परिवारजनले बेपत्ता आफन्तको अन्तिम संस्कार गर्न थाले, धर्मगुरु र मनोविद् के भन्छन्?

तस्बिर स्रोत, Reuters
- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
पर्सा जिल्लाको पोखरिया–७ घर भएका सोनालाल पण्डित नुवाकोटको देवीघाटमा घर निर्माणसम्बन्धी ठेक्कापट्टाको काम गर्थे।
बाढी आएको दिन उनी कामका क्रममा बजारमै थिए।
उनका परिवारका सदस्यहरूले बताएअनुसार बाढी आएको हल्लाखल्लासँगै पण्डितसँग काम गरिरहेका अरू भागे, तर एउटा गोडामा घुँडामुन्तिरको भाग नभएका र बैसाखीको सहारामा हिँडडुल गर्ने उनी भाग्न सकेनन्।
"केही भिडिओहरूमा दाइलाई घुँडाघुँडा पानीले डुबाएको देखिन्छ, त्यसपछि कुनै खबर पाइएन," उनका भाइ पन्नालालले बीबीसीसँग भने।
"त्योसँगै हामी उहाँ नरहेको निधोमा पुग्यौँ र घटनाको पाँचौँ दिन कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गर्यौँ।"
त्यस्तै पत्रकार निराजन पौडेलले पनि बुधवार कुशको प्रतिकृति बनाएर आफ्नो परिवारका पाँच सदस्यको अन्त्येष्टि गरे।
भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी नुवाकोटको विदुर नगरपालिका–७, बेत्रावतीबाट पौडेलका बुबाआमा, काकाकाकी र बहिनीसहित परिवारका पाँच सदस्य बेपत्ता भएका थिए।
"उहाँहरूलाई भेट्ने कुनै आधार नदेखिएपछि बन्धुबान्धव सबै सरसल्लाह गरेर क्रियाकर्म गर्ने निर्णय गरियो," पौडेलले भने।
काठमाण्डूस्थित पशुपति आर्यघाटमा पनि कुशको प्रतिमा बनाएर आफ्ना प्रियजनको अन्तिम संस्कार गर्नेहरूको सङ्ख्या बुधवारदेखि बढ्न थालेको अधिकारीहरूले बताएका छन्।
"बुधवार तीन जनाको त्यसरी अन्तिम संस्कार गरिएको हाम्रो अभिलेखले देखाउँछ," पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी सूर्य भाटले बीबीसीसँग भने, "बिहीवार चाहिँ घाटमा त्यसरी अन्तिम संस्कार गर्नेहरूको लस्कर देखियो।"
बाढीले निम्त्याएको विपत्तिमा नेपालमा हालसम्म १,२५२ जनाको मृत्यु भएको र ४,२०० जनाभन्दा बढी अझै सम्पर्कविहीन रहेका राष्ट्रिय विपद् प्राधिकरणको तथ्याङ्क छ।
कुशकै अनुकृति किन?

तस्बिर स्रोत, Reuters
'धर्मसिन्धु' तथा 'निर्णयसिन्धु'लगायतका धर्मशास्त्रमा पलाँस वा कुशको शव बनाएर अन्तिम संस्कार गर्ने विधि उल्लेख गरिएको धर्मशास्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक देवमणि भट्टराई बताउँछन्।
"जुन मान्छेले आफ्नो मान्छे हातबाट फुत्किएको देख्छन्, (उदाहरणका निम्ति कतिपय घटना भिडिओमा देखिएका हुन सक्छन् वा कतिपयले श्रीमती छेउबाटै बगिन् तर बचाउन सकिएन भनिराखेका हुन्छन्) त्यस प्रकृतिले प्रत्यक्ष देखिएका हकमा प्रतीक्षाको आवश्यकता छैन," उनले भने।
"शव नभेटिएको, प्रतीक्षा गर्ने समय पनि नरहेको र दश दिनभित्रै गर्न सकिने अवस्था भए [काजकिरिया थालेमा] बाँकी रहेको दिन मात्रै जुठो हुन्छ। अर्थात्, दशौँ दिनदेखि तेह्रौँ दिनसम्म कर्म गर्न सकिन्छ।"
"प्रत्यक्ष देखिएको छैन तर मानौँ गाउँ नै बगाएको छ र केही पनि बाँकी नरहेको अवस्था छ भने त्यस्तोमा त्यहाँ जोजो थिए भन्ने विश्वास गरिन्छ, तिनका परिवारले पर्खिनुपर्ने छैन – कुशको बनाएर गर्दा हुन्छ।"
"जसलाई धरमर छ, उनीहरूले दशपन्ध्र दिन वा सरकारले गर्ने भनेको डीएनए परीक्षण नै पर्खन्छन् कि, त्योचाहिँ उनीहरूको व्यक्तिगत स्वतन्त्रताको कुरा हो," भट्टराईले भने, "त्यस्तोमा दाजुभाइ, बन्धुबान्धव, समाज र कतिपय बेला प्रशासनसँगको सहयोगमा पनि निर्णय लिन सकिन्छ।"
"कदाचित अहिले सम्पर्कविहीन भएकाहरू पछि फर्किएर आए भने पनि षोडश संस्कार र जन्मदेखिका सबै संस्कार गर्ने विधि पनि छ।"
अन्य समुदायका मान्यता

