के भारोत्तोलनले साँच्चिकै आयु बढाउँछ?

    • Author, डमिनिक ह्युज
    • Role, स्वास्थ्य संवाददाता
    • Author, लेस्ली हिच्हेन
    • Role, स्वास्थ्य प्रोड्युसर
    • Author, जेम्स गोभान
    • Role, स्वास्थ्य प्रोड्युसर
  • Published
  • पढ्ने समय: ४ मिनेट

प्रत्येक हप्ता डेढदेखि दुई घण्टासम्म भारोत्तोलनको अभ्यास गर्दा त्यसले अल्पायुमा ज्यान जाने जोखिमलाई उल्लेख्य ढङ्गले कम गर्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ।

दशकौँसम्मका अध्ययनबाट सङ्कलन गरिएका तथ्याङ्कले शरीरलाई बलियो बनाउन निरन्तर गरिएका तौलसम्बन्धी व्यायामले मुटुको रोग र मस्तिष्काघातका कारण हुने मृत्युको सम्भावनालाई उल्लेख्य रूपमा घटाउने देखाएको छ।

यसले स्नायुसम्बन्धी रोगहरूका कारण हुने मृत्युलाई पनि कम गर्न सक्ने भनिएको छ।

विज्ञहरूले शरीरलाई मजबुत बनाउन गरिने यी व्यायामहरूले कमजोर स्वास्थ्य अवस्था उत्पन्न हुन नदिने थप प्रमाण देखिएका भन्दै त्यसले दबावमा परेका स्वास्थ्य सेवा प्रदायकहरूलाई सजिलो पार्ने जनाएका छन्।

आत्मसम्मानमा वृद्धि र आयु बढ्ने विश्वास

केट होगार्थ अहिले २८ वर्षकी मात्र भइन् तर आफ्नो जीवनको उत्तरार्द्धमा स्वस्थ रहने उपाय उनले सोच्न थालिसकेकी छन्। उनी भारोत्तोलन मन पराउँछिन् र त्यसले आफूमा अहिले आत्मविश्वास बढाइरहेको ठान्छिन्। यसले दीर्घकालमा पुर्‍याउने फाइदाबारे पनि उनी जानकार छन्।

"म जीवनको उत्तरार्द्धमा पनि स्वतन्त्र रहन चाहन्छु। कैयौँ अध्ययनहरूले यस्ता व्यायामले तपाईँको कार्डियो भास्कुलर स्वास्थ्य, मांसपेशी, हड्डी र मानसिक स्वास्थ्यमा पुग्ने विभिन्न फाइदाहरू देखाएका छन्।"

उनले आफूलाई ७०, ८० र ९० को दशकको उमेरमा पुग्दा पनि विश्व घुम्ने रहर रहेको भन्दै नातिनातिनालाई बोक्न र उनीहरूसँग खेल्न चाहेको र त्यसका लागि कसैमा पनि निर्भर नहुनुपर्ने अवस्था आफ्ना लागि महत्त्वपूर्ण रहेको बताइन्।

हल्का दौडने, साइकल चलाउने र पौडी खेल्ने जस्ता हिँडडुल र श्वास प्रश्वाससँग जोडिएका 'एरोबिक व्यायाम'ले पुर्‍याउने फाइदाका बारेमा कैयौँ जना जानकार नै छन्।

यूकेको स्वास्थ्य सेवा प्रदायक एनएचएसका अनुसार नियमित एरोबिक गतिविधिले मुटु र रक्तनलीसम्बन्धी रोग, स्ट्रोक र टाइप टु मधुमेहको जोखिम कम गर्ने र तनावलाई घटाउने साथै आत्मसम्मान वृद्धि गर्ने उल्लेख गरेको छ।

तर शरीरलाई बलियो बनाउन गरिने व्यायामहरूले मृत्युको जोखिम कम गर्न खेल्न सक्ने भूमिका प्रस्ट देखिएको थिएन जुन अब बदलिन थालेको छ।

नयाँ अध्ययनले के के देखायो?

