युक्रेनी ड्रोनको गति सुस्त हुनुमा अमेरिकी सरकारको हात हुन सक्ने मस्कको दाबी

इलोन मस्क
    • Author, टिफनी वर्थाइमर
  • Published
  • पढ्ने समय: ३ मिनेट

अर्बपति इलोन मस्कले केही युक्रेनी अस्त्रहरूको गति र स्टारलिङ्क इन्टरनेट नेटवर्कसँग तिनको सम्पर्कमा लगाइएका प्रतिबन्धपछाडि अमेरिकी सरकारको हात हुन सक्ने दाबी गरेका छन्।

रुसमा निशाना बनाउन ड्रोनहरूलाई निर्देशित गर्ने तथा युक्रेनी आकाशको सुरक्षामा समेत स्टारलिङ्क किएभका लागि एउटा महत्त्वपूर्ण साधनका रूपमा रहिआएको छ।

तर गतिमा देखिएको अनपेक्षित नयाँ सीमितताले लडाइँमा असर पुर्‍याइरहेको युक्रेनले मङ्गलवार राति बताएको थियो।

प्रतिबन्धहरू संयोगवश नभएको र किएभ तथा वाशिङ्टनबीच बढ्दो तनावसँग सम्बन्धित रहेको आफूलाई लागेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सल्लाहकारले बताएका छन्।

मस्कका अनुसार अमेरिकी सरकारको नियन्त्रण रहेको स्टारलिङ्कको मिलिटरी-ग्रेड भगिनी सेवा स्टारशील्डको "गति अथवा प्रयोगको सीमा अमेरिकी सेना र अमेरिकी राष्ट्रपतिद्वारा निर्धारण हुन्छ।"

युक्रेनको अनुरोध

कनेक्टिभिटी पुनर्स्थापित गर्न युक्रेनी अधिकारी तथा जेलेन्स्की समेतले गरेको अनुरोधबारे जवाफ दिँदै मस्कले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

युक्रेनको अनुरोधबारे राष्ट्रपति जेलेन्स्कीले ब्रिटिश सञ्चारमाध्यमसँग भनेका छन्, "मलाई आशा छ कि यो त्रुटि हो, शायद एउटा ठूलो प्राविधिक समस्या हो। मलाई थाहा छैन, तर हामीले त्यसलाई पुनः स्थापित गर्न अनुरोध गरिरहेका छौँ।"

मस्कको स्पेसएक्सको स्वामित्वमा रहेको स्टारलिङ्कले मङ्गलवार राति गति सीमा १०० माइल प्रतिघण्टामा सीमित गरेको थियो। त्यसको अर्थ त्यसभन्दा छिटो गतिमा यात्रा गर्ने कुनै पनि अस्त्रले नेटवर्कसँगको सम्बन्ध गुमाए।

युक्रेनका पूर्वरक्षामन्त्री मिखाइलो फेदोरोभले बुधवार साँझसम्म आंशिक रूपमा नेटवर्क पुनर्स्थापित भएको बताएका छन्।

"स्टारशील्डको गति सीमा पूर्ण रूपमा हटाउनु युक्रेनको रक्षाका निम्ति अत्यन्त महत्त्वपूर्ण छ," एक्समा उनले लखेका छन्। मस्कलाई धन्यवाद दिँदै फेदोरोभले "निरन्तर सहयोग" का लागि मस्कलाई अनुरोध पनि गरेका छन्।

मस्कद्वारा प्रतिरक्षा

करिब एक घण्टापछि मस्कले आफ्नो कम्पनीको संलग्नताको प्रतिरक्षा गर्दै एक्समा पोस्टमार्फत् प्रतिक्रिया दिए।

"स्टारशील्ड प्रणालीहरू अमेरिकी सरकारको स्वामित्व तथा नियन्त्रणमा छन्। गति अथवा प्रयोगमा कुनै खालको सीमा अमेरिकी सेना र अन्ततः अमेरिकी राष्ट्रपतिद्वारा निर्धारण गरिन्छ," उनले लेखेका छन्।

स्टारलिङ्क "गैरसैनिक अथवा रक्षात्मक उद्देश्यका लागि हो र त्यसलाई आक्रामक सैन्य कारबाहीका लागि प्रयोग गर्न सकिँदैन। किनकि त्यसो गर्नु व्यावसायिक कम्पनीका निम्ति अनुपयुक्त हुने छ।"

अमेरिकी सरकारले त्यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

मङ्गलवार राति लगाइएका प्रतिबन्धहरू रुसले युक्रेनमा घातक आक्रमणहरू शुरू गरेपछि लागु भएको हो। उक्त आक्रमणमा परी किएभमा धेरै मानिसको मृत्यु भएको थियो।

अधिकारीहरूका अनुसार युक्रेनी सेनाले प्रयोग गर्ने सञ्चार र ऊर्जा केन्द्रहरूलाई निशाना बनाइएको थियो।

रुसद्वारा गरिएको त्यो "सबैभन्दा ठूला आक्रमणमध्ये एक" भएको जेलेन्स्कीले बताएका थिए। यद्यपि "ड्रोनहरूको एउटा महत्त्वपूर्ण भाग खसालिएको" थियो र "केही ड्रोनहरूले लक्ष्यमा प्रहार गरेका" उनले बताए।

युक्रेनभरि कम्तीमा छ लाख मानिसहरू विद्युत्‌विहीन बन्न पुगेका थिए। मानिसहरूले उक्त आक्रमणअघि ड्रोनहरू आउन लागेको बारेमा कुनै चेतावनी नपाएको बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।