किएभमा रुसको ठूलो क्षेप्यास्त्र आक्रमण

तस्बिर स्रोत, Reuters
रुसले युक्रेनको राजधानी किएभमा शृङ्खलाबद्ध बलिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा एक जनाको मृत्यु भएको र कम्तीमा १४ जना घाइते भएका अधिकारीहरूले बताएका छन्।
किएभ क्षेत्रका विभिन्न स्थानहरूमा रातभरि आक्रमणहरू भएका थिए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभमा भएको आक्रमणलाई रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयताकै "सबैभन्दा ठूलोमध्येको" बलिस्टिक आक्रमण भनेका छन्।
रुसले प्रहार गरेका ४१ मध्ये १८ वटा क्षेप्यास्त्र युक्रेनको हवाई प्रतिरक्षा प्रणालीले निस्तेज बनाएको युक्रेनी सेनाले जनाएको छ। उसले साथै १०८ वटा ड्रोन पनि खसालिदिएको बताएको छ।
युक्रेनले पनि रुसी निशानाहरूमा आक्रमण जारी राखेको छ। युक्रेनी सेनाले 'ब्ल्याक सी'मा रहेका दुई वटा रुसी तेल ट्याङ्करमा ड्रोनबाट प्रहार गरिएको जनाएको छ।
काजकस्तानबाट ब्ल्याक सी हुँदै रुससम्म तेल पुर्याउन प्रयोग हुने बन्दरगाहको टर्मिनलमा आक्रमण भएको पाइपलाइन सञ्चालकले पुष्टि गरेको छ। यद्यपि कुनै मानवीय क्षति वा तेल चुहावट नभएको उक्त कम्पनीले जनाएको छ।
अर्को एक घटनामा, रुसको दक्षिणपश्चिमी स्ताभ्रोपुल क्षेत्रका गभर्नरले ड्रोन आक्रमणका कारण एक औद्योगिक पार्कमा आगलागी भएको बताएका छन्।
रुसको 'एमजन'मा आक्रमणको भोलिपल्ट किएभमा प्रहार

तस्बिर स्रोत, Reuters
युक्रेनी वायुसेनाका अनुसार किएभमाथिको पछिल्लो आक्रमणमा रुसले इस्कन्दर र हाइपरसोनिक जिर्कोन क्षेप्यास्त्र लगायतका अस्त्र प्रयोग गरेको थियो।
किएभका मेयर भिताली क्लित्स्कोले पछिल्ला आक्रमणमा आवासीय र गैरआवासीय दुवै किसिमका भवनहरूमा क्षति पुगेको आइतवार बताएका छन्। आक्रमणमा क्षति पुगेका संरचनाहरूमध्ये एक सुपरमार्केट र एक छात्रावास पनि रहेका छन्।
अग्नि नियन्त्रकहरूले दुई वटा गोदाममा लागेको आगो निभाउने प्रयास गरिरहेका छन्।
टेलिग्राममा जारी गरिएको सन्देशमा जेलेन्स्कीले एक सातामा रुसले युक्रेनविरुद्ध आक्रमणका लागि "करिब १,४५० वटा ड्रोन, १,६४० भन्दा बढी बम र विभिन्न प्रकारका ९९ वटा क्षेप्यास्त्र" प्रयोग गरेको बताएका छन्।
युक्रेनले रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा विक्रेता कम्पनी वाइल्डबेरीजका दुई वटा छुट्टाछुट्टै गोदाममा गरेको ड्रोन आक्रमणमा आठ जनाको मृत्यु भएको भोलीपल्ट रुसले युक्रेनको राजधानीमा आक्रमण गरेको हो।
मस्कोबाट करिब ४७५ किलोमिटर दक्षिण–पूर्वमा रहेको ताम्बोफ सहरको गोदाममा सात जनाको मृत्यु भएको थियो। त्यहाँ अन्य २५ जना घाइते भएका थिए। मस्को क्षेत्रको एलेक्ट्रोस्टलमा रहेको अर्को गोदाममा थप एक जनाको मृत्यु हुनुका साथै ३७ जना घाइते भएका थिए।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ड्रोन उत्पादनका लागि प्रतिबन्धित उपकरणहरू आपूर्तिमा प्रयोग गरिएको स्थानमा आक्रमण गरिएको दाबी गरेका छन्।
वाइल्डबेरीज 'रुसी अमेजन' भनेर चिनिन्छ। एउटै समूह अन्तर्गतका वाइल्डबेरीज र विज्ञापन कम्पनी आरडब्लूबी ग्रुपको संयुक्त मूल्य सन् २०२६को फोर्ब्सको सूचीमा करिब १२.६ अर्ब अमेरिकी डलर बराबर मूल्याङ्कन गरिएको छ।
युक्रेनले हालै रुसको महत्त्वपूर्ण ऊर्जा पूर्वाधारमाथि ड्रोन आक्रमणहरू तीव्र बनाएको छ। युक्रेनी आक्रमणका कारण रुसमा इन्धन अभावको समस्या देखिएको छ। यो महिनाको सुरुमा किएभले रुसको तेल प्रशोधन क्षमताको करिब ४३ प्रतिशत हिस्सा "निष्क्रिय बनाइएको" दाबी गरेको थियो।
बीबीसीले उक्त दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गरेको छैन।
मस्कोले सन् २०२२ को फेब्रुअरीमा सुरु गरेको पूर्णस्तरको युद्धका लागि आर्थिक स्रोत जुटाउन इन्धन निर्यात गरिरहेको भन्दै युक्रेनले इन्धन केन्द्रहरूमा आफ्नो निशाना जायज भएको दाबी गर्दै आएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















