'मार्गदर्शन र सहयोग' माग्दै सचिवले प्रधानमन्त्रीलाई पठाएको सन्देशले उजागर गरेको प्रवृत्ति

तस्बिर स्रोत, PMO
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'लाई पठाएको सन्देश र त्यसपछि प्रहरीले उनलाई 'पक्राउ/सोधपुछ' गरेको विषयबारे अहिले विभिन्न टिप्पणीहरू भइरहेका छन्।
प्रधानमन्त्रीलाई मोबाइल फोनमा आएको सन्देशमा सचिव पुष्करले आफू पदबाट निवृत्त हुने बेला भएको र मुख्यसचिव वा राजदूतका लागि इच्छा देखाएको र त्यसमा प्रधानमन्त्रीको 'मार्गदर्शन र आवश्यक सहयोग' चाहेको आशय व्यक्त गरिएको छ। पुष्करले शाहलाई उक्त सन्देश पठाएको बीबीसीले पनि पुष्टि गरेको छ।
उक्त सन्देशपछि त्यसबारे जानकारी लिन प्रहरीले सचिव पुष्करलाई सोधपुछ गरेको तर "पक्राउ गरिएको भन्न नमिल्ने" गृह मन्त्रालयले जनाएको छ।
तर पूर्वप्रशासकहरू भने यसरी सन्देश पठाउने र सन्देश पठाएको विषयमा प्रहरीले पक्राउ वा सोधपुछ गर्ने दुवै कदम गलत भएको बताएका छन्।
यस विषयमा प्रतिक्रिया लिन सचिव पुष्कर स्वयंसँग सम्पर्क गर्ने बीबीसीको पटकपटकको प्रयास सफल हुन सकेन।
खास भएको के हो?

तस्बिर स्रोत, Vice-President's Office of Nepal
सरकारले अध्यादेश ल्याएर करिब १,६०० राजनीतिक नियुक्तिहरू खारेज गरेपछि ती पदहरूमा पदपूर्ति गर्नका लागि विभिन्न निकायमा आवेदनहरू माग गरिएका छन्।
त्यसरी आवेदन आह्वान गरिनेमा राजदूतको पदका लागि पनि छ। नेपालमा राजदूत हुनका लागि खुला आह्वान गरिएको यो पहिलो पटक भएको बताइएको छ।
त्यसै मेसोमा सचिव पदबाट सेवानिवृत्त हुन लागेका बताएका पुष्करले पठाएको सन्देशको विवरण बीबीसीलाई प्राप्त भएको छ। त्यसमा लेखिएको छ- "सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार, नेपाल सरकारका सचिवको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ। सम्माननीयज्यू, यसरी हेर्दा मुख्यसचिव पदमा हजुरको विशेष ध्यान भए मात्रै, नत्र कुनै सम्भावना छैन हजुर। यही भएर मेरो सेवानिवृत्ति आगामी असार २४ गते सुनिश्चित छ। यसैबीच राजदूत पदका लागि विज्ञापन हेरेँ, हजुर। यससम्बन्धमा हजुरको जानकारी, मार्गदर्शन तथा आवश्यक सहयोगका लागि विनम्र अनुरोध गर्दछु।"
उक्त सन्देश आएपछि बिहीवार प्रहरीले सचिव पुष्करलाई गरेर केही घण्टा नियन्त्रणमा राखेर छोडेको भन्ने विवरणहरू आएका छन्।
गृहसचिव राजकुमार श्रेष्ठले भने सचिव पुष्करलाई पक्राउ गरिएको नभई केवल सोधपुछ गरिएको बताएका छन्। प्रधानमन्त्रीलाई उनले पठाएको सन्देशबारे बुझ्न प्रहरीले बोलाएको भन्ने आफूले बुझेको सचिव श्रेष्ठले बताएका हुन्।
त्यसबारे खास कुरा के भएको हो?
"प्रहरीले त कानुनबमोजिमको काम गर्ने हो। अब त्यो विषयचाहिँ जहाँसम्म मलाई लाग्छ, सुन्नमा आएअनुसार, जुन किसिमले बाहिर आएको छ, त्यस्तो होइन। पक्राउ पुर्जी जारी भएको वा प्रहरीले पक्राउ गरेको भन्ने होइन," बीबीसीको यो प्रश्नमा गृहसचिव श्रेष्ठले भने।
"सामान्य विषयमा सोधपुछ गरिएको विषय हो। कुनै विषयमा सोधपुछ गर्ने त सामान्य नै कुरा हो। तर जुन तरिकाले बाहिर कुरा आएको छ, त्यसरी अगाडि बढेको सन्दर्भचाहिँ होइन।"
विज्ञहरू के भन्छन्?
पूर्वप्रशासकहरूले भने सन्देश पठाउने सचिव र सन्देश पठाएको विषयमा प्रहरीमार्फत् सोधपुछ वा पक्राउ गरेर केरकार गर्ने दुवै पक्षको कदम गलत भएको बताएका छन्।
"सचिवले लेख्नु महागलत र प्रधानमन्त्रीले त्यसैलाई बहाना बनाएर यस्तो गर्नु पनि गलत हो," पूर्वमुख्यसचिव विमल कोइरालाले भने।
"सचिव उत्ताउलो हुनुभएन। आफ्नो मर्यादामा बस्नुपर्यो। प्रधानमन्त्रीले पनि त्यस्ता घटना घटेपछि आफैँभित्र राखेर यसलाई बाहिर ल्याउनुहुँदैन। जे भए पनि सचिवले त्यसरी हात थापेर पद लिने होइन। ऊ योग्य छ भने त उसलाई दिइहाल्छन् नि।"
उनले विगतमा यसरी सन्देश पठाएको आफूले कहिल्यै पनि नसुनेकाले अनौठो लागेको बताएका छन्।
लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिवसमेत रहेका उमेश मैनाली पनि यसमा दुवै पक्ष गलत रहेको बताउँछन्।
"कुनै कर्मचारीले अनुशासनहीन काम गर्यो भने निजामती सेवा ऐनमा के गर्ने भन्ने व्यवस्था लेखिएको हुन्छ। उसलाई कसले स्पष्टीकरण लिने र कसले कुन तहको कारबाही गर्ने भन्ने लेखेको हुन्छ," उनले भने।
"तर कुनै पनि कर्मचारीलाई यसरी प्रहरीले पक्राउ गर्नु ठिक होइन। सामाजिकअपराध जसरी पक्राउ गर्न मिल्छ त?"
मैनालीले सचिव पुष्करले पनि त्यसरी सन्देश पठाउन नहुने बताए। तर प्रधानमन्त्रीले लेखिएको विवरणको अध्ययन गरेर नगर्न नहुने हो भने अनुशासनको कारबाही ऐनको व्यवस्थाअनुसार गर्नुपर्ने उनले बताए।
"लेख्न नहुने कुरा लेखेको हो भने कारबाही गर्नुपर्यो तर कारबाही गर्ने पनि प्रहरीले त होइन। त्यसमा स्पष्टीकरण लिने पनि अधिकारी तोकिएको हुन्छ। यस्तो त कहिल्यै पनि हुँदैन थियो," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















