विद्युत् उत्पादन 'निरन्तर बढ्दा' पनि किन अझै हुन्छ एलपी ग्यासको 'हाहाकार'

तस्बिर स्रोत, Nepal Photo Library
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
नेपालमा खाना पकाउने ग्यास (एलपीजी)को अभाव भइरहेको भन्ने विवरणमाझ उपभोक्ता, व्यवसायी र सरकारले त्यसको दोष एकअर्कामाथि लगाइरहेको पाइन्छ।
सरकारले विगत केही वर्षयता घरघरमा बिजुलीको खपत पनि बढाउन भनिरहेको छ। तर के देशमा यस्तो बेला विकल्पका रूपमा ढुक्क भएर बिजुलीका चुलो प्रयोग गर्ने अवस्था छैन?
"ढुक्क नै भएर चलाउने अवस्था हो," ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देव भन्छन्। "तर हाम्रो विद्युत् वितरण प्रणाली सुधारको क्रममा छ। त्यसैले केही समय शतप्रतिशत भर पर्ने अवस्था आउन समस्या हुन सक्छ।"
यद्यपि विद्युत् उपलब्धताका हिसाबले बाह्रै महिना भान्छाका लागि ढुक्क हुन सक्ने अवस्था रहेको प्रवक्ता देव बताउँछन्।
"सुक्खा याममा केही अभाव त हुन्छ नै। तर त्यसलाई भारतबाट बिजुली किनेर ऊर्जा सङ्कटको खाडल पुरिरहेका छौँ," मन्त्रालयका प्रवक्ता देवले भने।
किन एलपी ग्यासकै भर?
नेपालमा खाना पकाउने ग्यासको मासिक औसत माग ४८-४९ हजार मेट्रिक टन रहेको बताइन्छ।
"सोही दरमा ग्यास आउँदा पनि अहिले अभाव हुनु नपर्ने हो। तर एउटा परिवारले कतिसम्म सिलिन्डर लिन सक्ने भन्ने हाम्रोमा कुनै व्यवस्था छैन। त्यसैले मध्यपूर्वको तनाव अझै नसकिएको अवस्थामा आउन लागेका चाडपर्व र जाडो यामसम्मकै हिसाबले ग्यास सिलिन्डर [उपभोक्ताले] थुपारेको देखिन्छ," ग्यास बिक्रेता महासङ्घका महासचिव विनोद काफ्ले भन्छन्।
"सरकारले [बिजुलीबाट चल्ने] इन्डक्शन/इन्फ्रारेड चुलो प्रयोग गर्न भनेर जोडबल गरिरहे पनि ग्यासको खपत दर खासै उल्लेख्य रूपमा घटेको छैन।"
मुख्य रूपमा भरपर्दो बिजुली प्रवाह हुन नसक्नु नै उपभोक्ताहरू एलपी ग्यासमा भर पर्नुपर्ने मुख्य कारण रहेको जानकारहरू बताउँछन्।
मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देव समस्या रहेको कुरा स्वीकारे तापनि त्यो नियमित प्रयोगकै लागि हच्किनुपर्ने खालको नभएको बताउँछन्।
"प्राविधिक पक्षबाट कहिलेकाहीँ बिजुली जाने अवस्था त हामी सबैले अनुभव गरिरहेकै छौँ। त्यसलाई कसरी विश्वसनीय बनाउने र गुणस्तरीय विद्युत् प्रवाह गर्नेमा हाम्रो ध्यान केन्द्रित छ," देवको भनाइ छ।

