'जिद्दी' विनोदको अपत्यारिलो 'कम ब्याक'

विनोद भण्डारी

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ४ मिनेट

विनोद भण्डारी फेरि राष्ट्रिय टोलीको जर्सी लगाएर खेलमा फर्किन्छन् भनेर कमैले सोचेका थिए होलान्।

४ वर्ष अगाडि नै एक दिवसीयबाट बिदा भइसकेका अनि २ वर्ष यता टी २० शैलीबाट पनि टाढिइसकेका यी 'भेट्रान' खेलाडीलाई प्रतिस्पर्धात्मक होड चलिरहेको बेला राष्ट्रिय टोलीमा फर्किन सहज विषय छँदै थिएन।

तर 'जिद्दी' विनोदले प्रयत्न गरिरहेको देखियो।

फ्रेन्चाइज प्रतियोगिता एनपीएलमा होस्, त्रिभुवन आर्मी क्लबलाई एकपछि अर्को प्रतियोगितामा सफलता दिलाएर होस् वा नेपाल 'ए' को कप्तानको रूपमा टोलीको नेतृत्व गर्दा होस्, उनको ब्याटबाट निरन्तर रनको वर्षा भई नै रह्यो।

फलतः उनको जिद्दी सामु राष्ट्रिय टोलीका चयनकर्ताहरू प्रभावित नभइरहन सकेनन् र विनोदलाई आइसीसी विश्वकप लीग-२ का लागि राष्ट्रिय टोलीमा फिर्ता बोलाइयो।

युवा खेलाडीबीच राष्ट्रिय टोलीमा पर्न घम्साघम्सी चलिरहेको बेला ३६ वर्षका पाका विनोदले राष्ट्रिय टोलीमा 'कम ब्याक' गरेर नयाँ इतिहास रचेका छन्।

उनको पुनरागमन 'फिस्स' होइन धमाकादार रह्यो। कम ब्याक खेलमै अर्धशतकीय पारी खेल्दै उनले देखाए - उनी अझै योग्य छन्।

पूर्व खेलाडी दीपेन्द्र चौधरी भन्छन्, "निरन्तर साधना गरिरहने हो भने जुन कुनै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भनाइलाई उनले गरेर देखाइदिए। यो नेपाली क्रिकेटको लागि सबैलाई प्रेरणाको उदाहरण बन्ने छ।"

विनोद अहिले ३६ वर्षका भए। यसअघि शक्ति गौचनले नेदरल्यान्ड्सविरुद्ध सन् २०१८ मा ३४ वर्षका उमेरमा राष्ट्रिय टोलीबाट खेलेको पाको खेलाडीको कीर्तिमान अब विनोदको नाममा सरेको छ।

धैर्यको परीक्षा

विनोद भण्डारी

तस्बिर स्रोत, CAN

विसं २०७९ श्रावण १ गते उनले पछिल्लो पटक राष्ट्रिय टोलीको जर्सी लगाएर खेलेका थिए। त्यति बेला विनोदले १३ रन मात्र जोड्न सकेका थिए भने नेपालले खेल ८ विकेटले हारेको थियो।

त्यस्तै टी-२० आईमा उनलाई सन् २०२४ पछि टीममा समावेश गरिएको छैन।

कुशल भुर्तेल र आशिफ शेखले 'प्रारम्भिक जोडी' को रूपमा पहिचान बनाइसकेको त्यो बेला यी विकेटकिपर ओपनरको भूमिका छायामा पर्न गयो।

यिनी राष्ट्रिय टोलीबाट त बाहिर रहे। तर मैदानबाट भने कहिले बाहिर रहेनन्।

घरेलु प्रतियोगितामा खेलिने टी-२०, एकदिवसीय र दुई दिवसीय गरी तीन वटै शैलीको खेलमा विनोदले निरन्तर अब्बल प्रदर्शन गरिरहे।

जस्तै घरेलु फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमिअर लीग (एनपीएल) को पहिलो सीजनमा उनको टोली सुदूर पश्चिम रोयल्स फाइनलमा पुग्नुमा उनको धैर्यपूर्ण ब्याटिङ र सुझबुझ खेल निर्णायक देखिएको थियो।

