नयाँ संसद् भवन तयार हुन अझै समय लाग्ने, सात वर्षदेखि पटकपटक म्याद थप

Published
पढ्ने समय: ५ मिनेट

पटकपटक म्याद थप्दा पनि संसद्को नयाँ भवनको निर्माणकार्य अझै नसकिएको र फेरि छ महिनाका लागि म्याद थप्न लागिएको अधिकारीहरूले बताएका छन्।

सरकारले २०७९ साल मङ्सिरमा हुने नियमित संसदीय चुनावअघि नै बनाइसक्ने गरी ठेक्का लगाएको सिंहदरबारभित्रको उक्त भवन निर्माणको छैटौँ म्याद गत असारमा सकिएको थियो।

तर ठेकेदारले ९५ प्रतिशतजति काम मात्र सकेको र उक्त परिसर अन्तर्गतको राष्ट्रिय सभा भवन र छतमा बनाइएको गुम्बजलाई अन्तिम रूप दिने काम चलिरहेको अधिकारीहरूले जनाएका छन्।

कतिपय निर्माण सामग्री चीनबाट नेपाल आउने क्रममा भएको बताइएको छ।

निर्माण विभागका अधिकारीहरूका उनीहरूले पूर्वाधार विकास मन्त्रालयलाई सकेसम्म चाँडो निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न ताकेता गर्दै आएका छन्।

संसद् सचिवालय के भन्छ

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अहिलेसम्म उक्त भवनको प्रयोगका लागि हस्तान्तरण भइसक्नुपर्ने थियो। तर काम नसकिएकाले सातौँ पटक म्याद थप गर्ने तयारी भएको उनले बताए।

"सार्वजनिक खरिद ऐनमा भएको व्यवस्थाबमोजिम एक पटक म्याद थप्न सकिने भएकाले प्रक्रिया बढ्दै छ भन्नेसम्मको जानकारी हामीलाई छ।"

"यो पहिला नै सचिवालयलाई उपलब्ध भइसक्नुपर्थ्यो। त्यसले गर्दा हाम्रो सभा सञ्चालनमा थुप्रै चुनौती भइरहेको छन्। हाम्रो अहिलेको सभाकक्षहरू सभाकक्षजस्ता पनि छैनन्। हामीले अल्पकालीन व्यवस्थापन गरेर चलाइरहनुपरेको अवस्था छ।"

दुवै सभाका सभाध्यक्षले निर्माणको प्रगतिबारे अद्यावधिक विवरण लिने गरेको जनाउँदै गिरीले शीघ्र निर्माण सम्पन्न हुँदा बैठक सञ्चालन र सचिवालयको व्यवस्थापन पनि सहज हुने बताए।

गएको वर्षको भदौमा भएको जेन जी आन्दोलनका क्रममा प्रदर्शनको पहिलो दिन प्रहरीको गोली लागेर विद्यार्थीहरूको ज्यान गएपछि दोस्रो दिन आक्रोशित आन्दोलनकारीको समूहले नयाँबानेश्वरमा रहेको संसद् भवन जलाइदिएको थियो।

फाल्गुनमा प्रतिनिधिसभा निर्वाचन गर्नुअघि नै अधिकारीहरूले कार्यतालिका नै बनाएर नयाँ संसद् भवन परिसरको निर्माणको काम यथाशक्य चाँडो सम्पन्न गर्ने घोषणा गरेका थिए।

फाल्गुन मसान्तभित्र बैठककक्ष तयार नभएपछि नवनिर्वाचित प्रतिनिधिसभाका सांसद्हरूले नयाँ भवनमा रहेको एउटा हलमा शपथ लिएका थिए भने त्यहीबाट सदनका नियमित बैठकहरू हुँदै आएका छन्।

यस वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेट समेत उक्त परिसरबाटै प्रस्तुत गरिएको थियो।

अहिले कुन चरणमा छ काम?

सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एवं उक्त आयोजनाका निर्देशक रोशन श्रेष्ठले नयाँ भवनअन्तर्गत प्रतिनिधिसभाको बैठककक्षको सम्पूर्ण निर्माण सम्पन्न भएको भए पनि राष्ट्रिय सभाको हल र छतमा केही काम गर्न बाँकी नै रहेको बताए।

"हामीले छ महिनाको लागि थप्न तयारी गरेका छौँ। छिटपुट कामहरू भइरहन्छ। फेरि चलाएर हेर्नुपर्‍यो। चलाउँदा खेरि फेरि कतै चल्ने कतै नचल्ने हुन्छ। त्यो काम त हाम्रो बाँकी नै रह्यो।"

