ग्यासबारे विवादास्पद बोलीपछि मन्त्री हेरफेर, कस्तो छ आपूर्ति व्यवस्था?

पदभार सम्हाल्न जाँदै नवनियुक्त आपूर्तिमन्त्री दीपककुमार साह

तस्बिर स्रोत, Nepal Photo Library

    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

तीन दिनयता अघिपछिको सामान्य अवस्थाकै हाराहारी सङ्ख्यामा ग्यास भरिएका सिलिन्डर काठमाण्डू उपत्यका भित्रिरहेको नेपाल आयल निगम तथा ग्यास उद्योगी तथा विक्रेताहरूले बताएका छन्।

तथापि अभावको अवस्था सामान्य हुन अझै केही साता लाग्ने उनीहरूको अनुमान छ।

यसैबीच काठमाण्डू उपत्यकालगायतका ठाउँमा देखिएको खाना पकाउने ग्यास अभावका माझ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्। उनका ठाउँमा दीपककुमार साह नियुक्त भइसकेका छन्।

काठमाण्डूको आवतजावत तथा आपूर्ति प्रणालीको मुख्य मार्ग पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा भदौ १० गतेको रसुवा बाढीपश्चात् भदौ १४ गते त्रिशूलीले कटान गरेर सडकखण्ड नै बगाइदिएपछि अहिले ग्यास बोक्ने ठूला बुलेट गाडीको आउजाउ ठप्प छ।

विकल्पमा तराईमै ग्यासका सिलिन्डर भरेर ट्रकहरूमार्फत् ल्याउन थालिएको छ।

कति आइरहेको छ ग्यास?

खाना पकाउने ग्यासको लाइन

तस्बिर स्रोत, RSS

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भदौ १८ गतेदेखि वैकल्पिक रूपमा बाहिर नै सिलिन्डर भरेर ल्याउन थालिएकामा अहिले त्यसरी आपूर्ति भएको परिमाणमा उल्लेखनीय वृद्धि भइरहेको बताए।

"गत १८ गते साढे २४ हजार सिलिन्डर त्यसरी भित्रिएको थियो। विगत तीन दिनयता हरेक दिन ४० हजारभन्दा धेरै सिलिन्डर ग्यास भित्रिएका छन्। बुधवार त ५० हजारभन्दा धेरै सिलिन्डर लोड गरेर पठाइएको छ," ठाकुरले भने।

उनका अनुसार उपत्यकाको औसत दैनिक माग ३५ देखि ४० हजार सिलिन्डर ग्यास हो।

अचेल चितवन, हेटौँडा, बारा, पर्सा, भैरहवा, नवलपरासीलगायतका ठाउँका ग्यास उद्योगहरूबाट सिलिन्डर भरेर पठाइने गरिएको बताइन्छ।

"केही दिनयता हरेक दिन कहिले ४०, कहिले ४८ अनि कहिले ५३ हजार सिलिन्डर ग्यास भरेर आइरहेका छन्। उपत्यकाको माग भनेको ४०-४५ हजार नै हो," नेपाल एलपी ग्यास उद्योग सङ्घका महासचिव अमित अग्रवालले बताए।

ग्यास विक्रेता महासङ्घका महासचिव विनोद काफ्ले पनि केही दिनयता धेरै परिमाणमा ग्यास भरिएका सिलिन्डरहरू भित्रिरहेको बताउँछन्। तर बाहिर भरेर काठमाण्डू ल्याउनुपर्दा त्यसको आफ्नै जटिलता रहेको उनले सुनाए।

"उता सिलिन्डर लोड हुनेबित्तिकै उद्योगहरूले यति सङ्ख्यामा भित्रियो भन्छन् तर त्यो आउन अलि समय लाग्ने गर्छ। कतै बाटोको कारण अनि कतै ढुवानीका साधनको उपलब्धताका कारण। बुधवारबाट उद्योगीहरूले ढुवानीका साधन पनि बढाएको भन्ने आएको छ," काफ्लेले भने।

तर किन निरन्तर 'चरम' अभाव?

