विश्वकप लीग २ मा अमेरिकाविरुद्ध नेपालको सहज जित

नेपाली क्रिकेट खेलाडी खुसी मनाउँदै

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

विश्वकप क्रिकेट लीग २ अन्तर्गत काठमाण्डूमा जारी त्रिपक्षीय शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका लक्ष्य पूरा नगरी १९५ रन बनाएर ४१.२ ओभरमा अल आउट भयो।

नेपालले निर्धारित ५० ओभर पूरा खेल्दै ८ विकेटको क्षतिमा ३१७ रन बनाउँदा ईशान पाण्डेले सर्वाधिक ८४ रन बनाएका थिए। अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ५९ रन जोडे।

अघिल्लो खेलमा पनि नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो।

ब्याटिङमा मजबुत देखिएको नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा दोस्रो सर्वाधिक स्कोर पनि बनायो।

अङ्कतालिका

यो जितसँगै नेपालले अमेरिका र स्कटल्यान्ड सम्मिलित शृङ्खलाबाट चारमध्ये तीन खेल जित्दै महत्त्वपूर्ण ६ अङ्क बटुलेको छ। यसअघि कीर्तिपुरमै ओमान र यूएईको शृङ्खलाबाट पनि ६ अङ्क जोडेको नेपाल अङ्कतालिकामा पाँचौ स्थानमा छ।

टोलीले २८ खेलबाट कुल २४ अङ्क जोडेको छ।

जम्मा आठ असोसिएट राष्ट्रबीचको यो स्पर्धामा शीर्ष ४ मा अहिले अमेरिका, स्कटल्यान्ड, ओमान र द नेदरल्यान्ड्स छन्।

राष्ट्रिय टीमका नवप्रवेशी ईशानको प्रदर्शन

ईशान पाण्डे

तस्बिर स्रोत, CAN

ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात गरेर नेपालको इनिङ्स सहज बनाए।

यी दुईले १२.५ ओभरमा ६९ रनको साझेदारी गरे। कुशलले २९ र आशिफले ४३ रन बनाए।

तेस्रो ओडीआई खेलिरहेका इशान पाण्डेको इनिङ्स सर्वाधिक चर्चाको विषय बन्यो। हालै मात्र राष्ट्रिय टोलीमा समावेश भएका उनले यो शृङ्खलाका लगातार दुई खेलमा अर्धशतक बनाएर आफूलाई राष्ट्रिय टोलीमा स्थापित गर्ने सङ्केत गरे।

उनले तेस्रो विकेटमा कप्तान रोहित पौडेलसँग ११० रनको दरिलो साझेदारी गरे। कुल ८३ बल सामना गरेर ८४ रन बनाएपछि ईशान आउट हुन पुगेका थिए।

त्यस्तै रोहितले ४६ रन बनाए।

सुरुवात राम्रो बनेपछि आक्रामक ब्याटर दीपेन्द्रसिंह ऐरीले ३६ बलमा छरितो तरिकाले ५९ रन बनाएका थिए। त्यसका कारण नेपालले ३०० रन पार गर्न सफल भयो।

त्यसपछि आरिफ शेखले १८ र गुलशन झाले १५ रन बनाएका थिए।

स्पिनर छाएपछि अमेरिका 'धराशायी'

क्रिकेट खेलाडी सोमपाल कामी खुसी मनाउँदै

तस्बिर स्रोत, CAN

फराकिलो लक्ष्य पछ्याउने दबावमा देखिएको अमेरिकाको पहिलो ओभरमै सोमपाल कामीले विकेट लिएपछि नेपाल खेलमा हाबी देखिएको थियो।

शायन जहाङ्गिरले केही बेर इनिङ्स थेग्ने प्रयास गरे पनि त्यसपछि स्पिनर हाबी भएपछि अमेरिकी ब्याटरहरू दबावमा आए र एकपछि अर्को गर्दै विकेट गुमाउन पुगे।

यस क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए भने ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुलशन झाले दुईदुई विकेट लिए।

सन्दीपले जहाङ्गिरसहित कप्तान साहितेजा मुक्कामल्ला र मिलिन्द कुमारको विकेट लिएका थिए।

लगातार विकेट झरेपछि सङ्कटमा परेको अमेरिकालाई अलराउन्डर सञ्जय कृष्णमूर्तिले सम्हाल्ने प्रयास गरे। एउटा एन्डमा डटेर नेपाली बलरको सामना गरेका उनले अर्धशतकीय पारी खेले। कुल ४४ बलको सामना गरेका उनले ४ चौका र समान छक्का प्रहार गर्दै ५६ रन बनाए।

गुलशन झाले बोल्ड गरेपछि उनको इनिङ्स समाप्त हुन पुग्यो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।