तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लगातार चौथो तातो वर्ष र चौथो पटक तापलहरको चेतावनी
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
नेपालमा यसपालि लगातार चौथो वर्ष अधिकतम तापक्रम औसतभन्दा बढी हुने पूर्वानुमान गरिएको छ। सरकारी निकायले नेपालका कैयौँ क्षेत्रमा 'तापलहर' देखिन सक्ने चेतावनी जारी गरेको छ।
जल तथा मौसम विज्ञान विभाग विभागले शुक्रवारबाट तीन दिनसम्म कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरूमा तापलहर फैलिन सक्ने पूर्वानुमान गरेको छ।
विभागका अनुसार ती क्षेत्रको अधिकतम तापक्रम ३८ डिग्री सेल्सिअस वा त्यस भन्दा बढी रहने सम्भावना छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार समथर क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि र पहाडी क्षेत्रमा ३० डिग्री सेल्सिअसभन्दा माथि पुगेको अवस्थालाई तापलहर अर्थात् 'हीटवेभ' भन्ने गरिन्छ।
त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल लगातार ४० डिग्रीभन्दा बढी अधिकतम तापक्रम हुने अवस्थालाई नेपालमा तापलहरको अवस्था मान्ने गरिएको बताउँछन्।
यो चरणको तापलहर कस्तो?
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार यो गर्मीयाम सुरु भएयता अहिले जारी गरिएको तापलहरको चेतावनी चौथो हो।
यसअघि सन् २०२३ र २०२४ मा पनि करिब ११ पटकसम्म तापलहरको चेतावनी जारी गरिएको लामिछाने बताउँछन्।
"यो केही समयसम्म रहने अवस्था देखिन्छ," लामिछाने भन्छन्।
"पछिल्ला दिनहरूमा तापक्रम घट्ने वा पानी पर्ने अवस्था रहेन भने फेरि अर्को बुलेटिन जारी गर्ने छौँ। बिस्तारै मौसम भित्रिने बादल लाग्ने सम्भावना रह्यो भने तातो लहर घट्दै जान्छ।"
उनका अनुसार अहिले पूर्वानुमान गरिएको तापलहर यसअघिका वर्षहरूमा भन्दा खराब हुने आकलन हालसम्म गरिएको छैन।
औसतभन्दा तातो दशक बन्दै
नेपालमा २६.७ डिग्री सेल्सिअसलाई गर्मीयामको औसत अधिकतम तापक्रम मानिएको छ। तर पछिल्ला तीन वर्ष लगातार अधिकतम तापक्रम उक्त बेसलाइन नाघ्यो।
कुनै पनि स्थानको ३० वर्ष अवधिको औसत तापक्रमलाई सरदर तापक्रमका रूपमा लिइन्छ।
देशका विभिन्न ६८ वटा मापन केन्द्रबाट मापन भएको तापक्रमका आधारमा सन् २०२३ यो दशककै सबैभन्दा गर्मी वर्ष थियो।
उक्त वर्ष औसतभन्दा ०.७३ बिन्दुले तापक्रम बढी मापन भएको विभागको तथ्याङ्कमा उल्लेख छ।
सन् २०२४ मा पनि अधिकतम तापक्रम औसतभन्दा ०.५१ बिन्दुले र २०२५ मा ०.४८ बिन्दुले बढी मापन भयो।
मौसम विज्ञान विभागले गत महिना प्रकाशित गरेको मनसुन यामको जलवायु आकलनअनुसार यो वर्ष पनि जेठ १८ देखि असोज १४सम्मको मनसुनमा देशका अधिकांश स्थानमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार हिन्दू कुश हिमालय क्षेत्रका कैयौँ देशहरूमा यो वर्ष सरदरभन्दा ०.५ देखि २ डिग्री सेल्सिअससम्म अधिकतम तापक्रम मापन हुने पूर्वानुमान छ।
