नु हो जसले इरानलाई क्षेत्रीय शक्तिका रूपमा कायम रहिरहन दिन्छ," संयुक्त अधिराज्यको रोयल यूनाइटेड सर्भिस इन्स्टिट्यूटका असोसिएट फेलो डाक्टर एच ए हेल्यर भन्छन्। उनले कूटनीतिक प्रयासको सम्भावित 'बाधक' इरान रहेको बताए।
"वार्तालाई कमजोर बनाउन उनीहरू कदम चाल्छन्। अमेरिकी कूटनीति जारी रहँदारहँदै होइन कि, बरु त्यसैका कारण (उनीहरूले त्यसो) गरेका हुन्।"
आइतवारको हमलापछि राष्ट्रपति ट्रम्पले तेल अभिभलाई इरानमाथि आक्रमण नगर्न भनेका थिए। उनको अनुरोधलाई इजरेलले कुन तहसम्म अस्वीकार गर्यो भन्ने विषयमा बहसहरू भइरहेका छन्।
तर सैन्य विज्ञहरू इरानसँगको मुठभेट लामो समयसँग रहने अवस्थामा इजरेल अमेरिकामा निर्भर रहनुपर्ने उल्लेख गर्छन्।
इजरेलको इन्स्टिट्यूट फर न्याश्नल सिक्युरटी स्टडिजकी वरिष्ठ अनुसन्धानकर्ता येहोशुआ कालिस्कीले रोएटर्स समाचारसंस्थासँग भने, "इजरेल यो युद्धमा लामो समयसम्म एक्लै अघि बढ्न नसक्नेमा कुनै शङ्का छैन किनभने गोलाबारुद खपत हुँदै जान्छ।"
सैन्य इतिहासकार ड्यानी ओर्बाख इजरेलले तेहरानसँग गरिने कुनै पनि सम्झौताले आफ्नो सुरक्षा चासोलाई बेवास्ता गर्न नहुने सङ्केत गरिरहेको बताउँछन्।
"यदि त्यसले (कुनै पनि सम्भावित युद्धविराम सम्झौताले) इजरेलको स्वार्थलाई एकदमै भारी धक्का दियो भने इजरेलले परिस्थितिलाई उल्ट्याउन सक्छ," उनले रोएटर्ससँगको अन्तर्वार्तामा भने।
बीबीसीसँगको एउटा टेलिफोन अन्तरवार्तामा राष्ट्रपति ट्रम्पले संयम कायम गर्न आफूहरूले गरेको अनुरोधका बीच इरानी हमलाको जवाफमा आक्रमण गरेर इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उनको आग्रहको अवज्ञा गरेको भन्ने आरोप अस्वीकार गरेका थिए।
३. योजनाबद्ध उक्साहट
तेस्रो विषय के पनि छ भने उक्साहट स्वयं पनि वार्ताको रणनीति बनेजस्तो देखिन्छ।
अमेरिका र इजरेली सेनाले निरन्तर दिइरहेको सैन्य दबाव, प्रतिबन्ध र सामुद्रिक नाकाबन्दीका बीच इरानको नेतृत्व गर्ने अधिकारीहरू पदमा बहाल छन् र उसका सुरक्षा निकायहरू एकीकृत देखिएका छन्। विपक्षीहरूले अनुमान गरेको आन्तरिक अस्थिरता देखा परेको छैन।
विश्लेषकहरूले यसले तेहरानको सहनशीलतालाई थप बलियो बनाएको टिप्पणी गरिरहेका छन्। हरेक हिसाबमा मुठभेट टार्नुको सट्टा सम्भवतः इजरेल आफूलाई दबाव सहन सक्ने विन्दुमा देख्छ। उसले नयाँ सीमारेखा खिच्न थप इच्छुक रहेको पनि सन्देश दिएको छ।
यो बेलामा विज्ञहरू सैन्य दबाव र कूटनीति सकैसाथ अगाडि बढ्न सक्ने तथ्यमा जोड दिन्छन्।
"इरानले कूटनितिलाई त्यागेको छैन," टोसी भन्छन्।
उनी लेबनन, खाडी र अन्यत्र इरानको समर्थन पाएका समूहहरूका गतिविधि विस्तारित युद्ध भड्काउने कोसिसभन्दा पनि यथास्थितभन्दा माथि पुग्ने प्रयास र इरानको सौदाबाजीको सामर्थ्य बढाउने रणनीति भएको तर्क गर्छन्।
हेल्यर पनि समान धारणा राख्छन्। "तर्क सरल छ - यदि इजरेल र उसका साझेदारका लागि इरानमाथि आक्रमण गर्दा कुनै मूल्य चुकाउनुपर्दैन भने भने उक्त क्षेत्रका लागि अमेरिकी सुरक्षा योजना खर्चिलो बनोस्।"
४. अमेरिकी प्रभावका सीमा

तस्बिर स्रोत, Anadolu via Getty Images
अन्तिम कारण संयुक्त राज्य अमेरिकाको भूमिका हो। धेरै कुरा उसले आफ्नो प्रभाव कति लम्ब्याउन चाहन्छ भन्नेमा निर्भर रहन्छ।
इजरेलको प्राथमिक सैन्य समर्थकका हिसाबले वाशिङ्टनले हतियार उपलब्ध गराउनेसँगै आर्थिक र कूटनीतिक सहयोग दिन्छ, जसले द्वन्द्वको समयमा इजरेललाई उल्लेख्य लाभ दिएको छ।
हेल्यर यो प्रभाव उक्त युद्धविरामको संवेदनशीलता बुझ्नका लागि आधारभूत हुने बताउँछन्।
"यदि वाशिङ्टनले तेल अभिभ बदलिनुपर्छ भन्ने ठान्यो भने त्यस्तो परिवर्तन निम्त्याउने प्रभाव उसले राख्छ," उनले भने। सहयोग मात्रै समिति गरिदिने भन्ने सङ्केत अमेरिकाले गर्दा त्यसले तेल अभिभको तत्कालै ध्यानाकर्षण गराउने उनको भनाइ छ।
"यदि उसले त्यहीअनुसार आफ्नो प्रभाव प्रयोग नगर्ने निधो गर्यो भने त्यसमा साथ दिएको ठहरिन्छ। प्रभाव छ तर त्यसलाई प्रयोग गर्ने इच्छाशक्ति देखिएको छैन।"
आगामी दिनका जोखिम
विज्ञहरूले यी अवस्थाले दीर्घकालीन समाधान झन्झन् जटिल बन्दै गएको बताएका छन्।
धैरै विज्ञका विचारमा अहिले पनि कूटनीति एक मात्रै समाधान हो।
तर हेल्यर कूटनीतिलाई 'सैन्य कदमको आवरण'का रूपमा बुझिएको खण्डमा इरानले आफ्नो अवधारणा बदल्न सक्ने र 'आफूमाथि आक्रमणको मूल्यलाई अझ उच्च बनाउन सक्ने' बताउँछन्।
त्यस्तो बदलावले भविष्यमा तनाव थप बढाउने र अझ खतरनाक परिस्थिति निम्त्याउन सक्ने उनको विश्लेषण छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















