बर्खामा पुरानै घाउ बल्झिने डरमा मेलम्चीको पानी बन्द, दिगो समाधान कहिले भेटिएला

मेलम्ची खानेपानी योजना

तस्बिर स्रोत, MWSDB

    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

मेलम्ची खानेपानी संरचना रहेको स्थानमा बिहीवार खोलाको पानीमा बढेको धमिलोपना र पानीको कारण त्यहाँको अस्थायी संरचनामा पुगेको क्षतिका माझ "केही अवधि"का निम्ति सुरुङबाट काठमाण्डू पानी पठाउने काम बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

विसं २०७८ को असार १ र साउन १६ मा मेलम्चीमा आएको भीषण बाढी तथा गेग्रान बहावले उक्त खानेपानी परियोजनाको सुरुङमा पानी पसाउने संरचना वा मुख्य 'हेडवर्क्स' लाई व्यापक क्षति पुगेयता हरेक वर्ष बर्खामा मेलम्ची बन्द हुने गरेको छ।

काठमाण्डू उपत्यकाका लाखौँ मानिसहरूको दैनिक जीवनसँग सोझै जोडिने यस महत्त्वपूर्ण परियोजना अस्थायी रूपमा बन्द हुँदा पनि खानेपानीको वैकल्पिक व्यवस्था गरेर सकेसम्म कम अप्ठेरो पर्ने गरी काम गरिने काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले बताएको छ।

तर विगतमा उसले वाचा गरे पनि खानेपानीको अभावले उपभोक्ता धेरै मारमा पर्ने गरेका थिए।

यसपालि कति समय होला बन्द?

बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको संरचना

तस्बिर स्रोत, MWSDP

"बिहीवार मेलम्ची खोलाको पानीमा धमिलोपन पनि बढ्यो र त्यहाँको अस्थायी बाँधमा पनि क्षति पुग्यो। त्यसैले तत्कालका निम्ति हामीले पानी आपूर्ति बन्द गरेका छौँ," मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले बताएका छन्।

अहिले समितिले बन्द रहने अवधि तोकेको छैन।

प्रत्येक वर्षजसो यो वर्ष पनि बर्खाको अवस्था हेरेर सुरुङमा पानी पठाउने काम बन्द गर्ने योजना समितिको थियो।

गत वर्ष छेउको रिवर्माखोलाको पानी सुरुङमा पसाएर वैकल्पिक व्यवस्था गरिएकोमा यो वर्ष चाहिँ त्यसो गर्ने योजना नरहेको उपाध्यायले बताए।

"यो सुरुङको भित्री सरसफाइ तथा अन्य अत्यावश्यक जाँचका कामहरू भएका छैनन्। यो वर्ष सुरुङ बन्द रहेको मौकामा ती कामहरू गर्ने हाम्रो योजना छ," उनले भने।

समितिको उक्त योजना माथिल्लो निकायले मानेमा सुरुङको सरसफाइ तथा जाँचका कार्यहरू गरिने अधिकारीहरूले बताए।

वैकल्पिक व्यवस्था

सुन्दरीजलस्थित जलाशय

तस्बिर स्रोत, MWSDP

तस्बिरको क्याप्शन, मेलम्चीको पानी २०७७ फागुन २२ मा सुन्दरीजल आइपुगेको थियो

दैनिक १७ करोड लिटर पानी काठमाण्डूलाई आपूर्ति गरिरहेको मेलम्ची अकस्मात् बन्द हुँदा त्यसले निश्चय नै सर्वसाधारण उपभोक्तालाई असर पर्ने देखिन्छ।

खानेपानी आपूर्तिको जिम्मा पाएको केयूकेएलले सकेसम्म आन्तरिक क्षमताबाट वैकल्पिक व्यवस्थापन मिलाइने बताएको छ।

"साविकमा मेलम्चीबाट दैनिक १७ करोड लिटर अनि हामीले आन्तरिक स्रोतहरूबाट ७-८ करोड लिटर पानी आपूर्ति गर्दै आएका हौँ। बर्खामा हाम्रो आन्तरिक स्रोतबाट २२-२३ करोड लिटर आपूर्ति गर्न सकिन्छ। त्यसैले एकदम धेरै असर पर्न दिँदैनौँ," केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले भने।

"भक्तपुरको महादेवखोला, ललितपुरको देवकी, बासुकी, नल्लुलगायत, फर्पिङको शेषनारायण साथै अन्य खोलाबाट थप आपूर्ति गर्न सकिन्छ," उनले भने।

दिगो समाधान कहिले?