विनोदले प्रतियोगिताभरि २६४ रन बनाएका थिए।

सीजन-२ मा पनि उनको ब्याटिङ उस्तै स्थिर र भरपर्दो देखियो। कुल २३५ रन बनाएर यसपालि पनि उनले टोलीलाई फाइनलमा पुर्‍याउन भूमिका खेले।

नेपालको घरेलु एकदिवसीयको मुख्य प्रतियोगिताको रूपमा रहेको प्रधानमन्त्री कपमा पनि विनोद सदाबहार खेलाडीका रूपमा देखिए।

राष्ट्रिय टीमबाट बाहिरिएपछि भएको पीएम कपको चार संस्करणमा उनको कप्तानीमा त्रिभुवन आर्मी क्लबले लगातार चार वटै फाइनल खेल्यो।

विनोद भण्डारी

तस्बिर स्रोत, CAN

२०२४ को संस्करणमा उपविजेता बन्दा विनोदले कुल ३५१ रन बनाएर शीर्ष ३ ब्याटर बनेका थिए भने यसपालिको संस्करणमा पनि उनी शीर्ष ३ उत्कृष्ट ब्याटर बनेका थिए।

यसपालि टीमलाई च्याम्पियन बनाउने क्रममा विनोदले दुई शतक सहित ४०४ रन बनाए जसमा एक खेलमा उनले १८९ रन जोडेका थिए।

जय ट्रफीको दुई संस्करणमा पनि उनले सेनालाई लगातार फाइनलसम्म दोहोर्‍याएका थिए।

स्थिर प्रदर्शनपछि विनोदलाई राष्ट्रिय टोलीमा ल्याउनुपर्ने माग बढिरहेको थियो। तर त्यसको कुनै सङ्केत नदेखिएपछि एनपीएलमा उनले आफ्नो असन्तुष्टि मज्जाले पोखे।

पत्रकारसँग उनले भनेका थिए - "एनपीएल राष्ट्रिय टोलीका लागि छनोट म्याच हो भनेर कसले भन्छ ? पहिला त्यो डिक्लियर गर्नुपर्‍यो। यो छनोट म्याच हो या होइन यसले मलाइ केही फरक नै पर्दैन।"

मेहनतको फल

उनलाई फरक परेन होला। तर निरन्तरको उनको ब्याटिङले प्रशिक्षक स्टुअर्ट ल लाई भने फरक परेछ।

अन्ततः विश्वकप लीग २ को शृङ्खलामा विनोदलाई प्रशिक्षक स्टुअर्ट लले टीममा बोलाए।

टीममा परे पनि प्लेइङ ११ मा पर्ने नपर्नेमा अझै प्रश्न थियो। तर नियमित प्रारम्भिक जोडी कुशल भुर्तेल र आशिफ शेखको प्रदर्शन राम्रो हुन नसकिरहेको बेला प्रशिक्षकले युवा अर्जुन कुमाल सँगै भेट्रान विनोदलाई यूएई विरुद्धको खेलमा एकसाथ मौका दिए।

पाएको मौकामा विनोदले आफ्नो क्षमता पुष्टि गरिसकेका छन्। उनको पुनरागमन 'फिस्स' होइन धमाकादार अर्ध शतकबाट भएको छ।

उदाहरणीय विनोद

विनोद भण्डारी

तस्बिर स्रोत, CAN

नेपालका कतिपय क्षमतावान् खेलाडीहरूले धैर्यता कायम गर्न नसकेर क्रिकेट क्षेत्रबाट बिलाएर गएका थुप्रै उदाहरण छन्।

त्यो भिडबाट अलग रहेर विनोदले गरेको मेहनत साँच्चिकै प्रशंसनीय देखिएको जानकारहरू बताउँछन्।

उनलाई अब भारतका भेट्रान महेन्द्र सिंह धोनी र सचिन तेन्दुलकर वा अस्ट्रेलियाका डेभिड वार्नर वा श्रीलङ्काका कुमारा साँगाकारा जस्तो पाको उमेरमा उत्कृष्ट खेल्ने खेलाडीसँग जोड्न थालिएको छ।

उनको आगामी यात्रा सहज/असहज के हुने हो, त्यो भविष्यले देखाउने छ। हाललाई विनोदले एउटा कुरा पुष्टि गरेका छन्। त्यो हो: 'अनुभवको गणना हुन्छ। धैर्यले फल दिन्छ।'

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।