खेल भावनाविपरीत मानिने दुर्लभ 'टाइम्ड आउट' गर्ने देशमा नेपाल तेस्रो

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
एसीसी महिला प्रिमिअर कप बिहीवार सम्पन्न भुटानविरुद्धको खेलमा दुर्लभ घटना भयो।
नेपाली महिला टोलीले 'टाइम्ड आउट' को अपिल गरेपछि भुटानकी खेलाडी रिट्सी छोडेन यस्तो दुर्लभ तरिकाले आउट हुने खेलाडी बनिन्।
यसरी रिट्सी 'टाइम आउट' को शिकार हुने विश्व क्रिकेटकै तेस्रो खेलाडी बनेकी छिन्।
'टाइम्ड आउट' नियम भनेको एकजना खेलाडी आउट भएपछि कुनै विशेष वा प्राविधिक कारण बाहेक ९० सेकेन्डभित्रमा अर्को खेलाडी क्रीजमा आइसक्नुपर्छ।
त्यो समयभित्र खेलाडी नआए अर्को टोलीले अम्पायर समक्ष 'टाइम्ड आउट' को अपिल गर्न सक्छ। विपक्षीले अपिल गरेमा सो खेलाडी आउट हुन्छ। विपक्षी रिट्सी क्रीजमा आउन ढिलाइ गरिन्। नेपालले अपिल गर्यो र उनी आउट हुन पुगिन्।

तस्बिर स्रोत, CAN
घटना के हो ?
नेपालले ब्याटिङ रोजेर ११३ रन बनाएको थियो।
दोस्रो इनिङमा ब्याटिङ गर्न भुटानको ओपनर नगवान छोडेनलाई कविता कुँवरले पहिलो बलमै बोल्ड गरिदिइन्।
आफ्नो खेलाडी पहिलो बलमै आउट हुने अनुमान डकआउटमा बसेका भुटानी खेलाडीहरूले आशा गरेका थिएनन् होला। अर्की खेलाडी रिट्सीले प्याड लगाएर आउनमा समय लगाइन्। यसकै फाइदा नेपाली टोलीले लियो। तर यदि नेपालले टाइम्ड आउटको अपिल नगरेको भए चाहिँ विपक्षी खेलाडी आउट हुँदिनथिन्।
नेपालले यो खेल सहजै ५१ रनले जितेको थियो।

तस्बिर स्रोत, CAN
इतिहासको तेस्रो घटना
अन्तर्राष्ट्रिय क्रिकेटमा टाइम्ड आउटको शिकार हुने पहिलो खेलाडी श्रीलङ्काका एन्जेलो म्याथ्युज हुन्।
२०२३ को नोभेम्बरमा भारतमा भएको एकदिवसीय विश्वकपमा श्रीलङ्का र बाङ्ग्लादेशबीचको खेलमा यो घटना घटेको थियो। त्यतिबेला म्याथ्युजले आफ्नो हेल्मेटको लक बिग्रिएकोले प्राविधिक समस्या उत्पन्न भएको बताएको थियो। तर बाङ्ग्लादेशले अपिल गरेपछि उनी आउट भए।
अर्को महिना डिसेम्बरमा अफ्रिका क्रिकेट एसोसिएसन टी २० कपमा फेरि यस्तै घटना भयो। घाना र सियरालियोनबीचको सो खेलमा घानाका ब्याटर गडफ्रेड बाकीविवेम टाइम आउटको शिकार भएको थियो।
अहिले यसरी टाइम गर्ने तेस्रो राष्ट्रमा नेपालको नाम जोडिएको छ।
क्रिकेटको नियम भए पनि यसरी विपक्षी खेलाडीलाई आउट गरिनुलाई खेल भावना विपरीतको कार्य मानिन्छ।
एन्जेलो म्याथ्युजलाई आउट गराएपछि बाङ्ग्लादेश क्रिकेटको लामो समयसम्म आलोचना भएको थियो।
आइसीसीको नियम अनुसार टी २० क्रिकेटमा ९० सेकेन्डभित्र र एकदिवसीयमा २ मिनेटभित्र खेलाडी क्रीजमा नआए टाइम्ड आउट नियम आकर्षित हुन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