संसद् सचिवालय अन्तर्गतका दुई ठेक्कामध्ये एउटाको म्याद ज्येष्ठ ९ गते र अर्कोको म्याद असार १५ गते सकिएको थियो। तर सार्वजनिक खरिद पन्धौँ संशोधन नियमावली २०८३ को प्रावधानअनुसार नयाँ कार्यतालिका खुलाएर म्याद थपको प्रस्ताव गर्न लागिएको अधिकारीहरू बताउँछन्।

पछिल्लो समयमा कतिपय सामान आयात गर्न देखिएका चुनौतीसहितका कारणले इन्टिअरिअर र सिभिल अन्तर्गतका ठेक्का अन्तर्गत गर्नुपर्ने कार्यहरूमा ढिलाइ भएको अधिकारीहरू बताउँछन्।

तर प्रतिनिधिसभाको बैठक कक्ष भने आफूहरूले तयार पारेको त्यसको प्राविधिक परीक्षण समेत गरिसकेको उनले सुनाए।

"जेठ १५ मा बजेट भाषण नै नयाँ हलबाट गर्ने गरी तयार गरिसकेको हो। केही नयाँ खालका सामग्रीहरू छन्। त्यसको सञ्चालनका लागि प्राविधिकहरूलाई हामीले तालिम भने दिन बाँकी छ। त्यसका लागि भारतबाट नै टोली आउँछ।"

"प्रतिनिधिसभामा हामीले निलो रङ्गको कस्टिक प्यानल लगाएका छौँ। तर राष्ट्रिय सभामा हामीले रातो रङ्गको कस्टिक प्यानल लगाउने हो। त्यो प्यानल चीनबाट आउनुपर्ने हो तर त्यो नआइपुगेको कारणले गर्दा केही ढिला भयो।"

तातोपानी नाकातर्फबाट भित्र्याउन खोजिएको उक्त सामानलाई पहिरोले सडक अवरुद्ध भएका कारण रसुवागढी नाकातर्फ पठाइएको थियो। त्यहाँ पनि सवारीसाधनहरू लाम लाग्नुपरेको र रसुवा भन्सारमा सामान आइपुगेको जानकारी आफूले पाएको उनले बताए।

आइसकेपछि त्यस्तो प्यानल भित्तामा लगाएपछि कार्पेट ओछ्याउने काम सुरु हुने जानकारी उनले दिए।

नयाँ भवनको छानोमा रहेको गुम्बजको संरचनामा काम नसकिसकेको भन्दै उनले त्यसको अन्तिम चरणको काम सम्पन्न गर्न भारतबाट नै उपकरण झिकाउन लागिएको जानकारी दिए।

"हामीले त्यसको छैटौँ पत्रको काम सकिसकेका छौँ। तर अझै आठौँ पत्रसम्म काम गर्नुपर्ने हुन्छ। अन्तिमको काम गर्न, नापी गरेर भारतबाट सामानहरू ल्याएर राख्दा त्यो मिलेन। त्यही भएर अन्तिमको काम गर्नका लागि मशीन नै यहाँ जडान गरेर काम गर्नुपर्ने हुन्छ।"

उनका अनुसार जडान गर्ने सामान भारतबाट मगाइएको तर बर्खा र बाटोको अवस्थाका कारण सामान नहिडिँसकेको जानकारी ठेकेदारले गराएको छ।

हाल कार्यान्वयनको ठेक्का अन्तर्गत सिभिलतर्फको नेपाली र चिनियाँ ठेकेदार सम्मिलित टुन्डी सेक जेभीले गरिरहेको छ। भित्री सजावटको काम चाहिँ नेपाली ठेकेदार केसी बानियाँ श्यामसुन्दर जेभी नामक ठेकेदारले गरिरहेको अधिकारीहरू बताउँछन्।

उपमहानिर्देशक श्रेष्ठले आफूहरूलाई यथाशीघ्र काम सम्पन्न गर्न चर्को दबाव रहेको उल्लेख गर्दै भने, "हामीलाई माथिबाट जति दबाव छ हामीले पनि ठेकेदारलाई त्यत्ति नै दबाव दिएका छौँ।"

संसदीय दलको कार्यालय, संसद् सचिवालय, राष्ट्रिय सभासहित विभिन्न संरचना रहने उक्त परिसरअन्तर्गत निर्माणका लागि झन्डै ६ अर्ब ४० करोड रुपैयाँ जतिको ठेक्का लगाइएको थियो।

सजावट र सुरक्षा प्रणालीसहितका लागि २ अर्ब ३४ करोड रुपैयाँजति छुट्ट्याइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।