'पहिलादेखि नै प्रखर, तर चर्चा नखोज्ने स्वभाव': प्रतिपक्षको बलियो आवाज बनेका भीष्मराज आङ्देम्बे को हुन्

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल बनेको नेपाली कांग्रेसले समय लिएर भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनायो। बुधवार उनले संसद्‌मा गरेको भाषणका कारण उनी अहिले चर्चाको केन्द्रमा छन्।

कांग्रेस सभापति गगन थापासहित पार्टीका प्रखर नेताहरू पराजित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुईतिहाइ बहुमत रहेको प्रतिनिधिसभामा कांग्रेस ३८ सीटसहित दोस्रो स्थानमा खुम्चिएको छ। अघिल्लो संसद्‌मा कांग्रेस सबैभन्दा ठूलो दल थियो।

यसअघि संविधानसभाको सदस्य रहिसकेका आङ्देम्बे यसपालि समानुपातिक प्रणालीबाट सङ्घीय संसद्‌मा निर्वाचित भएका हुन्।

आङ्देम्बेले प्रतिपक्षी दलको आवाज बलियो गरी राख्नेमा पनि कतिपयले आशङ्का गरेका थिए। तर उनले संसद् अधिवेशनको पहिलो बैठकमै गरेको सम्बोधनले धेरैको ध्यानाकर्षित गरेको थियो।

केही साताअघि प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले नेपाल-भारत सीमामा विद्यमान समस्याबारे बोलेका थिए। प्रधानमन्त्रीको टिप्पणी विवादित बनेको छ। प्रधानमन्त्रीले संसद्‍मा बोल्दै "...भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ..." भनेका थिए। त्यसबारे आङ्देम्बे बुधवार तेस्रो पटक बोल्न संसद्को रोस्ट्रममा उक्लिए।

आङ्देम्बेको सम्बोधनका क्लिपहरू अहिले सामाजिक सञ्जालमा व्यापक फैलिएका छन्।

उनले आफ्नो ओजिलो स्वरमा सत्तारूढ दल, त्यसका नेताहरू, प्रधानमन्त्री र सभामुखलाई लक्षित गर्दै गरेको सम्बोधन अर्थपूर्ण रहेको विश्लेषक र नेताहरू ठान्छन्।

संसद्‌मा बोलेर चर्चामा

भदौको जेन जी आन्दोलनपछि भएको निर्वाचनमा अधिकांश पुराना दलहरू पराजित हुँदा संसद्‌मा विपक्षी दलहरू ९३ सीटमा सीमित छन्।

कांग्रेसबाट मात्र नभई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका कैयौँ प्रखर नेताहरूको अनुपस्थिति हुँदा पुराना दलबाट पनि नयाँ र यसअघि चर्चामा नरहेका नेताहरूले संसद्‌मा बोल्ने मौका पाइरहेका छन्।

विसं २०४३ सालतिर आङ्देम्बेलाई नेपाल ल क्याम्पसको स्ववियू सचिवमा पराजित गरेका पूर्वमन्त्री तथा एमाले नेता भानुभक्त ढकाल उनी विद्यार्थीकालदेखि नै राम्रो भाषण गर्न सक्ने नेता भएको बताउँछन्।

"उहाँ विद्यार्थी राजनीतिमा हुँदाबाटै राम्रो भाषण गर्नुहुन्थ्यो। उहाँ चर्चा नखोज्ने स्वभावको भएका कारण चर्चामा आइरहने नेताहरूको छायामा पर्नुभयो जस्तो लाग्छ," ढकालले बीबीसी न्यूज नेपालीसँग भने।

संसद्‌मा विपक्षी आवाज कमजोर भएको कतिपयको विश्लेषणमाझ आङ्देम्बेले विभिन्न विम्ब प्रयोग गरेर बोलेका कारण पनि उनको सम्बोधन चर्चित भएको हुन सक्ने राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयाँल बताउँछन्।

"खास संसद्‌ले खोजेको विम्बसहितको संसदीय भाषा उहाँले प्रयोग गर्नुभयो। भन्न खोजेको कुरा जस्ताको त्यस्तै जाओस् अनि भाषा चाहिँ शिष्ट सुनियोस् र सन्देश स्पष्ट होस्। त्यस हिसाबमा उहाँको भाषण धेरै प्रतिशत उदाहरणीय थियो एक ठाउँमा उहाँ चुक्नु पनि भयो," उनले भने।

सभामुख निर्वाचित भएको स्थानबारे आङ्देम्बे चुकेको फुयाँल बताउँछन्।

'पूर्वमन्त्रीका नाति'

