ताइवानलाई स्वतन्त्र भएको घोषणा नगर्न ट्रम्पको चेतावनी

सी र ट्रम्प

तस्बिर स्रोत, Reuters

Published
पढ्ने समय: ३ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले औपचारिक रूपमा चीनबाट स्वतन्त्र भएको घोषणा नगर्न ताइवानलाई चेतावनी दिएका छन्।

बेइजिङमा आफ्ना चिनियाँ समकक्षी सी जिन्पिङसँगको दुई दिने शिखर बैठकको समापनका क्रममा शुक्रवार फक्स न्यूजसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भने, "म कसैले स्वतन्त्र भएको घोषणा गरेको हेर्न चाहन्नँ।"

ताइवानले आफूलाई एउटा सार्वभौम राष्ट्रका रूपमा मान्ने गरेकोले औपचारिक स्वतन्त्रता घोषणा गर्न आवश्यक नरहेको ताइवानका राष्ट्रपति लाई चिङ-तेले पहिले नै भनिसकेका छन्।

संयुक्त राज्य अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको छ, जसमा ताइवानलाई आत्मरक्षाका निम्ति सघाउनु कानुनी रूपमा बाध्य रहेको पनि समावेश छ।

तर प्रायः चीनसँग कूटनीतिक सम्बन्ध कायम राखेर यो गठबन्धनलाई वाशिङ्टनले सन्तुलनमा राख्नु परेको छ।

अमेरिकी नीति 'यथावत्'

सी र ट्रम्प

तस्बिर स्रोत, Getty Images

यसअघि ट्रम्पले आफूले उक्त स्वशासित टापुका बारेमा "कुनै प्रतिबद्धता नजनाएको" बताएका थिए। चीनले ताइवानलाई आफ्नो हिस्साका रूपमा दाबी गर्ने गरेको छ र आवश्यक परे बल प्रयोग गरेर कब्जा गर्ने कुरालाई उसले अस्वीकार गर्दैन।

वाशिङ्टनको स्थापित अडान भनेको उसले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्दैन र बेइजिङसँग उसको निरन्तरको सम्बन्ध एउटा मात्र चिनियाँ सरकार रहेको स्वीकार गर्ने कुरामा निर्भर छ।

बेइजिङले ताइवानका राष्ट्रपतिको खुलेर आलोचना गर्ने गरेको छ। यसअघि उसले ताइवानका राष्ट्रपतिलाई "समस्याकारी" र "शान्ति खलबल्याउने" व्यक्तिको सङ्ज्ञा दिएको थियो।

ताइवानका धेरै बासिन्दाले आफूलाई एउटा अलग राष्ट्रका हिस्साका रूपमा हेर्ने गरेका छन्। तथापि अधिकांशले यथास्थितिलाई समर्थन गर्छन्, जसमा ताइवानले न त स्वतन्त्रता घोषणा गर्छ, न त चीनसँग एकता गर्छ।

फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले ताइवान मामिलामा अमेरिकी नीतिमा कुनै परिवर्तन नआएको दोहोर्‍याए।

"तपाईँलाई थाहा छ युद्ध लड्नका निम्ति हामीले ९,५०० माइल (१५,२८९ किलोमिटर) यात्रा तय गर्नुपर्छ। म त्यो चाहन्नँ। म चाहन्छु कि उनीहरू शान्त होऊन्। म चाहन्छु कि चीन शान्त रहोस्।"

ट्रम्पलाई सीको चेतावनी

वाशिङ्टन फर्कने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले आफू र सी जिन्पिङले उक्त टापुका बारेमा "धेरै" कुरा गरेका पत्रकारहरूलाई बताए।

तर अमेरिकाले त्यसको रक्षा गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न अस्वीकार गरेको उनले उल्लेख गरे।

राष्ट्रपति ट्रम्पले सी जिन्पिङ उक्त टापुका बारेमा "धेरै दृढ" रहेका र "स्वतन्त्रताका लागि कुनै खालको आन्दोलन हेर्न नचाहेका" आफूले पाएको बताए।

"ताइवान मामिला चीन-अमेरिका सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण मुद्दा हो।" चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार वार्ताका क्रममा राष्ट्रपति सीले चेतावनी दिए।

"यदि यसलाई राम्रोसँग सम्हालिएन भने यसले दुई देशहरू बीच टकराव अथथा द्वन्द्व पनि निम्त्याउन सक्छ।"

ताइवान मुद्दालाई लिएर के चीनसँग अमेरिकाको द्वन्द्व हुने खतरा देख्नुहुन्छ भनी प्रश्नमा ट्रम्पले भनेः "होइन, मलाई त्यस्तो लाग्दैन। मलाई लाग्छ सबै ठीक हुने छ। सी जिन्पिङ युद्ध हेर्न चाहँदैनन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।