ग्यासको अभावसँगै कालोबजारी, बढी मूल्य लिनेलाई ३ लाख रुपैयाँसम्म जरिवाना

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

उपत्यकाबाहिरबाट चार दिन आयात बन्द हुँदा काठमाण्डूमा खाना पकाउने एलपी ग्यासको अभावसँगै कालोबजारी सुरु भएको पाइएको अधिकारीहरूले बताएका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​ले बढी मूल्य लिएर ग्यास बिक्री गरेको आरोपमा दुई जनालाई यो साता मात्रै तीन-तीन लाख रुपैयाँ जरिवाना गरेको विभागका सूचना अधिकारी अनिल किरातीले जानकारी दिए।

उनका अनुसार खाना पकाउने ग्याससम्बन्धी उजुरीपछि एक सातामा सात वटा पसलहरू कारबाहीमा परेका छन्। विभागले उनीहरूलाई १० हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गराइएको जनाएको छ।

"तोकिएभन्दा बढी मूल्यमा ग्यास बिक्री गर्नेलाई दुईदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने अधिकार विभागसँग छ," राई भन्छन्।

कारबाहीमा परेकाहरूले प्रतिसिलिन्डर २,६५० रुपैयाँसम्म मूल्य लिएर ग्यास बिक्री गरेको पाइएको विभागको दाबी छ।

'३,२०० रुपैयाँसम्म लिए'

एक सिलिन्डर ग्यासको ३,२०० रुपैयाँसम्म लिएको उजुरी विभागमा परेको र कैयौँ उजुरीमा छानबिनसँगै अनुगमनसमेत भइरहेको विभागका सूचना अधिकारीले बताएका छन्।

उनले पर्याप्त प्रमाण नपुगेका कारण कतिपय विक्रेतालाई कारबाही गर्न नसकिएको बताए।

विभागसँगै अन्य सरकारी निकाय पनि अनुगमन र कारबाहीमा सक्रिय देखिएका छन्।

एक सिलिन्डर ग्यासको २,९०० रुपैयाँसम्म लिएको उजुरीपछि भक्तपुरमा दुई वटा पसलका सञ्चालकहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको भक्तपुरका प्रहरी प्रमुख सूर्य खड्काले जानकारी दिए।

"हामीले उजुरीपछि बुझ्दा २,८०० देखि २,९०० रुपैयाँसम्म लिएको पाइएपछि पसलका सञ्चालकलाई पक्राउ गरेका छौँ," खड्काले भने।

"यसले कतैकतै कालोबजारी पनि भइरहेको छ भन्ने देखाएको छ।"

ग्यास बिक्रेता महासङ्घका पनि तोकिएको मूल्यभन्दा बढी लिएर ग्यास बिक्री गर्ने विक्रेतालाई कारबाही गर्न भनेको छ।

"सरकारले तोकेको बिक्री दररेटभन्दा बढीमा बिक्रीवितरण गरी अनुचित लाभ लिने जोकोहीलाई कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछौ," महासङ्घले शुक्रवार एक विज्ञप्ति जारी गर्दै भनेको छ।

महासङ्घका महासचिव विनोद काफ्लेले बिक्रेतालाई छलेर उद्योगी र अन्य व्यवसायीबाट ग्यास बिक्री गरिँदा कालोबजारी थप बढेको बताए।

"अहिले होटेलहरूले आफैँ गएर ग्यास भरेर ल्याइरहेका छन्। विक्रेताहरूले ग्यास पाएका छैनन्। विक्रेतालाई पो कसले धेरै थुपारेको छ, कसलाई अति आवश्यक छ भन्ने थाहा हुन्छ," काफ्ले भन्छन्।

सरकारमाथि प्रश्न

सरकारले व्यवस्थापन गरेका ग्यास बिक्री केन्द्र र उद्योगहरूमा रित्तो सिलिन्डर बोकेका मानिसहरूको लामो लाइनका तस्बिर सामाजिक सञ्जालमा राख्दै मानिसहरूले सरकारमाथि प्रश्न गरिरहेका छन्। ग्यासको अभाव महिनौँसम्म पनि सम्बोधन नभएपछि आलोचना खेपिरहेकी उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीवार राजीनामा दिएकी थिइन्।

सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले शुक्रवार प्रतिनिधिसभा बैठकमा मन्त्रीहरू मात्रै फेरेर ग्यासको समस्या समाधान नहुने बताएकी थिइन्।

सरकारी हस्तक्षेपका बाबजुद पनि ग्यास कहिलेबाट सहजै उपलब्ध हुन्छ भन्ने प्रश्नको जवाफ नेपाल आयल निगमसँग पनि छैन।

बीबीसीको प्रश्नमा निगमनका प्रवक्ता मनोजकुमार ठाकुर भन्छन्, "काठमाण्डूको दैनिक उपयोग जति हो त्योभन्दा बढी आएर बिक्रीवितरण भइरहेको छ। तर माग त्योभन्दा धेरै छ।"

उनले सञ्चारमाध्यमबाट प्रसारित चिन्ता उत्पन्न गराउने किसिमका समाचारहरू पनि ग्यास अभावको एउटा कारण रहेको बताए।

"सञ्चारमाध्यममा ग्यास अभाव भनेर समाचार आएपछि मसँग एउटा सिलिन्डर ग्यास छ भने अर्को पनि थप्न खोज्छु नि त।"

कति आइरहेको छ ग्यास?

निगमका प्रवक्ता ठाकुरका अनुसार उपत्यकामा पछिल्ला दिनमा औसत खपतभन्दा बढी नै ग्यास भित्रिइरहेको छ।

कृष्णभीरमा राजमार्ग अवरुद्ध भएपछि काठमाण्डूभन्दा बाहिरै सिलिन्डर भरेर त्रिभुवन राजपथलगायतका वैकल्पिक बाटो हुँदै ग्यास आयात भइरहेको ठाकुर बताउँछन्।

उनले पछिल्ला दिनहरूमा हरेक दिन ४० हजारभन्दा धेरै सिलिन्डर ग्यास उपत्यका आइरहेको बताए।

तर अहिले नियमित आवश्यकताभन्दा धेरै ग्यासको माग भइरहेका कारण उपभोक्ताहरूलाई पुर्‍याउन नसकिएको निगमको दाबी छ।

उपत्यकामा औसत दैनिक माग ४० देखि ४५ हजार सिलिन्डर ग्यासको माग रहेको उद्योगीहरूको दाबी छ। तर निगम उपत्यकामा ३५ देखि ४० हजार सिलिन्डर ग्यासको मात्रै माग रहेको बताउँछ।

भदौ १४ गते त्रिशूलीको कृष्णभीरको बाटो बन्द भएसँगै १,२०० सिलिन्डर भर्न पुग्ने ग्यास बोक्ने बुलेटहरू काठमाण्डू आउन सकेनन्।

त्यसको चार दिनसम्म उपत्यकामा ग्यास आपूर्ति ठप्पजस्तै भएपछि उद्योगीहरूले उपत्यकाबाहिरै ग्यास सिलिन्डरहरू भर्ने अनुमति पाए।

अहिले चितवन, हेटौँडा, बारा, पर्सा, भैरहवा, नवलपरासीलगायतका ठाउँका ग्यास उद्योगहरूबाट सिलिन्डर भरेर ट्रकमा काठमाण्डू ल्याइने गरिएको बताइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।