तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चियामा भारतीय अवरोध खासमा कस्तो हो? उद्योगीहरू यसकारण केही आशावादी
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
झन्डै दुई महिनादेखि निर्यातमा अवरोध बेहोरिरहेका नेपाली चिया उद्योगीहरू बिहीवार भारतीय पक्षले गरेको पत्राचारपछि केही आशा पलाएको बताइरहेका छन्।
भारतीय अधिकारीहरूले त्यहाँका भन्सार निकायलाई आयात गरिएका चियाको शतप्रतिशत स्याम्पलिङ् गरेर परीक्षण गरिँदै आएकोमा आइन्दा त्यसलाई २० प्रतिशतमात्र स्याम्पलिङ् गर्नु भन्ने पत्र पठाएको आफूहरूले थाहा पाएको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बीबीसीलाई बताएका छन्।
साथै नेपाल सरकारले पनि भारत तथा तेस्रो देश निर्यातका लागि पहल गर्ने आश्वासन दिएकाले अहिले चिया उद्योगीहरूले तिनका उद्योग खोलेको उनले बताए।
भारततर्फ निर्यात ठप्प भएपछि असार लागेदेखि कैयन् उद्योग बन्द थिए।
"अब अद्यावधिक निर्देशन कसरी लागु हुन्छ भनेर हेर्न सोमवारसम्म कुर्नुपर्छ होला," पराजुलीले भने।
पटक पटक अवरोध
भारतीय बजारमा अत्यधिक निर्भर नेपालको चिया उद्योगले निर्यातमा अवरोध बेहोरेको यो पहिलो पटक होइन। एकासी सालमा पनि त्यस्तै अवरोध भएका थिए।
"यसपालिको अवरोधपछि पनि फेरि कुनै अन्य कारण नआउला भन्न सकिन्न। त्यसैले हामीले विविध विकल्पबारे सरसल्लाह गरिरहेका छौँ," सरकारले चिया निर्यातमा देखिएको समस्या पहिचान र समाधानका लागि गठन गरेको विशेष कार्यदलका आमन्त्रित सदस्य समेत रहेका पराजुलीले भने।
उक्त कार्यदललाई चिया निर्यातका समस्याहरूको विस्तृत अध्ययन गरी दुई हप्ताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी गत साता दिइएको थियो।
तथापि अन्य बजारको भरपर्दो विकल्प फेला नपरिसकेका कारण अहिलेसम्म भारतको साटो अन्यत्र खासै ठूलो परिमाणमा नेपाली चियाको निर्यात हुन सकेको छैन।
पछिल्लो अवरोध भारतीय चिया बोर्डले जारी गरेको स्ट्यान्डर्ड अपरेटिङ प्रसिजर (एसओपी)सँग सम्बन्धित छ।
फेब्रुअरी १० मा जारी भई मे १ तारिखदेखि उक्त नियम लागु हुनासाथ नेपाली चिया निर्यातकर्ताहरू बिलखबन्दमा परिरहेका छन्।
नयाँ भारतीय नियम कस्तो?
गुणस्तर परीक्षणसँग सम्बन्धित नियममा पहिलेभन्दा धेरै फरक प्रावधानहरू नभएको तर त्यसको कार्यान्वयनमा प्रक्रियागत झन्झट देखा परेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक सुरेन्द्र सुवेदीले बीबीसीलाई बताएका छन्।
"नेपाली चिया भारत भित्रिएपछि गुणस्तर परीक्षण गरिने अनि त्यसको प्रतिवेदन आउन लामो समय लाग्ने गरेकाले अप्ठेरो परिरहेको हो," उनले भने।
नयाँ नियमानुसार आयातकर्ताहरूले भित्र्याएको चियाको केही कन्टेनर छानेर तिनबाट ५ सय ग्रामका दुई नमुना झिकिने छ। तिनलाई गुणस्तरको मापदण्डमा जाँचेर १४ दिनभित्र अनलाइनमै नतिजा राखिने नियममा उल्लेख छ।
बोर्डका निर्देशक तथा सूचना अधिकारी दीपक खनाल ती प्रावधानहरू साबिककै जस्ता भए पनि परीक्षणको तरीका, समय जस्ता कारणले निर्यातकर्ताहरू प्रभावित भएको बताउँछन्।
"विगतमा उनीहरूले एक पटक परीक्षण गरिएको एउटा खेपको ६ महिनासम्म फेरि परीक्षण गर्दैनथे। तर अहिले चाहिँ प्रत्येक खेपको नमुना लिएर परीक्षण गर्ने गरेका छन्। आजको खेपको पनि परीक्षण गराउनुपर्यो भोलि गएको खेपको पनि गराउनु पर्यो अनि आजै पनि दुई खेप गएको छ भने दुवै खेपका नमुना परीक्षण गराउनु पर्यो," सरकारद्वारा गठित कार्यदलका सदस्य समेत रहेका खनालले भने।
त्यसमाथि परीक्षणको नतिजा आउन २ साताभन्दा धेरै लाग्न थालेको उनले सुनाए।
जसले गर्दा उद्योगीहरूको सामान लामो समय उता गोदाममा थन्किँदा भाडा बढ्ने भयो। परीक्षण गर्नाका निम्ति पनि सुरुमा १५ हजार रुपैयाँ शुल्क तिर्नु पर्ने अनि परीक्षणमा फेल भए पुन:परीक्षण गराउन २४ हजार रुपैयाँ तिर्नु पर्ने भएको बताइन्छ।
"खासमा नेपाली चिया ती परीक्षणमा अधिकांश पास नै हुने गरेका छन्। हाम्रो गुणस्तर राम्रो नै छ। तर समय लाग्ने अनि प्रक्रियागत झन्झटका कारण उद्योगीहरूलाई मर्का परेको छ," सुवेदीले भने।
भारतमा कति निर्भर?
नेपालमा बर्सेनि अढाई करोड किलोग्रामभन्दा धेरै चिया उत्पादन हुन्छ।
गत वर्ष करिब १ करोड ५६ लाख किलोग्राम चिया निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ। त्यसबाट करिब ४ अर्ब ५९ करोड रुपैयाँ आम्दानी भएको उसले बताएको छ।
जसमध्ये ८६ देखि ९० प्रतिशतसम्म निर्यात भारतमै भएको बोर्डका निर्देशक खनालले बताए।
अर्थोडक्स चियाको हकमा नेपालले करिब ६५ लाख किलोग्राम बर्सेनि उत्पादन गर्ने गरेको र लगभग सबै भारततर्फ निर्यात हुने गरेको बताइएको छ।
अहिलेको निर्यात अवरोधलाई अल्प कालका निम्ति धक्का भए तापनि दीर्घकालका निम्ति अवसरका रूपमा लिनु पर्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक सुरेन्द्र सुवेदी बताउँछन्।
"अहिले त धक्का पर्यो तर अब हामीले गम्भीरतापूर्वक काम गर्यौँ भने अन्य तेस्रो देशमा निर्यातको ढोका खोल्ने अवसर यो बन्न सक्छ," उनले भने।
चिया निर्यातको सम्भावना भएका अन्य मुलुकहरूमा पाकिस्तान, बाङ्ग्लादेश, चीनसहित पश्चिमा देशहरू पनि छन्।
दीर्घकालसम्म दिगो निर्यात गर्न चाहिँ देशभित्रै गुणस्तर परीक्षण प्रयोगशालाका उचित व्यवस्था, अक्सन सेन्टरको स्थापना तथा चिया बोर्डलाई सबल बनाउने जस्ता कार्यहरू गर्नु पर्ने जानकारहरूले बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।