यूएईविरुद्ध जीतसहित नेपालद्वारा त्रिकोणात्मक शृङ्खलाको सुरुआत

नेपाल र यूएई क्रिकेट

तस्बिर स्रोत, CAN

पढ्ने समय: २ मिनेट

आइसीसी विश्वकप लीग २ अन्तर्गत काठमाण्डूमा शनिवारबाट सुरु भएको त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको छ।

नेपालले अब आगामी सोमवार ओमानसँग खेल्नेछ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २०० रनको मध्यम स्कोर खडा गरेको थियो। जबाफी ब्याटिङ गरेको यूएई १६३ रनमा अल आउट बन्न पुग्यो।

त्यसलाई पछ्याउन आएको यूएई एक समय आरामदायी विजयतिर उन्मुख भइसकेको अवस्थामा नेपालले खेल उल्ट्याउँदै जित हात पार्न सफल भयो।

जितसँगै नेपालले लीग तालिकामा १४ अङ्क पुर्‍याएको छ भने पुछारमा रहेको युएई १० अङ्कमै रोकिएको छ। यदि यूएइले शनिवारको खेल जितेको भए नेपालसँग बराबरी अङ्क बनाउने अवस्था थियो।

करणको ४ विकेट

कीर्तिपुर क्रिकेट मैदानमा २०१ रनको लक्ष्य पछ्याउन आएको युएई आरम्भमा केही समय धरमराएको देखियो।

तर कप्तान मोहम्मद वासिम र अक्षदीप नाथले पाँचौँ विकेटका लागि ५३ रनको साझेदारी गरेपछि टोली आरामदायी विजय तिर अग्रसर बन्यो। वासिमले ३४ तथा अक्षदीपले ३० रन बनाएका थिए।

तर सोमपाल कामीले यी जोडीको साझेदारी तोडिदिएपछि एकाएक खेल नेपालको पक्षमा पुग्यो। ३३ औँ ओभरमा सोमपालले पहिले अक्षदीप र त्यसपछि ३५ औँ ओभरमा वासिमलाई क्याच आउट गराएका थिए। यी दुबैलाई सोमपालले शट् पिच बलको सिकार बनाएका थिए।

करण केसी एक्लैले ४ विकेट लिए। अन्तिम विकेट लिएर नेपालको जीत निश्चित बनाउँदासम्म करणले ९.२ ओभरमा १९ रन खर्चिएका थिए।

दीपेन्द्रको ७५ रन

नेपाली ब्याटिङमा दीपेन्द्र सिंह ऐरी नायक बने। उनले ९० बलमा ५ चौका र २ छक्कासहित ७५ रन बनाए। नेपालले फेरी एक पटक खराब सुरुआत गर्दा ११ ‍औँ ओभरको समाप्तिमा ४९/४ को दयनीय स्थितिमा पुगेको थियो।

नेपाली ब्याटिङ एकपछि अर्को गरी धराशायी भइरहेको बेला ऐरीले मात्रै नेपालको साख जोगाउने प्रदर्शन गरेका थिए।

ओपनर कुशल भुर्तेलले २४ रन र करण केसीले २२ रन बनाए। त्यस्तै आरिफ सेख र सोमपाल कामीले समान १५ रन बनाएका थिए।

यूएईका लागि जुनेद सिद्धिकी र अजय कुमारले समान तीन विकेट लिए।

स्कोरबोर्डमा ८ रन हुँदा ओपनर तथा विकेटकिपर आसिफ शेख पवेलियन फर्किएका थिए। आसिफ खुजाइमा तनवीरको बलमा बोल्ड भएका थिए।

यो खेल विश्वकप लीग २ शृङ्खला अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले असोसिएट राष्ट्रका लागि बनाएको उच्चस्तरीय चारवर्षे एकदिवसीय शृङ्खला हो।

प्रत्येक टोलीले चार वर्षको बीचमा ३६ खेल खेल्ने यो तालिकाले असोसियट क्रिकेटको विकासमा निकै महत्त्वपूर्ण योगदान गर्दै आएको देखिएको छ।

यो प्रतिस्पर्धाको शीर्ष ४ मा रहने राष्ट्रको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगिन्छ। त्यसबाहेक ती टोलीहरू एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा सोझै छनोट हुन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।