तस्बिर स्रोत, Chhewang Rigzin
अन्य विभिन्न धार्मिक समुदायमा पनि कतिपय सम्पर्कविहीन व्यक्तिको धार्मिक बिदाइ कार्य सुरु भइसकेको सम्बन्धित जानकारहरू बताउँछन्।
"कतिपय सम्पर्कविहीनका परिवारले धार्मिक विधि थालिसक्नुभएको छ, तर धेरैको घरसमेत प्रभावित भएकाले अन्योलमा छन्। हामीले सामूहिक आत्माशान्तिको कामना गरिरहेका छौँ," वर्ल्ड फोरम फर बुद्धिजमका अध्यक्ष आचार्य छेवाङ रिग्जिनले भने।
"हामी ४९ दिनसम्म मृतकको पुनर्जन्म हुँदैन भन्ने विश्वास गर्छौँ। यस्तोमा सातौँ, एक्काइसौँ र उनान्पचासौँ दिन महत्त्वपूर्ण हुन्छन्," उनले भने, "हामीले सातौँ दिनको कार्यक्रम गरिसकेका छौँ। एक्काइसौँ दिनमा काठमाण्डूको बौद्धमा र उनान्पचासौँ दिनमा रसुवामै गएर कार्यक्रम गर्छौँ।"
त्यस्तै, इसाई चर्चहरूको सङ्गठन 'चर्चेज फेलोशिप अफ नेपाल'का कोषाध्यक्ष वीरबहादुर तामाङले क्रिश्चिअन समाजमा सामान्यतया सम्पर्कविहीन अवस्थामा रहेकाहरूको "मृत्यु भएको आधिकारिक रूपमा प्रमाणित नभएसम्म उनीहरू भेटिऊन् भनेर कामना मात्रै गरिने" बताए।
"शव भेटिएमा वा सरकारले मृत घोषित गरेको अवस्थामा भने उहाँहरूको तस्बिर राखेर प्रार्थना तथा श्रद्धाञ्जली सभा गर्छौँ।"
मनोविज्ञान

तस्बिर स्रोत, RSS
कुशको प्रतिमा बनाएर विधि पुर्याउनु धार्मिक र आध्यात्मिक दुवै दृष्टिले महत्त्वपूर्ण हुने धर्मशास्त्री भट्टराई बताउँछन्।
"आफ्नो मान्छे अब छैन भन्ने भइसकेपछि काजक्रिया गरिदिँदा जानेलाई पनि सद्गति मिल्ने र आफूहरूलाई पनि कमसेकम केही राहत मिल्ने आधारमा त्यसो गरिने भएकाले घरपरिवारकालाई पनि शान्ति मिल्छ।"
मनोविद् अञ्जनकुमार ढकाल पनि त्यसरी विधि पुर्याएर प्रियजनको बिदाइ गर्दा परिवारजनलाई आत्मसन्तुष्टि मिल्ने बताउँछन्। "त्यसले गर्दा यसको धार्मिक र सांस्कृतिक महत्त्व एकापट्टि भयो भने मनोवेज्ञानिक महत्व पनि उत्तिकै छ।"
"धर्मअनुसार पितृकार्य भयो र बितेकाले शान्ति पाउने भए भन्ने हुँदा घरपरिवारसँगसँगै समुदायलाई नै राम्रो प्रभाव पार्छ।"
पर्साका सोनालालका भाइ पन्नालाल पण्डित यस्ता धार्मिक कार्यले एक हदसम्म मानसिक शान्ति दिने बताउँछन्। "मान्छे गएको पीडा त छँदै छ तर असामयिक र घरबाहिर हुने यस्ता घटनामा यस्ता कर्मको महत्त्व हुने सुन्दै आएका छौँ।"
त्यसो त सामाजिक सञ्जालमा कतिपयले बाढीमा परेर पितृकार्य गरिएको घटनामा परिवारले अनावश्यक हतार गरेको वा केही दिन पनि कुर्न नसकेको भन्दै टिप्पणी गर्ने गरेको पाइन्छ।
तर मानिसहरूले नबुझेर त्यस्ता टिप्पणी गर्ने गरेका जानकारहरूको भनाइ छ।
"त्यसो गरिरहेका मानिसहरू हतारिएका होइनन्। दश दिनभित्र गरिएन भने थप १३ दिनसम्म त्यो पीडा सहनुपर्छ," धर्मशास्त्री भट्टराई भन्छन्, "आफ्ना मान्छे छैनन् भन्ने कुरामा विश्वास गर्नेहरूले चाहिँ १० दिनभित्रै गर्नु उचित हुन्छ।"
पशुपति क्षेत्र विकास कोषका भाटका अनुसार कोषले बाढीमा परी बेपत्ता भएकाहरूको अन्तिम संस्कार निःशुल्क गर्ने व्यवस्था गरेको छ।
"बाढीपीडितको सिफारिस लिएर आउनेलाई क्रियापुत्री भवनको शुल्क पनि मिनाहा गरिएको छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















