तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मनसुन यसपालि कस्तो रहन्छ, सम्भावित क्षति कम गर्न सरकारको तयारी यस्तो छ
- Author, विनिता दाहाल
- Published
- पढ्ने समय: ४ मिनेट
सरकारले यो वर्ष हुनसक्ने मनसुनजन्य विपद् र त्यसले निम्त्याउने क्षति न्यूनीकरणका लागि मनसुन कमान्ड पोस्टलाई अझै बलियो र प्रभावकारी बनाएर काम गर्न लागिएको जनाएको छ।
जल तथा मौसम विज्ञान विभागले यो वर्ष मनसुन अवधिमा कम पानी पर्ने अनुमान गरेको छ।
तर पानी कम पर्दैमा बाढी पहिरोका घटना कम हुने भन्न नसकिने भएकाले विभागको पूर्वानुमानअनुसार केन्द्र, स्थानीय निकाय, सुरक्षा निकायलगायत सबै सचेत रहेर क्षति न्यूनीकरणमा काम गरिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो।
पानी कम परेको अवस्थामा हिम पहिरो वा सुक्खा जस्ता समस्याहरू निम्तिन सक्ने भएकाले सबै खाले विपद्लाई ध्यानमा राखेर आफूहरू तयारी अवस्थामा रहेको प्राधिकरणको दाबी छ।
एक जना विज्ञले चाहिँ विभागले गर्ने पूर्वानुमानलाई पछ्याएर त्यसै अनुसार तयार अवस्थामा रहने र प्रभावित क्षेत्रका बासिन्दालाई सचेत गराउन सके विपद् न्यूनीकरण हुने बताएका छन्।
प्रत्येक वर्ष बाढी पहिरोजस्ता मनसुनजन्य विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति हुँदै आएकोमा गत वर्ष वर्षा धेरै भए पनि सरकारले क्षति न्यूनीकरण गर्न सकिएको निष्कर्ष प्राधिकरणले निकालेको थियो।
विपद् पोर्टलमा उल्लेख भएको तथ्याङ्क अनुसार गत एक वर्षमा (२०८२ जेठ ७ देखि २०८३ जेठ ७ सम्म) मनसुनजन्य विपद् बाढी तथा पहिरोमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या १०४ रहेको थियो भने ३१ जना बेपत्ता भएका थिए र करिब ९९ जना घाइते भएका तथ्याङ्क छ।
त्यसअघिको एक वर्षभरिमा (२०८१ जेठ ७ देखि २०८२ जेठ ७ सम्म) भने ४४७ जनाको मृत्यु भएको थियो भने ६७ जना हराएका थिए र ३३५ जना घाइते भएका तथ्याङ्क छ।
वर्षा धेरै हुँदा पनि पूर्वानुमान अनुसार जनतासम्म सूचना पुर्याएर रेडक्रसलगायत सुरक्षा निकायहरू सचेत रहँदा क्षति न्यूनीकरण उल्लेख्य गर्न सकिने उदाहरण गत वर्ष रहेको एक जना विज्ञले बताएका छन्।
यो वर्षको मनसुनी अनुमान कस्तो छ?
जल तथा मौसम विज्ञान विभागले यो वर्ष देशको धेरै ठाउँहरूमा मनसुनमा कम पानी पर्ने पूर्वानुमान गरेको छ। विभागका अनुसार प्राय: जुन १३ मा मनसुन सुरु हुने गर्छ।
यो वर्ष भने अलि चाँडैबाट मनसुन सुरु हुन्छ कि भन्ने अनुमान गरिए पनि ठ्याक्कै कहिलेबाट सुरु हुन्छ भन्ने यकिन नभएको विभागले जनाएको छ।
भारतको दक्षिणी राज्य केरलामा मनसुन मे २६ तारिखमा सुरु हुने भन्ने विवरणहरू आएका छन्। तर त्यसलाई आफूहरूले हेरिरहे पनि त्यसकै आधारमा नेपालमा अनुमान गर्न कठिन हुने विभागले जनाएको हो।
"केरलामा सुरु भइसकेपछि हामीले दिँदा पनि कहिलेकाहीँ नजिकै आएर अड्किने अवस्था रहन्छ," विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले बीबीसीसँग भनिन्।
"हामी देशभित्रै परिरहेको पानी पनि हेरिरहेका छौँ। मनसुनबारे पूर्वानुमान गर्ने पनि सोचिरहेका छौँ। तर अहिले गर्दा हाम्रो अनुभवमा एकदमै छिटो हुन्छ भन्ने हो।"
यो वर्ष देशका कतिपय ठाउँमा विगत वर्षभन्दा कम पानी पर्ने अनुमान गरिए पनि त्यसको अर्थ बाढी पहिरोका घटना पनि कम हुन्छन् भन्ने रूपमा बुझ्न नहुने विभागको भनाइ रहेको छ।
"पानी कम पर्ने तर परेको बेला एकै पटक बेस्सरी पर्दाखेरि विपद्का घटना हुन्छन्। लामो समयसम्म खडेरी रहने र परेपछि एकै पटक बाढी आउने पनि देखिएको छ," पोखरेलले भनिन्।
"हामीले वर्षा सरदरभन्दा कम हुन्छ भनिरहँदा हामीले जम्मा कति वर्षा भयो भन्ने पनि हेरिरहेका हुन्छौँ किनभने त्यो बीचमा बाढी र पहिरो आउने सम्भावना पनि त्यति नै हुन्छ।"
सरकार कति तयार?
