गल्छी-नारायणगढ सडक खण्डमा नदीको दुवैतिर सडक बनाउन 'आवश्यक देखियो'

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

तराईलाई सङ्घीय राजधानीसँग जोड्ने 'लाइफ लाइन' मार्गमा बारम्बार विपद्को सामना गरिरहँदा अब नारायणी र त्रिशूली नदीका दुवैपट्टिबाट सडक सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरेर त्यसबारे कुराकानी अघि बढाइएको अधिकारीहरूले बताएका छन्।

सडक विभागका प्रवक्ताले त्यसबारेको आफ्नो धारणा र प्रस्ताव लिखित रूपमै विपद्पछिको पुनरुत्थान र पुनर्निर्माणको खाका बनाउन लागिपरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको बीबीसीलाई बताएका छन्।

"तत्काललाई कृष्णभीरको पारिपट्टि लक्षित गरेर काम सुरु नै गरिसकेका छौँ। तर गल्छीदेखि नारायणगढसम्मै [अहिले सडक भएभन्दा] पारिपट्टि पनि पूरै सडक बनाउने कि भनेर अध्ययनको काम भइरहेको छ," विभागका प्रवक्ता शुभराज न्यौपाने भन्छन्।

"यो पुरानै कुरा हो। बीचमा केही सुस्ताएको थियो। अहिले यो जल्दो बल्दो मुद्दा बनेको छ।"

काठमाण्डू र तराई जोडिने एउटा मुख्य सडकका रूपमा पृथ्वी राजमार्गको नौबिसे-मुग्लिङ खण्डले करिब एक महिनाकै अन्तरालमा दुई ठूला विपद् खेपेको थियो।

त्यसबाहेक मुग्लिङ-नारायणगढ खण्ड समेत स्तरोन्नतिपछि पनि बारम्बार कहिले लेदोसहितको त कहिले सुक्खा पहिरो एवं ढुङ्गा खस्ने अवस्थाले जोखिमयुक्त बनिराखेको बताइन्छ।

एकजना भूगर्भशास्त्रीले मुख्य सडकको विकल्प तयार हुने कामले स्वाभाविक रूपमा फाइदा गर्ने भए तापनि उही भू बनोटमा त्यो बन्ने भएकाले त्यसमा हालको सडकमा गरिएका गल्ती दोहोर्‍याउन नहुने बताउँछन्।

त्रिभुवन विश्वविद्यालयका भूगर्भ शास्त्रका प्राध्यापक रञ्जनकुमार दाहाल भन्छन्: "जेसुकै गरे पनि त्यहाँ पनि धेरै पहिरो जाने ठाउँहरू छन्। अब हामीले परम्परागत रूपबाट ठाडा भित्तो काट्ने, कैयौँ 'ब्लाइन्ड' घुम्तीहरू राख्नेजस्ता काम मात्र नगरेर छोटाछोटा सुरुङहरू बनाउने, हाफ ब्रीजहरू राख्नेजस्ता उपाय अपनाउँदा त्यो दिगो बन्न सक्छ।"

चीनसँग कुराकानी

एकातर्फ भदौ १० को भोटेकोशी-त्रिशुली बाढी र अर्कोतर्फ असोज दोस्रो साता बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालमा भएको कैयौँ दिनको लगातार वर्षाले उक्त सडकलाई धेरैतिर खलबल्याएको बताइन्छ।

नागढुङ्गादेखि पोखरासम्मको १७४ किलोमिटर पृथ्वी राजमार्ग चीन सरकारको सहयोगमा सन् १९६७ मा सुरु भएर सन् १९७४ मा सम्पन्न भएको हो।

मुग्लिङभन्दा केही अगाडिबाट पोखरासम्म हालै स्तरोन्नति सम्पन्न भए तापनि त्यहाँबाट काठमाण्डूसम्ममा स्तरोन्नतिको काम जारी छ। तर त्यहाँ बारम्बार समस्या आउने गरेको छ।

त्यसको ताजा मूल्याङ्कन र सुधारका लागि चीन सरकारसँगै समेत कुराकानी अघि बढाइएका विवरणहरू आएका छन्।

तर सडक विभागका प्रवक्ता न्यौपानेले कुनै सम्झौता वा सहमति भने भई नसकेको बताउँछन्।

उनी भन्छन्: "मन्त्रीज्यू र सचिवज्यू लगायतबाट विपद्पछि कूटनीतिज्ञहरूसँग नियमित संवाद भइरहेका छन्। त्यस क्रममा वहाँहरूको कुरा भएको हो। तर त्यस विषयमा यसो उसो गर्ने भनेर केही भइसकेको छैन।"

पृथ्वी राजमार्ग र महेन्द्र राजमार्ग जोडिने मुग्लिङ-नारायणगढबीचको ३५ किलोमिटर खण्डमा स्तरोन्नति सम्पन्न भइसके तापनि बारम्बार पहिरोले अवरोध र घातक दुर्घटना निम्त्याउने गरेको पाइन्छ।

भूगर्भशास्त्री दाहालले नदीको अर्कोतिरबाट बनाउन खोजिएको बाटो "फास्ट ट्र्याकभन्दा केही कम तर परम्परागत शैलीभन्दा माथिल्लो तह"को हुनुपर्ने सुझाउँछन्।

"चिनियाँ सहयोग लिने विषयमा उनीहरूको निर्माण प्रविधि र त्यसबारेको सोच धेरै माथिल्लो तहको छ। जसलाई हुबहु यहाँ कार्यान्वयन गर्न कठिन छ। हाम्रो सीमित स्रोतले भ्याउने गरी उनीहरूको प्रविधिलाई हामी अनुकूल हुनेगरी प्रयोग गर्न सकिन्छ," दाहाल भन्छन्।

