अमेरिका र इरानबीच युद्धविराम उल्लङ्घनको आरोप, एक अर्कामाथि हमला

    • Author, ट्याबी विल्सन
  • Published
  • पढ्ने समय: ३ मिनेट

शनिवार होर्मुजको साँघुरो जलमार्गमा प्यानमाको झण्डा भएको पानीजहाजमा ड्रोन हमला भएपछि अमेरिकाले इरानमा नयाँ आक्रमणहरू गरेको छ।

यूएस सेन्ट्रल कमाण्ड (सेन्टकम)ले इरानभर कैयौँ निशानामा प्रहार गरिएको बताउँदै ती व्यावसायिक ढुवानीविरुद्ध भइरहेका "निरन्तर आक्रामकता"को सिधा जबाफ भएको जनाएको छ।

त्यसको बदलामा इरानको इस्लामिक रेभोलुस्नरी गार्ड कोर (आईआरजिसी)ले कुवेत र बाहरेनका अमेरिकी पूर्वाधारमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको त्यहाँको सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक एक विज्ञप्तिमा बताइएको छ।

दुवै पक्षबाट प्रहारहरू भएपछि अमेरिका र इरानले एकअर्कालाई युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन्।

सेन्टकमले आफ्नो एक विज्ञप्तिमा भनेको छ: "इरानलाई युद्धविराम सम्झौताको सम्मान गर्ने मौका दिइएको थियो। तर प्यानमा झण्डा भएको ट्याङ्कर एमटी किकुमा उसको फौजले एकतर्फी ड्रोन आक्रमण गरेसँगै उसले त्यसो गरेन।"

कहाँ कहाँ हमला?

इरानी कदमको जबाफ भन्दै अमेरिकी लडाकु विमानहरूले होर्मुज र आसपासका कैयौँ स्थानका १० वटा इरानी सैन्य निशानाहरूमा प्रहार गरेको जनाएको छ।

जसमा सैन्य उपकरण, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र र ड्रोन भण्डारण केन्द्रहरू रहेको बताइएको छ।

आईआरजिसीको विज्ञप्तिमा अमेरिकाले "आईआरजिसीको नौसेनाले आक्रमणकारी जहाजको सामना गरिरहेको बहानामा" इरानका पाँच तटीय आधारहरूमा आक्रमण गरेको जनाइएको छ।

त्यसको बदलामा आईआरजिसीले कुवेतको अली अल-सलेम बेस र बाहरेनको पोर्ट सलमानमा रहेको पाँचौँ नौसेना फ्लीटमा "आठ मुख्य पूर्वाधार" मा बलिस्टिक क्षेप्यास्त्र र ड्रोनहरू प्रहार गरेको र "तिनलाई ध्वस्त" पारेको बताएको छ।

समाचार संस्था रोयटर्ससँग बोल्दै एक अमेरिकी अधिकारीले मध्यपूर्वका अमेरिकी अखडामा कुनै पनि अमेरिकी हताहत वा ठूलो प्रभाव वा क्षतिको विवरण नरहेको बताएका छन्।

इरानी विज्ञप्तिमा यसै महिनाको सुरुमा हस्ताक्षर गरिएको समझदारी पत्रमा तेहरानले होर्मुज जलमार्ग र नेभिगेसन नियन्त्रण सम्बन्धी व्यवस्था गरेको भन्दै फेरि उल्लङ्घन गर्ने पानीजहाजहरूलाई विगतमा भन्दा थप बलपूर्वक व्यवहार गरिने जनाइएको छ।

"शत्रुको कुनै पनि सम्भावित आक्रामकता, कुनै पनि बहानामा हुने, आक्रमणहरू साना लक्ष्यहरू विरुद्ध भए तापनि, हिजो राति र आज राति भएजस्तै, कडा प्रतिक्रिया हुनेछ," विज्ञप्तिले भनेको छ।

आरोप-प्रत्यारोप

इरानी विज्ञप्तिले अमेरिकालाई दुई देशबीच समझदारी पत्रमा सहमत युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आफूले उक्त "प्रक्रियालाई पूर्ण रूपमा अवरुद्ध पार्ने" चेतावनी दिएको छ।

इरानमा पछिल्लो अमेरिकी हमलाको घोषणा भएको केही समयमा राष्ट्रपति डोनल्ड ट्रम्पले ट्रुथ सोशलमा तेहरानले "कहिल्यै नसिक्ने" भन्ने कुरा "निकै सम्भव" रहेको बताएका छन्।

"यस्तो बिन्दु आउन सक्छ जतिखेर हामी अब व्यावहारिक हुन सक्नेछैनौँ र निकै सफलतापूर्वक सुरु गरेको काम सैन्य रूपमा पूरा गर्न बाध्य हुनेछौँ," अमेरिकी राष्ट्रपतिले शनिवार साँझ लेखेका छन्।

उनको पोस्टमा थप भनिएको छ: "यदि त्यसो भयो भने इस्लामिक गणतन्त्र इरान अब अस्तित्वमा रहनेछैन!"

अमेरिकी आक्रमणको केही घण्टापछि कुवेत र बाहरेन दुवैले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाएका थिए।

सेन्टकमले व्यावसायिक पानीजहाजहरू होर्मुजको जलमार्ग हुँदै सञ्चालन भइरहेको जनाएको छ।

अमेरिकाले जुन २५ मा सिङ्गापुरको झण्डा बोकेको कार्गो पानीजहाज एमभी एभर लभ्लीमाथि ड्रोन आक्रमणको प्रतिक्रियामा इरानमाथि प्रतिशोधात्मक हमला सुरु गरेको एक दिनभन्दा कम समयमा यी पछिल्लो हमलाहरू भएका हुन्।

'युद्धविरामको स्पष्ट उल्लङ्घन'

सेन्टकमले अमेरिकी हमलाहरूलाई कार्गो जहाजमाथिका आक्रमणको "शक्तिशाली प्रतिक्रिया"को रूपमा व्याख्या गरेको छ।

जसक्रममा उसले "इरानी सेनाद्वारा व्यावसायिक ढुवानीविरुद्धको अनुचित आक्रमणले युद्धविरामको स्पष्ट उल्लङ्घन गरेको" जनाएको छ।

तेहरानले भने कार्गो जहाजमाथि आक्रमण गरिनुको कारण उसले खाडी जलमार्गमा ​​पारवहन गर्न अनधिकृत मार्ग प्रयोग गर्नु रहेको बताएको छ।

उसले त्यस्ता प्रतिशोधात्मक हमलालाई अमेरिकाले युद्धविराम उल्लङ्घन गरेसरह भएको बताएको छ।

शनिवार बिहान जारी एक विज्ञप्तिमा इरानी विदेश मन्त्रालयले जबाफमा अमेरिकी सेनासँग सम्बन्धित निशानाहरूविरुद्ध थप आक्रमणहरू गरेको बताएको छ। उसले त्यस परिस्थितिका लागि "सन्धि उल्लङ्घन गर्ने अमेरिकी सत्ता" लाई दोषी ठहराएको छ।

जुन १७ मा अमेरिका र इरान १४-बुँदे समझदारी पत्र अन्तर्गत शत्रुता अन्त्य गर्न सहमत भएका थिए।

त्यसमा इरानलाई "६० दिनसम्म कुनै शुल्क नलिई व्यावसायिक जहाजहरूको सुरक्षित मार्गको लागि आफ्नो सर्वोत्तम प्रयास" गर्न पनि आह्वान गरिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।