'सधैँभरि पिटाइ नै खानुपर्ने?': डाक्टरहरू हडतालमा, बिरामीहरू मारमा

महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा बिरामीहरू
तस्बिरको क्याप्शन, बहिरङ्ग सेवा बन्द भएपछि बिरामीहरू र तिनका आफन्तहरूले आफू बिलखबन्दमा परेको बताएका छन्
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

मङ्गलवार दिउँसो १२ बजेतिर काठमाण्डू महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीचिङ् अस्पताल) पुग्दा उक्त परिसरमा सिराहाबाट आएकी शोभादेवी चौधरी हताश र अन्योल अवस्थामा भेटिइन्।

हाडजोर्नी र मिर्गौलाको समस्याबाट पीडित उनी बिहान सातै बजे अस्पताल आइपुगेकी रहिछन्।

"यहाँ बन्द छ भनेर थाहा थिएन। आज मिर्गौलाको जाँच भनेको थियो। घण्टौँदेखि पर्खिएर बसिरहेकी छु। टाढाबाट आउनुपर्छ। गाडी भाडा लाग्छ। हरेक पटक खर्च हुन्छ। अब कहिले खुल्ने हो त्यो पनि थाहा छैन," चौधरीले भनिन्।

सिन्धुपाल्चोकका ज्ञानबहादुर तामाङलाई पनि मिर्गौलाको समस्या रहेछ। अस्पताल परिसरमा हातमा रिपोर्टका झोला बोकेका उनी एक्लै हिँडिरहेका थिए।

"आठ-दश दिनदेखि धाइरहेको छु। आज बन्द भन्ने थाहा भएन। 'भिडिओ एक्सरे' गर्ने भनेको थियो। त्यसैले यतिखेरसम्म म भोकै छु। एकदम दु:ख पाइयो," ६० वर्षका तामाङले भने।

सप्तरीकी दरोबती चौधरी रगत परीक्षणका रिपोर्टहरू बोकेर चिकित्सकको पर्खाइमा थिइन्।

"पहिले नै थाहा भएको भए आउने थिइनँ। अहिले यहाँसम्म आइपुगेर फर्किनुपरेको छ। अब भोलिपर्सि के हुन्छ पनि थाहा छैन," उनले भनिन्। "मलाई मुटुको पनि समस्या छ। (हडतालका कारण) एकदम गाह्रो भइरहेको छ।"

उनीहरूजस्ता सयौँ मानिसहरू टीचिङ अस्पतालको प्राङ्गणमा ओहोरदोहोर गरिरहेका थिए। कोही एकछिन सुस्ताउँदै बेन्चमै पल्टिरहेका थिए।

चिकित्सकहरूको हडताल किन

बहिरङ्ग सेवा बन्द भएको टीचिङ अस्पतालको दृश्य

केही दिनअघि वीरगन्जस्थि नारायणी अस्पतालमा एक चिकित्सकलाई कुटपिट गरेको घटना र त्यसमा दोषीलाई कारबाही गर्न प्रशासनले कदम चाल्न नसकेकोमा आक्रोशित चिकित्सकहरूले मङ्गलवार देशैभरि अस्पतालहरूमा आकस्मिकबाहेकका सेवा बन्द गरेका हुन्।

चिकित्सकहरूको छाता सङ्गठन नेपाल चिकित्सक सङ्घले सोमवार विज्ञप्ति जारी गर्दै बन्दको घोषणा गरेको थियो।

"यो हाम्रो रहर होइन बाध्यता हो। हाम्रो कुराको सुनुवाइ नभएपछि यसरी आकस्मिकबाहेकका सेवा बन्द गर्नुपरेको हो," टीचिङ अस्पतालका डाक्टर तथा सङ्घका वरिष्ठ उपाध्यक्ष सञ्जीव तिवारीले भने।

हरेक दिन टीचिङ अस्पतालमा २,००० देखि ३,००० सम्म मानिसहरू जँचाउन आउने गरेको सुनाउँदै उनले ती बिरामीहरूलाई मर्का पर्ने जान्दाजान्दै पनि आफूहरू बन्द गर्न 'विवश' भएको बताए।

ज्ञानबहादुर तामाङ
BBC
आठ-दश दिनदेखि धाइरहेको छु। आज बन्द भन्ने थाहा भएन। भिडिओ एक्स-रे गर्ने भनेको थियो। त्यसैले यतिखेरसम्म भोकै छु। एकदम दु:ख पाइयो
ज्ञानबहादुर तामाङ, सिन्धुपाल्चोक
उपचारका लागि काठमाण्डू आएका बिरामी

नारायणी अस्पतालमा कुटपिट गरिएका चिकित्सकलाई अहिले थप उपचारका लागि काठमाण्डू ल्याइएको सङ्घले जनाएको छ।

सो घटनापछि शनिवारदेखि नै उक्त अस्पतालमा उपचार सेवा ठप्प पारेर हडताल गर्न थालेका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्।

त्यहाँ कार्यरत ७० भन्दा बढी चिकित्सकमध्ये ६५ जनाले सामूहिक राजीनामा दिएको अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहले बताएका छन्।

कुटपिटको प्रवृत्तिबारे चिन्ता

टीचिङ अस्पताल परिसरमा डाक्टरहरू
तस्बिरको क्याप्शन, चिकित्सकहरूमाथि कुटपिटको प्रवृत्तिका कारण चिन्तित भएको नेपाल चिकित्सक सङ्घले बताएको छ

