ट्रुम्यानको पेन्सनदेखि ट्रम्पको अर्बौँसम्म – यसअघि कुनै राष्ट्रपतिले नगरेको कमाइ

    • Author, ड्यानिएल बुश
    • Role, वाशिङ्टन संवाददाता
  • Published
  • पढ्ने समय: ४ मिनेट

ह्यारी ट्रुम्यानले राष्ट्रपति कार्यकाल सिध्याएर ह्वाइट हाउस छाड्दा उनीसँग सैनिक सेवा निवृत्तिपछि आइरहेको मासिक ११३ डलरको पेन्सनबाहेक अन्य आय थिएन। अमेरिकाका ३३औँ राष्ट्रपति उनले पछि लेखेका थिए – "राष्ट्रपतिको कार्यालयको प्रतिष्ठा र गरिमालाई व्यापारिकरण गर्नु" गलत हो।

जर्ज डब्लु बुशले उनको व्यक्तिगत लगानीलाई राष्ट्रपति पद सम्हाल्नु अघि नै 'ब्लाइन्ड ट्रस्ट' मा राखेका थिए। आफ्नो कार्यकालको अन्तिम दिन बोल्ने क्रममा उनले सन् २००८ को आर्थिक सङ्कटले आफ्नो सम्पत्तिमा कस्तो असर पर्‍यो भन्ने कुनै जानकारी नभएको बताएका थिए।

तर अहिले भने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष क्रिप्टो कारोबारबाट करिब १.४ अर्ब डलर वा करिब २ खर्ब रुपैयाँ आर्जन गरेको उनले अनिवार्य रूपमा बुझाउनु पर्ने वित्तीय विवरणमा उल्लेख छ।

"यसको कुनै नजिर नै छैन," युनिभर्सिटी अफ भर्जिनियाको मिलर सेन्टरको राष्ट्रपतिय इतिहासविद् बार्बरा पेरीले बताइन्। "हामीले राष्ट्रपतिय इतिहासमा पहिले कहिल्यै देखेको भन्दा यो भिन्न छ।"

९२७ पृष्ठको उक्त विवरणमा उनले सेलेब्रेसन कोइन्स नामक संस्थाबाट ६३ करोड ५० लाख डलर रोयल्टी पाएको उल्लेख छ। उक्त संस्थाअन्तर्गत $TRUMP मिम कोइन रहेको बताइन्छ जसलाई ट्रम्पले राष्ट्रपतीय कार्यभार सम्हाल्नु ठिक अगाडि सुरु गरेका थिए र जसको मूल्यमा हाल गिरावट देखिएको छ।

साथै उनले उनका छोराहरू तथा उनका विशेष दूत स्टिभ विटकफका सन्तानहरू मिलेर खोलेको क्रिप्टोकरेन्सी फर्म वर्ल्ड लिबर्टी इन्टर्न्याशनलबाट समेत ५० करोड डलरको आम्दानी गरेको उल्लेख छ।

पदबाट नाफा आर्जन नभएको दाबी

ह्वाइट हाउसले उनले 'राष्ट्रपतिको पदका कारण नाफा आर्जन नगरेको' दाबी गरेको छ।

ट्रम्पले चाहिँ 'सबैजनाले' स्टक बजारको वृद्धिबाट नाफा गरिरहेको भन्दै आफ्ना निजी कारोबारमा आफू संलग्न नरहेको जबाफ दिएका छन्।

उक्त वित्तीय विवरणअनुसार क्रिप्टो कारोबारसँग सम्बन्धित उनको कुल आर्जन १ अर्ब ४३० करोड डलरभन्दा धेरै छ जुन २ खर्ब १७ अर्ब रुपैयाँभन्दा धेरै हुन आउँछ।

यसबीच गत वर्ष ट्रम्पको कुल आम्दानी २.२ अर्ब डलर (३ खर्ब ३४ अर्ब रुपैयाँ)भन्दा धेरै पुगेको छ जबकी त्योभन्दा अघिल्लो वर्ष उनको आम्दानी केवल ६० करोड डलर (९१ अर्ब रुपैयाँ) देखिएको थियो।

उनको व्यापारिक कारोबार छोराहरूद्वारा सञ्चालित ट्रस्टमार्फत् गरिने गरिएको ह्वाइट हाउसले बारम्बार भन्दै आएको छ। त्यसबाट कुनै किसिमको 'स्वार्थको द्वन्द्व' नहुने उसले जनाएको छ।

