तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रगतको दाग र हिमनदी बिथोलिने जोखिम: ब्रोड पीकमा हराएका १० आरोहीको खोजी कसरी गरियो
- Author, मुहम्मद जुबैर खान
- Role, पत्रकार
- Published
- पढ्ने समय: ५ मिनेट
नेपाली पर्वतारोही सानु शेर्पा र पाकिस्तान हुन्जाका पर्वतारोही वकार अली जुलाई ३० मा केटू आधारशिविरमा थिए।
त्यही दिन नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जना पर्वतारोहीले क्याम्प-१ बाट विश्वको १२ औँ अग्लो चुचुरो 'ब्रोड पीक'तर्फ उक्लिएका थिए। यी १० पर्वतारोहीहरूमध्ये हुन्जाका सोहेल साखी पनि थिए ।
वकार अलीले बिहान ९ बजेतिर सोहेल साखीलाई उनको स्वास्थ्यको बारेमा सोधपुछ गर्न सम्पर्क गरे र त्यसको केही समयपछि, बिहान १० बजेतिर, वकारले ब्रोड पीकमा ठूलो हिमपहिरो झरेको थाहा पाए।
त्यो जानकारी पाए लगत्तै वकार अलीले विभिन्न माध्यमबाट 'ब्रोड पीक' मा रहेका आरोहीहरूलाई सम्पर्क गर्ने प्रयास गरे तर उनी असफल भए।
उनले आरोहीहरूको टुर सञ्चालकहरूलाई दुर्घटनाबारे जानकारी गराए, तर भोलिपल्ट बिहानै सानु शेर्पासँग आफै ब्रोड पीक जाने र त्यहाँ उद्धार कार्यमा सहभागी हुने निर्णय गरे।
ब्रोड पीकमा ३० जुलाईमा गएको हिमपहिरोमा परेर १० जना आरोहीहरूको मृत्यु भयो, जसमा प्रसिद्ध नेपाली मूलका पर्वतारोही निर्मल पुर्जा पनि थिए।
आरोहीहरूमा धेरैजसो नेपाली थिए, तर पर्वतारोहण दलमा एक-एक जना पाकिस्तानी, अमेरिकी, ओमानी र चिनियाँ नागरिक पनि थिए।
दुर्घटनाको भोलिपल्ट सुरु भएको खोज तथा उद्धार कार्य धेरै दिनसम्म जारी रह्यो। कठिन अभियान र मौसममा सुधार आएपछि ब्रोड पीक र वरपर भेटिएका सात शव र अवशेषहरूलाई पहिले स्कार्दु र त्यसपछि इस्लामाबाद लगियो, जहाँबाट तिनलाई सम्बन्धित देशहरूमा पठाइयो।
ब्रोड पीकमा हिमपहिरो गएकोदेखि शव फिर्ता ल्याउने चरणसम्म अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक समाचारको विषय बन्यो।
बीबीसीले त्यस कठिन र चुनौतीपूर्ण हिमालमा गरिएको उद्धार कार्यमा संलग्न पर्वतारोहीहरूसँग त्यसबारे थप जानकारी लिन कुराकानी गरेको छ।
वकार अलीले ब्रोड पीकमा के देखे?