ब्रिटिश जर्नल अफ स्पोर्ट्स मेडिसिनमा लेख प्रकाशित गरेका अनुसन्धानकर्ताहरूले ३० वर्षभन्दा बढी समय लगाएर लिइएको १,४७,३७४ जनाको तथ्याङ्कको विश्लेषण गरेका हुन्।

उनीहरूले ९० मिनेटदेखि २ घण्टासम्म प्रत्येक साता तौल उठाएर व्यायाम गर्ने व्यक्तिहरूमा कुनै पनि कारणले अल्पायुमा ज्यान जाने जोखिम १३ प्रतिशतले कम देखिएको उल्लेख गरेका छन्।

उदाहरणका लागि हार्ट अट्याक वा पक्षाघात जस्ता कार्डिओभास्कुलर रोगबाट ज्यान गुमाउनेको सङ्ख्या १९ प्रतिशतले कम पाइएको थियो।

डिमेन्सियाजस्ता स्नायु प्रणालीसम्बन्धी रोगका कारण ज्यान गुमाउने प्रतिशत त अझ धेरै अर्थात् २७ प्रतिशतले कम पाइएको थियो।

अनुसन्धानहरूले उच्च तहका एरोबिक अभ्यास र तौलसम्बन्धी व्यायामहरू गर्ने व्यक्तिमा 'कम जोखिम' देखिएको उल्लेख गरेका छन्।

प्रत्येक हप्ता धेरै घण्टा एरोबिक अभ्यास गर्ने सबैभन्दा सक्रिय मानिसहरूमा कुनै पनि कारणले हुने अल्पायुमा हुने त्यस्तो मृत्यु ५८ प्रतिशतसम्मले कम पाइएको थियो।

तर अनुसन्धानकर्ताहरूले हप्तामा दुई घण्टाभन्दा बढी समयसम्म तौलसम्बन्धी त्यस्तो व्यायाम गर्ने व्यक्तिहरूलाई अतिरिक्त कुनै फाइदा भएको नदेखिएको पनि जनाएका छन्।

कस्ता फाइदाहरू देखिन्छन्?

बेभ विल्सन ह्यारोगेट नर्थयोर्कशरमा व्यक्तिगत तालिमप्रदायकका रूपमा काम गर्छिन्। उनले आफ्नो भूमिकामा तौल उठाएर गरिने कसरतका कैयौँ फाइदा पुर्‍याएको बताइन्।

"जब म मेरा सेवाग्राहीलाई विशेष गरी महिलाहरूलाई तालिम गराउँछु, म देख्छु उनीहरू जोर्नीको दुखाइजस्ता समस्या लिएर वा कम ऊर्जाको समस्या वा मेटाबोलिज्म (शरिरले खाना र पेयलाई शक्तिमा रूपान्तरण गर्ने सामर्थ्य) वा तौल बढ्यो भनिरहेका हुन्छन्। तौलसम्बन्धी व्यायामले त्यसलाई सुधार गर्न, शरीरमा चीनीको मात्रा मिलाउन, हड्डीलाई बलियो बनाउन र जोर्नीको दुखाई कम गर्न भूमिका खेलिरहेको म पाउँछु।"

उनले थपिन्, "उनीहरूले धेरै बलियो, धेरै गतिशील र धेरै ऊर्जावान् महसुस गर्न थाल्छन्।"

उनका अनुसार त्यसले मस्तिष्कको स्वास्थ्यमा पनि सकारात्मक योगदान पुर्‍याउँछ। "धेरै ऊर्जाशील र स्वस्थ महसुस गर्ने मात्र होइन उनीहरूले यसका कारणले संज्ञानात्मक जिम्मेवारीहरूमा पनि सुधार आएको महसुस गर्छन्। उनीहरूले काममा बढी ध्यान दिन पाउँछन् र उनीहरूको स्मरण क्षमतामा पनि सुधार हुन्छ।"

स्पोर्ट्स इङ्ग्ल्यान्डका स्वास्थ्य र तन्दुरुस्ती नीतिका स्ट्रटिजिक लीड टम बर्टनले शारीरिक गतिविधि स्वास्थ्य, सम्पन्न र खुसी समुदायका लागि महत्त्वपूर्ण रहेको बताइन्।

उनी भन्छिन्, "शक्तिमा आधारित शारीरिक गतिविधि एउटा शक्तिशाली माध्यम हो र यसले विशेषगरी स्वस्थ बुढ्यौलीमा सघाउँछ। कमजोर स्वास्थ्य अवस्थालाई पछि धकेल्न र नियन्त्रण गर्न भूमिका खेल्छ। हिँडडुल गर्न र स्वतन्त्र रहन अनि अहिले नै चाप खेपिरहेका स्वास्थ्य र स्याहारसम्बन्धी सेवाहरूको दबाव कम गर्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।