"आकस्मिक कक्षमा आएको 'हार्ट अट्याक' भएको बिरामीलाई उपचारको क्रममा बचाउन नसकिएपछि ४०-५० जनाको समूहले टाउकोमा र घाँटीको हड्डीमा चोट लाग्ने गरी कुटपिट भयो। त्यसबारे प्रशासनसँग कुरा गर्न जाँदा गालीगलौज तथा दुर्व्यवहार गरियो," नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा बद्री रिजालले वीरगन्जको घटना सुनाउँदै नेपालैभरि डाक्टरमाथि कुटपिटको प्रवृत्ति झन् बढिरहेको बताए।

"सो घटनामा हेल्मेटले हानिएको छ। यस्तो अवस्थामा डाक्टरहरूले कुन मनोबल लिएर काम गर्ने?"

डाक्टरमाथि हातपात र दुर्व्यवहार हुने मामिला एक महिनामा दुई-तीन वटासम्म हुन थालेको डा रिजालले बताए।

"हामीले सुरुदेखि नै भन्दै आएको कुरा के हो भने डाक्टरहरूलाई सुरक्षा देऊ। कामको सिलसिलामा कुनै तलमाथि भयो भने पनि कानुनी उपचारका बाटा हुन्छन्, मेडिकल काउन्सिल छ, अदालत छ। सोझै भौतिक आक्रमण त सह्य हुँदैन नि। यस्तो प्रवृत्ति निरुत्साहित होस् भन्ने हो," उनले भने।

"सधैँभरि डाक्टरले पिटाइ नै खानुपर्ने? घर छाडेर दुर्गममा गएर अब कसरी काम गर्ने?"

सरकार के भन्छ

चिकित्सकहरूको आन्दोलनका कारण बहिरङ्ग सेवा बन्द भएपछि मङ्गलवार भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीहरू आकस्मिक कक्षबाट बहिरङ्ग सेवाको सुविधा लिँदै

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, चिकित्सकहरूको हडतालका कारण बहिरङ्ग सेवा बन्द भएपछि केही अस्पतालमा आएका जटिल बिरामीहरूलाई आकस्मिक कक्षबाट सेवा दिइएको थियो

देशभरिका अस्पतालमा नियमित सेवा ठप्प भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अपील जारी गरेको छ।

"स्वास्थ्यकर्मीहरूमाथि कुटपिट भएको घटनाबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त घटनाका दोषीहरूलाई पत्ता लगाएर कानुनी कारबाही गर्नका लागि सरकारका अन्य निकायहरूसँग मन्त्रालयले समन्वय र पहल गरिरहेको छ," मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए।

"स्वास्थ्य सेवाको संवेदनशीलता एवं चिकित्सा पेसाको गरिमा र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्बाध सेवा दिन सबै अस्पतालहरूलाई सरकारले अपील गरेको छ," उनले बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, भिडिओ : सृजना श्रेष्ठ

नारायणी अस्पतालमा भएको घटनाको सन्दर्भमा स्थानीय प्रशासनबाट सबै सरोकारवालाहरूसँगको समन्वयमा छानबिन तथा अन्य कारबाही भइरहेको अधिकारीले बताएका छन्।

विगतमा पटकपटक चिकित्सकमाथि कुटपिट हुँदै आएपछि सरकार तथा चिकित्सकहरूको सङ्घकै पहलमा "स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६" बनाइएको थियो र त्यसमा २०७९ सालमा पहिलो संशोधन पनि गरियो।

"कानुनको कार्यान्वयन फितलो भइरहेको छ। वीरगन्जकै घटनामा पनि उक्त कानुनबमोजिम दोषीलाई समातेर कारबाही गर्न मिल्छ," डा रिजालले भने।

सो ऐनको दफा ३मा हातपात, तोडफोड तथा तालाबन्दी गर्न नहुने भनिएको छ। साथै स्वास्थ्यकर्मी वा स्वास्थ्यसंस्थाका कर्मचारीलाई कुटपिट गरिए वा शारीरिक चोट पुर्‍याएको खण्डमा दफा ७ मा "तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय" हुन सक्ने भनिएको छ।

मङ्गलवार राष्ट्रिय मानवाधिकार आयोगले पनि एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको सत्यतथ्य छानविन गरी घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन गरेको छ।

"साथै, स्वास्थ्य जस्तो अत्यावश्यक सेवा बन्द हुँदा लाखौं मानिसको जीवन जोखिममा पर्न सक्नेतर्फ संवेदनशील भइ सेवा सुचारु गर्न, आफ्ना विरोध र विमतिहरू राख्दा आमनागरिकको स्वास्थ्यमा असर नपर्ने प्रकृतिका अन्य वैकल्पिक उपायहरू अवलम्बन गर्न तथा वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आयोग नेपाल सरकार, आन्दोलनरत चिकित्सक, मृतकका परिवार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ," आयोगले भनेको छ।

नागरिकको स्वास्थ्य सेवा निर्वाध पाउने अधिकार र चिकित्सकको सुरक्षित वातावरणमा काम गर्न पाउने अधिकारका बीच तालमेल नभएसम्म तामाङ र चौधरीजस्ता सर्वसाधारण बिरामीहरू पने बिनसित्ति दु:ख पाउन बाध्य भइरहने जानकारहरूको धारणा छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।