नेपालमा यसअघि सन् २००८ देखि २०१८को बीचमा एक दशकसम्म अधिकतम तापक्रम सरदरभन्दा बढी मापन भएको थियो।
उच्च तापक्रमको रेकर्ड
सन् २०१६ नेपालमा तापक्रमको व्यवस्थित अभिलेख राख्न थालिएको सन् १९८१ यताकै सबैभन्दा गर्मी वर्ष थियो।
२०१६ मा औसत तापक्रम २७.५७ डिग्री सेल्सिअस अर्थात् सरदरभन्दा ०.८७ बिन्दु बढी थियो। त्यसपछिका वर्षहरूमा पनि पनि उच्च तापक्रमको प्रवृत्ति थप दुई वर्षसम्म जारी रह्यो।
"सन् २०१६ पछि सबैभन्दा धेरै औसत अधिकतम तापक्रम २०१० मा देखिन्छ," बखरेल भन्छन्।
सबैभन्दा गर्मी वर्ष भएपछि सन् १०१६मा नेपालको अधिकतम तापक्रमको रेकर्ड चाहिँ भङ्ग भएन।
त्यो वर्ष सबैभन्दा धेरै तापक्रम जुन २ मा चितवनको भरतपुरमा ४२.५ डिग्री सेल्सिअस मापन भएको थियो।
विभागको तथ्याङ्क अनुसार हालसम्मकै सबैभन्दा धेरै तापक्रम धनगढीमा सन् १९९५मा मापन भएको छ।
धेरै स्थानमा अधिकतम तापक्रम मापन भएको उक्त वर्ष जुलाई १६ मा धनगढीमा ४६.४ डिग्री सेल्सिअस तापक्रम मापन भएको थियो। त्यो नै अहिलेसम्म नेपालमा मापन भएको सबैभन्दा उच्च तापक्रम रहेको विभागका मौसमविद् अशोक बखरेल बताउँछन्।
त्यही वर्ष नवलपरासीको सेमरीमा ४५.८ डिग्री सेल्सिअस र भैरहवामा ४५.२ डिग्री सेल्सिअस तापक्रम मापन भएको थियो।
त्यसपछि अधिकतम तापक्रम दुई वर्षअघि सन् २०२४ मा मापन भयो। त्यो वर्ष जुन १५ मा टीकापुरमा ४५.२ डिग्री सेल्सिअस तापक्रम मापन भएको थियो।
सन् २०२३ मा पनि दम्कौलीमा ४४.८ डिग्री सेल्सिअस र रामपुर तथा परवानीपुरमा ४३ डिग्री सेल्सिअसभन्दा धेरै तापक्रम मापन भएको थियो।
गर्मीमा अहिलेसम्मको सबैभन्दा शीतल वर्ष सन् १९८१ र यो दशकको शीतल वर्ष २०२० रहेको विभागको तथ्याङ्कले देखाउँछ।
गर्मीको कारण के हो?
त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक सिग्देल यो वर्ष वर्षा कम हुँदा अधिकतम तापक्रमसँगै न्यूनतम तापक्रम पनि धेरै नघट्ने पूर्वानुमान भएका बताउँछन्।
"यो वर्ष प्रशान्त महासागरीय क्षेत्रमा उत्पन्न हुने एल निन्योको असरले गर्दा हाम्रो क्षेत्रमा सुक्खापन ल्याउने र तापक्रम औसतभन्दा माथि जाने आकलन छ," सिग्देल भन्छन्।
सिग्देल यसको अप्रत्यक्ष सम्बन्ध जलवायु परिवर्तनसँग पनि देखिएको बताउँछन्।
"हामीले जमिन, समुद्र र आकाशमा हुने वायुमण्डलीय चक्रलाई जोडेर हेर्नुपर्ने हुन्छ त्यसकारण यसमा जलवायु परिवर्तनको भूमिका पनि परिपूरक छ," उनले भने।
मौसमविद् लामिछाने तराई क्षेत्रमा मात्र नभई पहाडी क्षेत्रमा पनि तापक्रम बढिरहेका कारण यसको सम्बन्ध जलवायु परिवर्तनसँग देखिने बताउँछन्।
"तराई क्षेत्रहरूमा ३८ डिग्री ४० डिग्री प्रत्येक वर्ष सामान्य नै बन्दै गएको छ," लामिछाने भन्छन्।
"पछिल्लो केही वर्षयता पहाडी उपत्यका र खोँचहरूमा पनि तापक्रम धेरै नै बढेको हामी पाउन सक्छौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।