भोटेकोशी त्रिशूली बाढी: विद्यालय खुलेपछि पलाएको आशा

    • Author, शक्तिमाया तामाङ
    • Role, नुवाकोट
  • Published
  • पढ्ने समय: ३ मिनेट

भोटेकोशी त्रिशूलीमा आएको विनाशकारी बाढीका कारण केही समय बन्द रहेका विद्यालयहरू खुल्न थालेसँगै आफूहरूलाई राहतको महसुस भएको बाढी प्रभावित विद्यार्थीहरूले बताएका छन्।

विद्यालयका अधिकारीहरूले विद्यालय सञ्चालनमा ल्याएको र विद्यार्थीहरूलाई सामान्य अवस्थामा फर्काउने उद्देश्यले पाठ्यक्रमभन्दा अन्य क्रियाकलापहरूमा जोड दिइएको बताएका छन्।

विनाशकारी बाढीले नुवाकोटमा छ विद्यालय पूर्ण क्षति भएको र तीन वटामा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ ।

विदुर नगरपालिका देविघाटस्थित सहिद जगत् प्रकाश जङ्ग शाह संस्कृत माध्यमिक विद्यालय असोज १ गतेबाट सञ्चालनमा आएको छ।

विद्यार्थीहरूलाई विभिन्न खेलहरू खेलाउने र मनोपरामर्श लगायतका कार्यहरू गराउँदै आएको प्रधानाध्यापक मञ्जु चित्रकारले बताइन्।

त्रिशूली खोला नजिकै अवस्थित यो विद्यालयमा करिब ८ सय जना विद्यार्थीहरू रहेको प्रधानाध्यापक चित्रकार बताउँछिन्।

उनका अनुसार विद्यालयमा इसीडीदेखि १० कक्षा सम्मको पठनपाठन हुन्छ र कक्षा ६ देखि १० सम्म संस्कृत पनि अध्यापन गरिन्छ।

चित्रकार भन्छिन्, "विद्यालय खुलेको पहिलो दिन कतिपय विद्यार्थीहरू बाटो, पुलको अभावले वा डरको कारणले सहभागी हुन सकेनन्। अहिले विभिन्न गतिविधि गरेर विद्यार्थीको मनोबल उकास्न ध्यान दिएका छौँ। पुलपारिका विद्यार्थीलाई तुइनबाट ल्याएर विद्यालयमा नै आवासीय सुविधा दिएर उनीहरूको पठनपाठनलाई निरन्तरता दिइरहेका छौँ।"

बाढीले घर बगाएपछि होल्डिङ सेन्टर र आफन्तकोमा बस्दै आएका आफूहरूलाई विद्यालय खुल्दा समय बिताउन सहज हुनुका साथै शिक्षक र सार्थीहरूसँगको कुराकानीले पहिलाभन्दा डर कम भएको त्यसै विद्यालयमा अध्ययनरत छात्र विराज चित्रकारले बताए।

बाढी आएको दिन फुटसल खेल्न गएका उनको विद्यालय पोसाक, किताबहरू घरसँगै बाढीले बगायो। विराजलाई विद्यालय खोला नजिक रहेकाले फेरि ठुलो बाढी आएर अन्यत्रको जस्तै आफूहरूको विद्यालय पनि बगाउने हो कि भन्ने डरले सताइरहन्छ।

उनले भने, " बाढीपछि स्कूल बन्द हुँदा धेरै गाह्रो भयो। साथीहरू भेट हुँदैनथ्यो, आफ्नो मात्र सबै लग्यो जस्तो लाग्थ्यो । साथीहरूसँग भेटेर शेअर गर्दा मन हलुका भयो। स्कूलमा खेलहरू खेलाउनुभयो, बाढीको घटनाहरू भुलाउन खोजिन्छ, मेडिटेसन गराइन्छ। शिक्षक शिक्षिकाहरूले हाम्रो धेरै ख्याल राख्नुहुन्छ।"

बाढीले आफू जन्मेको घर सँगै आफ्नो बालापनको धेरै यादहरू बगाएको छात्रा प्रकृति चित्रकार बताउँछिन्।

उनले भनिन्, "स्कूल आउँदा पिडा बिर्सिइन्छ तर स्कुल छुट्टी भएर घर जाने बेला ठ्याक्कै सम्झिन्छु कि मेरो त बाढीले घर लग्यो। मन फेरि बेस्सरी पोल्छ। पहिलाको जस्तो अहिले केही छैन। घरको मात्र याद आउँछ। मेरो घर भएको भए म स्कूलबाट फर्केपछि के गर्थेँ होला भन्ने लाग्छ। म यस्तो गर्छु भनेर कति सामान राखेकी थिएँ त्यो केही बाँकी छैन। अब के गर्ने होला भनेर यतिकै रुन मन लाग्छ।"

बाढीले घरबार गुमाउँदाको पीडासँगै बालबालिकाको भविष्य र पठनपाठनको चिन्ताले सताउने गरेकोमा अहिले विद्यालय खुल्दा राहत महसुस गर्छिन् अभिभावक रञ्जना श्रेष्ठ।

उनका अनुसार जेठो छोरा कक्षा नौ मा र कान्छो छोरा यसै वर्ष विद्यालय सुरु गरेका हुन् । उनी भन्छिन् बच्चाहरूमा डराउने आत्तिने समस्या छ।

"समाचारहरू हेरिरहन्छ फेरि बाढी आउँछ रे भन्छ कुन दिन आउने होला बरु अहिले नै आइदिए ढुक्क हुन्थ्यो नि भन्छ उनीहरू। कक्षाकोठाको झ्यालबाट यसो हेर्‍यो भने पनि खोला देखिइहाल्छ अनि फेरि पनि बाढी आउँछ कि भन्ने डर लाग्छ भन्छन् बच्चाहरू।"

लामो समयपछि विद्यालय आउन पाउँदा केही राहत महसुस भए पनि बालबालिकाहरूमा बाढीको मानसिक आघात गहिरो रहेको र पहिलेको अवस्थामा ल्याउन अझै केही समय लाग्ने जानकारहरू बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।