ह्वाइट हाउसकी डेपुटी प्रेस सेक्रेटरी एना केलीले राष्ट्रपति ट्रम्पले अमेरिकालाई गर्वका साथ "विश्वको क्रिप्टो राजधानी" बनाएको बताइन्।

"न राष्ट्रपति न उनको परिवार कहिले कुनै स्वार्थको द्वन्द्वमा संलग्न छैनन् र हुने पनि छैनन्," उनले एक वक्तव्यमा भनेकी छन्।

उनले भनिन् – "राष्ट्रपति ट्रम्प र उनको प्रशासनको सबै कार्य अमेरिकी जनताको उत्तम हितमा समर्पित छन्। तथाकथित 'रिपोर्टर'हरूले दिएका अन्यथा विवरण उही पुराना, गलत विवरणको पुनर्प्रकाशन हो जुन डेमोक्र्याट तथा पुराना लिगेसी मिडियाले एक दशकदेखि दिँदै आएका छन्।"

राष्ट्रपति स्वयंले उनलाई स्वार्थको द्वन्द्वसम्बन्धी सङ्घीय कानुन नलाग्ने भन्दै आएका छन्।

बुधवार पत्रकारहरूलाई ट्रम्पले भने: "तपाईँहरूलाई थाहा छ किन मैले नाफा गरिरहेको छु किनभने स्टक मार्केट बढिरहेको छ र सबैजनाले नाफा कमाइरहेका छन्।"

आफूले राष्ट्रपति हुनु अगावै धेरै कमाएको र ती पैसा ट्रस्टमार्फत् लगानी गरिएको जसको बारे आफूले सोधखोज गर्ने नगरेको उनले बताएका थिए।

कुनै समय थिए क्रिप्टोका आलोचक

कुनै समय ट्रम्पले क्रिप्टोकरेन्सीलाई आलोचना गर्थे। सन् २०२१ मा बिटकोइनलाई उनले 'स्क्याम'को संज्ञा दिँदै त्यसले विनाश निम्त्याउने सम्म भनेका थिए।

तर तीन वर्षपछि राष्ट्रपति निर्वाचनको अभियानमा उनले अमेरिकालाई "विश्वकै क्रिप्टो राजधानी" बनाउने घोषणा गरे।

दोस्रोपल्ट राष्ट्रपति निर्वाचित भएर आएपछि उनले लिएका सुरुवाती निर्णयहरूमा क्रिप्टो उद्योगको 'जिम्मेवार वृद्धिलाई समर्थन' गर्नेका निम्ति कार्यकारी आदेश जारी गर्नु पनि थियो।

राष्ट्रपति जर्ज डब्लु बुशका पालाका ह्वाइट हाउसको नैतिकतासम्बन्धी वकिल रिचर्ड पेन्टरले ट्रम्पले क्रिप्टोबाट १ अर्ब डलरभन्दा धेरै आर्जन गर्नुलाई 'असाधारण' भएको बीबीसीलाई बताए।

"निश्चित् रूपमा यो त स्वार्थको द्वन्द्व हो," उनले भने।

पछिल्लो वित्तीय विवरणमा ट्रम्पले उनको परम्परागत व्यवसाय 'घरजग्गा'भन्दा क्रिप्टोबाट निकै धेरै कमाएको देखिन्छ।

उनले मार-अ-लागो क्लबबाट ७ करोड ७० लाख डलर अनि फ्लोरिडाको डोरलस्थित गल्फ क्लबबाट १२ करोड २० लाख डलर कमाएको देखिन्छ। साथै ट्रम्प ब्र्यान्डका घडीलगायत बाइबल, गितार तथा अत्तरबाट उनले ४७ लाख डलर कमाएको देखिन्छ।

रेमन्ड जेम्स वेल्थ म्यानेजमेन्टका निर्देशक विल वाकर-आर्नट भन्छन्: "पैसा कमाउने सन्दर्भमा उनको शैली विगतका राष्ट्रपतिहरूभन्दा एकदम भिन्न छ।"

"जिमी कार्टरले उनको बदाम खेतीलाई 'ब्लाइन्ड ट्रस्ट 'मा राखिदिएका थिए भने जर्ज डब्लु बुशले राष्ट्रपति बन्नु अगाडि टेक्सस रेन्जर्समा रहेको आफ्नो लगानी विक्री गरेका थिए। तर ट्रम्प अर्कै तरिकाले काम गर्छन् र उनले परिवारको क्रिप्टो कम्पनीबाट निकै कमाइरहेको देखिन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।