"अन्यथा उनीहरूको डिजाइन जटिल हुन सक्छ। त्यसमा महँगा मशिनरी पनि चाहिन्छ। छिटो काम सक्नेगरी नेपाली जनशक्तिले नै भ्याउन सक्ने काम हो यो।"

'गम्भीर पुनर्मुल्याङ्कन' आवश्यक

भूगर्भशास्त्री प्राध्यापक रञ्जन कुमार दाहाल भोटेकोशी-त्रिशूली बाढीको मार खेपेको पृष्ठभूमिमा यस सडक खण्डमा 'कुनै द्विविधा नपालेर गम्भीर पुनर्मुल्याङ्कन' गर्न आवश्यक रहेको बताउँछन्।

उनी भन्छन्: "हरेक खण्डहरूलाई त्यहाँ परेको समस्याहरू केलाउँदै पुनर्मुल्याङ्कन गरेर अन्य काम गर्न ढिलो गर्नु हुँदैन।"

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले केही प्रारम्भिक मूल्याङ्कनका काम आफूहरूले सुरु गरेको भए पनि अहिले मुख्य ध्यान अवरुद्ध सडक खुलाउनेमा केन्द्रित भएको बताए।

"हाम्रो तहबाट मूल्याङ्कनका कामहरू भइरहेका छन्। तर रोकथामका उपाय चाल्नका लागि थप मूल्याङ्कनका काम आवश्यक पर्छन्," न्यौपाने भन्छन्।

मलेखु र मुग्लिङबीचमा पर्ने कृष्णभीरको पहिरोलाई कैयौँ वर्ष लगाएर स्थिर पारिएको थियो।

तर त्यहाँ बनाइएको यसअघिको बाटो तलपट्टिबाटै नदीको कटानमा परेर भासिएपछि 'विज्ञहरूका चेतावनीकै बीच' पहिरोतर्फको भित्तो काटेर बनाइएको ट्र्याक समेत लगत्तै वर्षाको मारमा परेको थियो।

यद्यपि अधिकारीहरूले अस्थायी उपाय बताएको पहिरो बीचकै ट्र्याकबाट बाटो खुलाइसकिएको अवस्था छ।

अधिकारीहरूले आउँदो बर्खा अगावै उक्त पहिरोको फेदबाट पर्खाल उठाएर पहिलेकै स्वरूपमा ल्याउने काम हुने तर त्यस बीचमा अन्य विकल्पहरूमा समेत काम हुने बताएका छन्।

"तत्काललाई कृष्णभीरको अगाडिपट्टिबाट फिस्लिङबाट बेनिघाटसम्म जाने करिब २० किलोमिटर लामो बाटोमा साढे एक किलोमिटर जति बाँकी ट्र्याक खोल्ने कामलाई अगाडि बढाइएको छ। बाँकी खुलिसकेको ट्र्याकलाई पनि हामी फराकिलो बनाउँदै जान्छौँ," हालै सडक विभागका महानिर्देशक विजय जैसीले बीबीसीलाई भनेका थिए।

"कृष्णभीरबाटै सुरुङ बनाउने वा अगाडि बाइपास पुल बनाउनेबारे पनि हामीले सोचिरहेका छौँ।"

सोही सडक खण्डका अन्य विभिन्न ठाउँमा पहिरो जाने र सडक भासिने अवस्थासँग बारम्बार जुझ्दै आइरहेको सडक विभागका अधिकारीहरूले बताएका छन्।

मुख्य समस्या: 'फेरिएको त्रिशूलीको धार'

सडक विभागका अनुसार उक्त सडक खण्डमा यतिखेर त्रिशूली नदीको सडकपट्टि पर्ने गरी फेरिएको धार मुख्य समस्याको रूपमा देखा परेको छ।

"पहिले बीचतिरबाट बग्ने नदी यतिखेर सडक पट्टी पर्दा त्यसले तलपट्टिबाट कटान गरिरहेको अवस्था छ। यो रसुवागढीदेखि नारायणगढसम्मै रहेको मुख्य समस्या हो," विभागका प्रवक्ता न्यौपाने भन्छन्।

"सडक माथिपट्टि समेत भीरहरू अस्थिर हुने क्रम धेरै ठाउँमा बढेर गएको देखिन्छ। त्यसको एउटा कारण फेरिएको बर्खाको प्रवृत्ति छ भने त्यसबाहेक स्थानीय सडक पूर्वाधार बनाउँदा बेवास्ता गरिएका वातावरणीय पाटो पनि छन्। तिनमा राम्रोसँग पानीको व्यवस्थापन भएको देखिँदैन।"

अधिकारीहरूले बुधवारबाट भारी सवारी चल्न सक्नेगरी मुग्लिङ-काठमाण्डू खण्डमा कुनै अवरोध नभएको बताएका छन्।

तर धारापानी, फिस्लिङ र जवाङ खोलामा सडकको छेऊतर्फ जमिन भासिएको जोखिमयुक्त अवस्था रहेको बताइन्छ।

अधिकारीहरूले कृष्णभीर, धारापानी, फिस्लिङ, घोप्टेभीर, सिमलधारा, हुग्दी देखि जवाङ खोला भएर यात्रा गर्दा ढुङ्गा झर्न सक्ने सम्भावित जोखिमको ध्यान दिन सार्वजनिक सूचना जारी गर्दै आएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।