मेलम्चीको १७ करोड लिटर दैनिक पानीमा छेउछाउका याङ्ग्री र लार्केखोलाबाट थप १७/१७ करोड लिटर पानी जम्मा गरेर दीर्घकालसम्मका निम्ति काठमाण्डूको तिर्खा मेटिने वाचा एकपछि अर्को सरकारले गर्दै आएको हो।

तर २०७८ सालको विनाशले मेलम्चीकै १७ करोड लिटर पनि अहिले बाह्रैमास आउन सकेको छैन।

"त्यतिखेर क्षतिग्रस्त भएको हेडवर्क्सको साटो त्योभन्दा करिब ९०० मिटर पर रहेको अर्को स्थानमा अर्को हेडवर्क्स बनाउने गरी अध्ययन तथा डिजाइनका काम भइरहेको छ," उपाध्यायले भने।

मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी मधु तिमिल्सिनाका अनुसार त्यस्तो डिजाइनको काम यही सेप्टेम्बरमा सकिने र त्यसपछि निर्माणका अन्य प्रक्रिया सुरु हुन सक्छ।

अर्थात् सरासर काम भएपनि केही थप दुई-चार वर्ष यही स्थिति रहने देखिएको छ।

अहिलेको ढिलाइलाई त्यहाँको भौगोलिक जटिलताका कारण स्वाभाविक नै मान्न सकिने भूगर्भशास्त्रका प्राध्यापक रञ्जन दाहालले बताए।

"मैले त्यो ठाउँको अवस्थिति हेरेको छु। नजिकै एउटा भीमकाय पहिरो छ जुन चिप्लिएको छ। त्यसैले त्यसले समस्या नपार्ने हिसाबले नयाँ हेडवर्क्स बनाउनुपर्ने स्थिति छ," उनले भने।

त्यस्तै समस्या समाधानका लागि अहिलेको डिजाइनमा नयाँ हेडवर्क्सको केवल मुखमात्रै बाहिर बाँकी संरचना भूमिगत हुने किसिमले बनाउने योजना एक जानकारले सुनाए।

मेलम्चीको तिथिमिति

२०७७ सालको फागुनमा मेलम्ची खानेपानी आयोजना निर्माण सुरु भएको झन्डै २२ वर्षमा पानी काठमाण्डू आइपुगेको थियो। त्यसको अगाडि र पछाडि यो परियोजनाले निकै उतारचढाव बेहोरेको छ। यसका केही महत्त्वपूर्ण तिथिमिति यस प्रकार छन्:

  • विसं २०२९: खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन
  • विसं २०४१: मेलम्चीसहित २२ विकल्प पहिचान
  • विसं २०४९: याङ्ग्री र लार्के समेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने मेलम्ची आयोजना आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको ठहर
  • विसं २०५५: मेलम्ची खानेपानी विकास समिति गठन भई निरन्तर कार्य जारी
  • विसं २०६४: नेपाल सरकार र प्रमुख दाता एशियाली विकास ब्याङ्कबीच आयोजना पुनर्संरचना गरी ६ वर्षभित्र सम्पन्न गर्ने सहमति। पुनर्संरचनामार्फत् आयोजनालाई दुई भागमा विभाजन - मुख्य पानी पथान्तरण कार्य विकास समितिमार्फत्, अनि वितरण तथा व्यवस्थापन कार्य काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमार्फत् हुने निर्णय
  • विसं २०७७ फागुन २२: मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो
  • विसं २०७७ चैत १५: मेलम्चीको पानी परीक्षण वितरणस्वरूप उपत्यकावासीको धारामा
  • विसं २०७७ चैत २०: राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन
  • विसं २०७८ असार १: बाढीबाट ठूलो क्षति
  • विसं २०७८ साउन १६: लेदो गेगरानसहितको भेलले थप क्षति

त्यसयता हरेक वर्ष बर्खामा मेलम्चीको सुरुङबाट पानी पठाउने कार्य बन्द गरिँदै आएको छ। वैकल्पिक नयाँ हेडवर्क्सको अध्ययन भई डिजाइनका काम भइरहेको बताइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।