वकार अलीका अनुसार यस सिजनमा ब्रोड पीकमा कसैले पनि छुट्टै आधारशिविर बनाएका थिएनन्, बरु केटूमा स्थापित आधारशिविर प्रयोग गरिएको थियो।
दुर्घटना हुँदा केटू आधारशिविरमा वकार अली र सानु शेर्पा बाहेक अरू कुनै विज्ञ पर्वतारोही थिएनन्।
वकार अलीका अनुसार दुर्घटनापछि जब उनी ब्रोड पीक पुगे, उनले अत्यन्तै पीडादायी दृश्यहरू देखे।
उनको अनुमान अनुसार, हिमपहिरो सम्भवतः ब्रोड पीकको ६६०० मिटरको उचाइमा खसेको थियो, "जसले यी पर्वतारोहीहरूलाई फरक-फरक ठाउँमा हुत्त्यायो। पर्वतारोहीहरूका उपकरणहरू यता उता छरिएका थिए। कसैको झोला एकातिर थियो, कसैको झोला अर्कोतिर।"
"साथीहरूसँगै मैले हिमनदीमा रगत देखेँ। लगभग ४२०० मिटर टाढा रहेको एक बिन्दुमा, हामीलाई लाग्यो कि त्यहाँ कुनै शव हुन सक्छ। हामीले हिउँ खन्यौँ, एउटा शव भेटियो। त्यसपछि केही टाढा अर्को शव देख्यौँ। त्यसलाई हिउँबाट बाहिर निकालियो र त्यसपछि तेस्रो अपूर्ण शव भेट्टायौँ।"
वकार अली भन्छन्, "हामीले यी शवहरूलाई सुरक्षित रूपमा राख्यौँ र हेलिकप्टर अवतरण गर्न सक्ने स्थानमा लग्यौँ, हामीले दुई वटा पूर्ण र एउटा अपूर्ण शव फेला परेको सूचना दिइसकेका थियौँ र हामीलाई ती शवहरू लिन हेलिकप्टर आउन सक्ने बताइएको थियो ।"
उनका अनुसार उनीहरूले कोदालो र बेल्चाको मद्दतले हेलिप्याड बनाए र हेलिकप्टर त्यहाँ अवतरण भयो। यो कठिन अवतरण थियो, तर सुरक्षित रूपमा भयो।
त्यो हेलिकोप्टरबाट प्रख्यात पर्वतारोही सरबाज खान पनि उद्धार कार्यमा भाग लिन पुगेको उनले जनाए।
ड्रोनको सहयोगमा शवहरू रहेको ठाउँको पहिचान
ब्रोड पीकमा दुर्घटना हुँदा आबिद बेग र एक जना नेपाली मिङ्मा ग्याल्जेन शेर्पा, लगायतका पर्वतारोहीहरू केटूमा थिए।
यी सबै पर्वतारोहीहरूबीच घनिष्ठ सम्बन्ध छ। यी पाकिस्तानी र नेपाली पर्वतारोहीहरू बीचको एउटा साझा सम्बन्ध के हो भने उनीहरू सबैले निर्मल पुर्जालाई आफ्ना गुरु मान्थे।
वकार अलीका अनुसार दुर्घटनाको खबर पाएपछि, केटूमा ६ हजार मिटरको उचाइ नजिक रहेका मिङ्मा आरोहण त्यागेर आधारशिविरमा फर्किए।
वकार अलीले भने, "भोलिपल्ट हामी ब्रोड पीकमा फेरि उद्धार कार्य सुरु गर्न चाहन्थ्यौँ, तर त्यस बेला नेपाली पर्वतारोही मिङ्गमाले हामीलाई यो काम तत्कालै सुरु नगर्न, बरु पहिले ड्रोन प्रयोग गरेर खोजी गर्न र त्यसपछि जमिनमा काम सुरु गर्न निर्देशन दिए।"
पाकिस्तानी पर्वतारोहीका अनुसार, मिङ्गमाले ड्रोन प्रयोग गरेर खोजी कार्य थाले र लगभग ५,६०० मिटरको उचाइमा रहेको हिमपहिरो गएको स्थानमा चार जनाको शव रहेको बताए।
वकार अलीले भने, "त्यही बेला मिङ्माले सम्भवतः आफूले शवहरू रहेको स्थान पहिचान गरेको र आधारशिविरमा पुगेको बताए। शहजाद र सर्बाज खान क्याम्प-१ फर्किरहेका थिए त्यही बेला मिङ्माबाट हामीलाई फर्किन र सँगै मिलेर खोजी कार्यको योजना बनाउनु पर्ने सन्देश पायौँ।"
उनीहरूका अनुसार त्यति बेला अघिल्ला शवहरू भेटिएको ठाउँनजिकै अर्को शवको पहिचान भयो।
'ट्रयाकरको स्थान परिवर्तन भइरहेको थियो'
ब्रोड पीक दुर्घटनाको समयमा हुन्जाका अर्का पर्वतारोही आबिद बेग पनि ६ हजार मिटरको उचाइमा रहेको केटूमा आरोहणका क्रममा थिए।