हाल ६१ वर्षका आङ्देम्बे समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। यसअघि उनी विसं २०७० मा पाँचथरबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए। अहिले उनी छाया सरकारका प्रधानमन्त्री पनि हुन्।

उनका स्वकीय सचिव याम ढुङ्गानाका अनुसार २०३६ सालमा पाँचथरको फिदिम माध्यमिक विद्यालयमा प्रार्थनासभामा सहभागी हुँदा आङ्देम्बे टाउकोमा कालो रुमाल बाँधेर पञ्चायती व्यवस्थाविरुद्ध उभिएका थिए। त्यसरी उनको "राजनीतिक यात्रा" सुरु भएको थियो।

उनका बाजे सुब्बा देवमान आङ्देम्बे विसं २०१३ सालमै टङ्कप्रसाद आचार्य मन्त्रिपरिषद्‌मा अर्थ तथा मालपोत उपमन्त्री बनेका थिए। उनका काका प्रेमराज पनि विसं २०१५ सालमा विश्वेश्वरप्रसाद कोइरालाको सरकारमा उपमन्त्री बने। बुवा धर्मेन्द्रराज आङ्देम्बे पनि स्थानीय नेता थिए।

तर २०५६ यता निरन्तर चुनाव लडिरहेका भीष्मराज आङ्देम्बे चार पटक संसदीय निर्वाचनमा पराजित भए। दोस्रो संविधानसभामा चुनाव जितेपछि उनी संसद्को उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समिति सभापति पनि भए। तर त्यसपछिका दुवै निर्वाचनमा उनी विफल भए।

उी तीन पटक कांग्रेस केन्द्रीय सदस्य र एक पटक सहमहामन्त्री बने। शेरबहादुर देउवाले कांग्रेस विभाजन गरेपछि उनी पाँचथरको जिल्ला सभापति पनि बनेका थिए।

तर उनी विशेष महाधिवेशनमा देउवा समूह छोडेर गगन थापा र विश्वप्रकाश शर्माको संस्थापनसँग नजिक बनेको उनीबारे जानकार कांग्रेस नेताहरू बताउँछन्।

नेपाल ल क्याम्पसमा पढ्दा त्यस बेला नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियूबीच कतिपय विषयमा विवाद र झडप हुने गरेको थियो। तर आङ्देम्बे कहिल्यै झगडामा अगाडि नसरेको एमाले नेता ढकाल बताउँछन्।

सत्तापक्षलाई चिढ्याएका विपक्षी नेता

बुधवार आङ्देम्बे बोलेलगत्तै पत्तापक्षकी समीक्षा बाँस्कोटाले नियमापत्ति जनाइन्।

आङ्देम्बेले बोलेका कतिपय शब्दप्रति नियमापत्ति गर्ने बाँस्कोटा पनि पाँचथरकै हुन्। उनका बुवा तथा भूतपूर्व गृहराज्यमन्त्री दीपकप्रसाद बाँस्कोटा कुनै समय आङ्देम्बेकै राजनीतिक अगुवा थिए।

आफ्नो सम्बोधनको अन्त्यतिर आङ्देम्बेले सभामुखको भूमिकाबारे पनि प्रश्न उठाए।

त्यस क्रममा उनले प्रयोग गरेको व्यङ्ग्यात्मक शैलीप्रति सत्तापक्षीय सांसदहरूले तत्कालै असन्तुष्टि व्यक्त गरे। त्यसमा रास्वपा सभापति रवि लामिछाने पनि थिए।

आङ्देम्बेले बोलिरहँदा सत्तापक्षका सांसदहरूले जोडजोडले टेबल ठोकेर साङ्केतिक विरोध गरेको दृश्य नेपालको संसदीय इतिहासकै दुर्लभ घटना भएको फुयाँल बताउँछन्।

"प्रतिपक्षले सदनको मर्यादा उल्लङ्घन गरिरहेको छ र सत्तापक्ष पनि असहिष्णु भइरहेको छ," उनी भन्छन्।

"सत्तापक्षका सांसदहरू प्रतिवादमा ओर्लिनु संसदीय हिसाबले शोभनीय होइन।"

विपक्षी सांसदहरूले पनि सदनमा विरोध जनाउने क्रममा कतिपय संसदीय अभ्यासविपरीतका गतिविधि गरेको देखिएको फुयाँलको बुझाइ छ।

"सत्ताक्षले सभामुखलाई आफ्नो पक्षको सम्झिने भुल गर्नु हुँदैन। किनभने सभामुख सत्तापक्ष वा प्रतिपक्षको हुँदैन," उनी भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।