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य घटना कम गर्न र भइहालेको अवस्थामा राहत उद्धारका लागि मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना स्वीकृत भई त्यसै अनुसार काम गरिरहेको जनाएको छ।
"यसमा चाहिँ मनसुनका बेला हुनसक्ने विपद्जन्य घटनाहरू कम भन्दा कम क्षति हुने गरी पूर्व तयारी गर्ने भन्ने कुराहरू समेटिएका छन्," प्राधिकरणकी प्रवक्ता शान्ति महतले भनिन्।
"यदि विपद् आइहालेको खण्डमा तत्काल प्रतिक्रिया जनाउँदा कसरी कसले कुन जिम्मेवारीमा रहने भन्ने विषय स्पष्ट रूपमा तोकिएको छ।"
विपद्मा प्रभावकारी प्रतिक्रिया जनाउनका लागि मनसुन कमान्ड पोस्टको भूमिका महत्त्वपूर्ण रहने उनले बताइन्।
"भारी वर्षा हुन्छ भनेर पूर्वानुमान हुने बित्तिकै विपद्को सम्भावनालाई मध्यनजर गरेर चौबिसै घण्टा सातै दिन खटिने गरी कमान्ड पोस्ट सेट अप भएको छ," उनले भनिन्।
"त्यसले रियल टाइम डेटा हेरेर तुरुन्त स्रोतहरू परिचालन गर्ने, समन्वय गरेर उच्च सतर्कता गराउने लगायतका विषयहरू छन्।"
प्रभावित हुनसक्ने क्षेत्रका मानिसहरूलाई रिङ टोन र एसएमएस विगतको वर्षमा पनि पठाइएको र यो वर्ष दूरसञ्चार क्षेत्रमार्फत् अझै विस्तार गरिने योजना रहेको प्रवक्ता महतले बताइन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याल मनसुनजन्य विपद्मा खासगरी बाढी र पहिरोका कारण धेरै जनधनको क्षति हुने भएकाले पूर्वानुमान अनुसार सतर्क रहनुपर्ने बताउँछन्।
उनले सन् २०२४ र सन् २०२५ को उदाहरण दिँदै मौसमसम्बन्धी पूर्वानुमान अनुसार तयारी गर्दा र सतर्कता अपनाउँदा क्षति न्यूनीकरण गर्न सकिने देखिएको बताए।
"गत वर्ष सरकारले पूर्वानुमानमा अलि गम्भीरता देखायो र स्थानीय निकाय पनि सचेत भयो। पर्न त ६०० मिलिमिटर पानी पनि पर्यो। तपाईँ अन्दाज गर्नु न कत्रो पानी हो," उनले भने।
"त्यसैले मुख्य कुरा पूर्वानुमानलाई ध्यान दिनुपर्यो, सचेत भएर बस्नुपर्यो र त्यसका लागि स्थानीय निकाय, सरकारी विद्यालयलगायत सबै निकायलाई प्रयोग गर्नुपर्यो।"
उनले अहिले सरकारले गर्ने पूर्वानुमान एकदमै भरपर्दो रहेको बताउँदै त्यसैलाई सरकार र प्रभावित क्षेत्रका बासिन्दाले कडा रूपमा मानिदिने बित्तिकै क्षति धेरै हदसम्म कम हुने बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।