दुर्घटनाको बारेमा सुनेपछि, उनले आरोहण त्यागे र आधारशिविर फर्किएर मिङ्मासँगै खोजी कार्यमा सामेल भए।
आबिद बेगले खोजी कार्यको दोस्रो दिन उद्धारमा उल्लेख्य सङ्ख्यामा पाकिस्तानी र नेपाली पर्वतारोहीहरू संलग्न भएको बताए।
"हामी सबैले सामूहिक रूपमा सबैभन्दा वरिष्ठ मिङ्मालाई उद्धार टोलीको प्रमुख बनायौँ। हामी सबै एकसाथ भयौँ जसले गर्दा ज्यान जोगाउने काममा मद्दत गर्न सकौँ। तर जब हामीले उहाँहरूको ट्र्याकरको स्थान जाँच गर्यौँ, हाम्रा आशा धमिलो हुन थाल्यो।"
उनका अनुसार जब सोहेल साखीको ट्र्याकरको स्थान जाँच गरियो, पहिले साखीको स्थान ६,२०० मिटरमा थियो, अहिले उनको स्थान ४,००० मिटरमा फेला परिरहेको थियो।
यसरी, ट्रयाकरहरू भएका पर्वतारोहीहरूको अवस्था त्यस्तै देखियो, दुर्घटना हुनुभन्दा पहिले उनीहरू पुगेको स्थान माथि देखिएको थियो र दुर्घटनापछि सबै ट्रयाकरहरूको स्थान १०० देखि ३०० मिटर तल देखियो। त्यो उनीहरू जीवित रहेको आशा गर्न नहुने जनाउ दिन पर्याप्त थियो।
'हिमनदी फुट्दै र खस्दै थियो, हामी मुस्किलले बाँच्यौँ'
आबिद बेगले उद्धार कार्यका क्रममा पनि खतराको सामना गरेको सुनाए।
"भोलिपल्ट बिहान, सुरक्षाकर्मी र म हिमनदीको भग्नावशेषमा शव खोज्दै थियौँ, अचानक हामीले त्यही ठाउँबाट आवाज सुन्यौँ जहाँ पहिले भग्नावशेष खसेको थियो। केही फुटिरहेको जस्तो लाग्थ्यो। हामीले तुरुन्तै हिमनदी विस्फोट हुँदै र खस्दै छ भन्ने भेउ पायौँ।"
"त्यति बेला हामी एउटा खाल्डोमा उद्धारको काम गरिरहेका थियौँ। हामी दुवै तुरुन्तै भाग्यौँ र लगभग ३० सेकेन्डको फरकमा बल्ल बल्ल बच्यौँ। हामी निस्किने बित्तिकै माथिबाट हिउँको भग्नावशेष हाम्रो अगाडि खस्न थाल्यो। यदि ध्यान नदिएको भए, सतर्क नभएको भए र त्यो आवाज ख्याल नगरेको भए, यो भग्नावशेष हामीमाथि खस्न सक्थ्यो।"
त्यो खसेपछि, "सिपाही र मैले एक अर्कालाई हेर्यौँ सोच्यौँ- हामी बाँच्यौँ। अब उद्धार कार्य जारी राख्न सक्छौँ।"
आबिद बेगका अनुसार उनले पहिले खनिरहेको ठाउँमा थप भग्नावशेष खसेको थियो। "हाम्रो काम दोबर भएको थियो, तर हामीले शवहरू खोज्नु थियो। त्यसैले हामीले फेरि हाम्रो काम सुरु गर्यौँ र केही समयपछि थप दुई शवहरू भेट्टायौँ।"
"हामीले ती शवहरूलाई सुरक्षित गरिरहेका थियौँ, लगत्तै हामीले अर्को शव देख्यौँ। तुरुन्तै थाहा पायौँ कि त्यो शव माथिबाट झरेको भग्नावशेषसँग आएको हो," उनले सुनाए।
बाँकी शवको खोजी नेपाली पर्वतारोहीहरूले गरेको आबिद बेग बताउँछन्।
उनका अनुसार पाकिस्तानी पर्वतारोही सोहेल साखीको शव निकाल्न सकिएन, तर त्यसको सम्भावित स्थान पहिचान गरिएको छ।
"हामीलाई सोहेल साखीको शव कहाँ छ भन्ने अनुमान छ, तर हामी वा अरू कसैको लागि अहिले त्यहाँ सञ्चालन गर्न सम्भव छैन।"
उनी भन्छन्, "सुरक्षाकर्मी र मैले हिमनदी अलिकति पग्लिएपछि र बाटो सजिलो भएपछि सेप्टेम्बरमा सोहेल साखी र अर्का एक नेपालीको शव लिन फेरि जाने निर्णय गरेका छौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।