तस्बिर स्रोत, EPA/Shutterstock
ऊर्जाविज्ञ सुरेशबहादुर भट्टराई भने उपभोक्ताहरू ऊर्जा खपतको परम्परागत दिनचर्याबाट निस्कन नसकिरहेको ठान्छन्।
"तर के सबै नेपालीको घरमा इन्डक्शन चुलो बाल्न पुग्ने क्षमताका तार जडान गरिएका छन् त भन्ने कुरा पनि यतिखेर हामीले सोच्न आवश्यक छ," लामो समय नेपाल विद्युत् प्राधिकरणको भारप्रेषण केन्द्रमा काम गरेका भट्टराई भन्छन्।
"अन्यथा यतिखेर राज्यको उद्देश्य नै गार्हस्थ्य खपत बढाउने भन्ने छ। चुलो मात्र नभएर विद्युतीय गाडीहरूदेखि घरमा एसी, फ्रिजलगायतका विद्युतीय उपकरणको खपत बढोस् नै भन्ने सरकारको सोच रहेको पाइन्छ।"
ग्यास विक्रेता महासङ्घका विनोद काफ्लेसमेत नेपाली भान्छाहरू अझै विद्युतीय चुलोअनुकूल हुन नसक्दा उपभोक्ताले त्यसलाई एलपी ग्यासको विकल्प नमानिरहेको ठान्छन्।
"सरकारकै विवरणमा पनि वार्षिक एक प्रतिशत हाराहारीमा मात्र ग्यासको खपत घटेको देखिन्छ। त्यसको एउटा कारण उपभोक्ताहरू भान्छाका भाँडाकुँडा नै फेर्न सहज मानिरहेका छैनन्," काफ्ले भन्छन्।
"बिजुली प्रयोगबाट पैसाको राम्रो बचत हुन सक्छ भन्ने पनि उनीहरूलाई महसुस हुन सकेको देखिन्न।"
उत्पादनको अस्थिरता

तस्बिर स्रोत, Reuters
नेपालको विद्युत् प्रणालीमा जलविद्युत् र केही सौर्य ऊर्जा जोडिन्छ। नेपाललाई 'लोडशेडिङ'मुक्त घोषणा गरिएसँगै पेट्रोलियम पदार्थबाट चल्ने थर्मल प्लान्ट भने हाल प्रयोगमा छैन।
सौर्य ऊर्जाबाट करिब १५० मेगावाट विद्युत् उत्पादन हुने गरेको मन्त्रालयको विवरण छ।
नेपाल विद्युत् प्राधिकरणको विवरणअनुसार नेपालमा दैनिक उच्च माग २,४०० मेगावाट नाघेको अवस्था छ।
देशको कुल जडान क्षमता करिब ४,२०० मेगावाट पुगेको बताइन्छ। अर्थात् सबै विद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्दा त्यति विद्युत् उत्पादन हुने अधिकारीहरूको भनाइ छ।
तर बर्खामा चार महिना जति मात्र पूर्ण क्षमतामा बिजुली उत्पादन हुने गरेको ऊर्जा उत्पादक तथा अधिकारीहरू बताउँछन्।
मन्त्रालयले अर्को आर्थिक वर्षसम्ममा जलविद्युत् र सौर्य ऊर्जा गरेर थप १,००० मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिने र त्यसक्रममा कुल सौर्य ऊर्जा मात्रै ५०० मेगावाट पुग्ने जनाएको छ।
"अबका वर्षमा विद्युत् उत्पादन बढ्ने क्रम रहिरहन्छ। तर अहिले ग्यासको सङ्कट हुँदा हामी इन्डक्शनमा जान सकेनौँ भने भोलिका दिनमा डीजल/पेट्रोल अभाव हुँदा समेत हामी आफूलाई त्यस परिस्थितिअनुकूल गराउन नसक्ने हुन सक्छौँ," विज्ञ सुरेशबहादुर भट्टराईले भने।
"बिजुलीको उपभोग बढे देशको विदेशी मुद्राको बचत त गराउँछ नै। त्यससँगै देश जस्तोसुकै अन्तर्राष्ट्रिय घटनाक्रममाझ पनि ऊर्जामा आत्मनिर्भर बन्छ।"
हिउँदमा क्षमताको एकतिहाइजति मात्रै बिजुली उत्पादन हुने गरेको छ। त्यसका कारण सुक्खा याममा स्वदेशमा उत्पादन हुने बिजुलीले नपुग्ने र बर्खामा खेर जाने परिस्थिति रहेको बताइन्छ।
"उत्पादनको यही क्रम रहिरहे अबको दुईचार वर्षमै सुक्खा याममै पनि हामी आत्मनिर्भर हुन्छौँ। तर त्यसअनुसार हाम्रो आन्तरिक खपत बढिरहेको छैन," भट्टराई भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















