तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के नेपालमा सांसदका भाषा र पोसाक 'असंसदीय' हुँदै गएका हुन्?
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले काठमाण्डूमा मङ्गलवार एउटा कार्यक्रमका क्रममा सांसदहरूका भाषा र पोसाक "मर्यादित" हुनुपर्ने बताइन्।
पछिल्लो समय संसद्को गुणस्तर खस्किँदै गएको भनी सुनिन थालेको पनि उनले सुनाइन्।
पूर्वसांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले भाषादेखि पोसाकसम्मका विषयमा सांसदहरू आफैँ अनुशासित हुनुपर्ने बीबीसीलाई प्रतिक्रिया दिए।
सांसदहरूका लागि लागु भएको नियमावलीले पोसाकको हकमा मर्यादित भनी उल्लेख गरे पनि तोकेर फलानो नै पोसाक भनेर किटान नगरेको सङ्घीय संसद् सचिवालयका प्रवक्ताले बीबीसीलाई बताए।
कहिलेकाहीँ सांसदले अशिष्ट वा असंसदीय भाषा प्रयोग गरेको खण्डमा सभामुखले रेकर्डबाट हटाउन लगाउने अभ्यास रहिआएको छ।
मन्त्रीले के भनिन्?
नेपालको ६८औँ संसद् दिवसका अवसरमा आयोजित कार्यक्रममा आफ्नो सम्बोधनका क्रममा कानुनमन्त्री गौतमले पछिल्ला वर्षमा संसद्प्रति सुनिने गरेको गुनासोबारे चर्चा गरिन्।
"…पहिलाको संसद्भन्दा अहिलेको संसद्को गुणस्तर त कति धेरै खस्किँदो अवस्थामा छ भन्ने सुनिन्छ। किन खस्किँदै छ भन्ने कुराको हामी आफूले मनन गरौँ," मन्त्री गौतमले भनिन्।
"हामीले संसद्मा बोल्ने भाषा, हामीले उच्चारण गर्ने शब्दहरू, हामी संसद्मा आउँदा लगाएर आउने कपडादेखि लिएर धेरै कुरामा हामी मर्यादित हुनुपर्छ।"
"हामीले संसद्को मान राख्छौँ भनेदेखि त्यो मर्यादा हामीले नै राखेर आयौँ भने संसद् मर्यादित छ र संसद्को गरिमा उच्च छ भन्ने कुरा त्यसले पुस्ट्याइँ गर्छ।"
'स्वयं अनुशासित हुनुपर्यो'
प्रतिनिधिसभा बैठकका क्रममा कतिपय सांसदको भाषालाई लिएर अरू सांसदले आपत्ति जनाएका कैयौँ उदाहरण छन्।
अनि सांसदले लगाएका लुगाबारे सार्वजनिक वृत्तमा बेलाबखत टीकाटिप्पणी नहुने गरेको पनि होइन।
हालै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम वाचन गरेको दिन प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले कालो पाइन्ट र कालो टीशर्टमाथि कालो कोट लगाएका थिए।
कतिपयले संसद्मा अधिकांश सांसदले जस्तो दौरासुरुवाल नलगाएर गएकोमा सार्वजिक रूपमा प्रश्न गरे।
पूर्वसांसद मञ्चका अध्यक्ष श्रेष्ठ अनुशासन कसैले लाद्ने कुरा नभई आफैँले पालना गर्नुपर्ने कुरा भएको तर्क गर्छन्।
खास गरी पोसाकको मामिलामा प्रधानमन्त्री नै "गम्भीर नदेखिएको" उनको ठम्याइ छ।
"प्रधानमन्त्रीकै भाषा र पोसाक हेर्नूस् न। त्यो हेरेपछि भैगो नि। उहाँहरूले आफ्नै सांसदलाई अनुशासित बनाउन सक्नुभएन। कमसेकम संसद्भित्र दौरासुरुवा लगाएर गए भइदिन्थ्यो नि," तीन पटक मन्त्री भइसकेका श्रेष्ठले भने।
सांसदहरूले बोल्ने भाषा मर्यादित र संसदीय हुनुपर्ने भन्दै उनले अगाडि थपे - "त्यत्रो जनताले चुनेर पठाएका व्यक्तिले मर्यादित भाषा प्रयोग गर्नैपर्छ।"
"सांसदले, मन्त्रीले नै जे पायो त्यही बोल्न थाले अरू पनि त्यस्तै बोल्न थाल्छन्। त्यो आफैँले सोच्ने कुरा हो। अनुशासन भनेको अरूले लाद्ने कुरा होइन। पछिल्लो समय त्यसको कमी देखिन्छ।"
नियमावलीमा के छ?
सङ्घीय प्रतिनिधिसभा नियमावली २०८३ मा भाषा तथा पोसाकलगायत विभिन्न विषयमा व्यवस्था गरिएको छ।
त्यसअनुसार "अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने" व्यवस्था छ।
कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोकेबमोजिम प्रतिनिधिसभा सदस्यको पोसाक हुने नियमावलीमा उल्लेख छ।
"पोसाक तोक्दा औपचारिक, मौलिक संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोसाकसमेतमा ध्यान दिनुपर्ने" भनी लेखिएको छ।
"कुनै पनि पोसाकलाई स्पष्ट रूपमा यही नै लगाउनुपर्छ नभनेर मर्यादित तथा सांस्कृतिक रूपमा प्रचलनमा रहेको पोसाक लगाउन सक्ने भनेको छ," सङ्घीय संसद् सचिवायदलयका प्रवक्ता एकराम गिरीले बीबीसी न्यूज नेपालीसँग भने।
पोसाकको सन्दर्भमा केही स्पष्ट पार्नुपर्ने भए सभामुखले कार्यव्यस्था परामर्श समितिको निर्णयानुसार गर्न सक्ने अभ्यास रहिआएको छ।
"विगतमा खरानी रङको कोट भन्ने थियो। अहिले पनि मर्यादित पोसाक र कोट आवश्यक छ भन्ने कार्यव्यस्था परामर्श समितिको निर्णय छ," प्रवक्ता गिरीले भने।
सामान्यतया जनप्रतिनिधिहरू आफैँले बनाएका नियमको पालना गर्ने विश्वास रहिआएको उनको तर्क छ।
"भेषभूषाअनुसार चल्ने, समाजले स्वीकार गर्ने पोसाक नै मर्यादित नै भन्ने अवस्था हो। कहिलेकाहीँ नमिल्ने, अमर्यादित नै भएको अवस्थामा सभामुखले रूलिङ गर्न सक्ने अवस्था रहन्छ नै। परिस्थितिमा निर्भर हुने भयो," गिरीले अगाडि थपे।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।