कृष्णभीरको अवरोधका कारण बाहिरबाट बुलेट गाडी आउन नपाएको मात्र नभई यहीँ काठमाण्डूमा त्यसअघि आएका कैयौँ बुलेटसमेत अड्किएको उनले बताए।

"खाली सिलिन्डर यहाँबाट लिएर जाऊ अनि त्यहाँ भर र फेरि लेराउ गर्दा सामान्य आपूर्ति शृङ्खलामा उथलपुथल भइरहेको छ," काफ्लेले भने।

भदौ १४ गतेदेखि १८ गतेका बीचमा आपूर्ति पूरै ठप्प हुँदा उपत्यकामा करिब दुई लाख सिलिन्डरको वितरण हुन नपाएको रिक्तताले अहिले पर्याप्त आपूर्ति हुँदा पनि अभाव नरोकिएको अग्रवाल ठान्छन्।

बर्खाको समयमा बेलाबखत बाटो अवरोध भइराख्ने डर अनि चाडपर्व नजिकिएको समय हुनाले ग्राहकहरूले ग्यासको जोहो गरिहाल्न खोजिरहेको व्यवसायीहरू ठान्छन्।

अग्रवाल र काफ्ले दुवैले अहिलेको अभाव चरम भइदिनुमा विगतमा सरकारले ल्याएको आधा सिलिन्डर ग्यास मात्र बिक्रीवितरण गर्ने नियमलाई पनि मुख्य दोष दिएका छन्।

ग्यासको सिलिन्डर बोकिरहेकी एक महिला

तस्बिर स्रोत, EPA

त्यति बेला आधा सिलिन्डर लिन ग्राहकले रुचि नदेखाएको र पछि पूरा सिलिन्डर दिन थाल्नेबित्तिकै अकस्मात् माग बढेको उनीहरू सुनाउँछन्।

माग र आपूर्तिबीचको उक्त असन्तुलनका माझ बाढीले मुख्य राजमार्ग ठप्प हुँदा अभाव निकै कचल्टिएको छ।

बिहीवार प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार कृष्णभीरको अवरुद्ध सडकमा भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र पारिएको छ।

"सो सडक चल्न थालेपछि पनि आपूर्ति प्रणाली सामान्य अवस्थामा फर्कन कम्तीमा १५ दिन लाग्न सक्छ," अग्रवालले बताए।

मन्त्रीको राजीनामा किन?

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव

तस्बिर स्रोत, Minister's Secretariat WhatsApp

तस्बिरको क्याप्शन, विवादास्पद अभिव्यक्ति दिएको भोलिपल्ट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्

मन्त्री गौरीकुमारी यादवले बुधवार ग्यास उद्योगीव्यवसायीलाई 'पाता फर्काउनु'पर्ने अभिव्यक्ति दिएपछि त्यसको निकै आलोचना भइरहेको थियो।

नेपाल उद्योग वाणिज्य महासङ्घले बिहीवार एक विज्ञप्ति जारी गर्दै "ग्यासको आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधान गरी उपभोक्तालाई सहज र नियमित आपूर्ति सुनिश्चित् गर्नुपर्ने संवेदनशील समयमा सम्पूर्ण उद्योगी–व्यवसायीलाई दोषी देखाउने तथा 'उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन' भन्ने जस्तो अभिव्यक्ति आउनु अत्यन्तै आपत्तिजनक, गैरजिम्मेवार र दुःखद भएको" जनाएको थियो।

नेपाल उद्योग परिसङ्घले उनको अभिव्यक्तिले समस्त "निजी क्षेत्र निराश भएको" जनाएको छ।

ती आलोचनाका माझ बिहीवार नै मन्त्री यादवको ठाउँमा दीपककुमार साहले नयाँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको शपथ लिएका छन्।

६ महिनामा ३ मन्त्री हेरफेर

बालेन शाह नेतृत्वको मन्त्रिमण्डल चैत १३ मा बनेको हो।

त्यसको दुई साता नबित्दै तत्कालीन श्रममन्त्री दीपक साह पदमुक्त भएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई श्रममन्त्रीले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै कारबाही गर्न सिफारिस गरेलगत्तै उनलाई पदमुक्त गरिएको थियो।

श्रममन्त्रीले "मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस" गरिएको प्रधानमन्त्री कार्यालयले त्यतिखेर जनाएको थियो।

"यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस" गरेको उल्लेख गरिएको थियो।

गृहमन्त्री सुधन गुरुङले पनि नयाँ सरकार बनेको एक महिना नपुग्दै वैशाख ९ गते राजीनामा दिएका थिए।

उनले बुझाएको सम्पत्ति विवरणमा नखुलाइएको शेअर लगानीको स्रोतसहितका विषयमा प्रश्न उठेपछि पदबाट राजीनामा दिएका थिए।

तर पछि गुरुङको सम्पत्ति छानबिनबारे गठित समितिले प्रतिवेदन सरकारलाई बुझाएको केही दिनपछि जेठ २६ गते प्रधानमन्त्री शाहले उनलाई फेरि गृहमन्त्रीमै नियुक्तिको सिफारिस गरेका थिए।

बालेन शाह मन्त्रिमण्डलबाट हट्ने गौरीकुमारी यादव पछिल्लो मन्त्री हुन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।