कोप३१ सम्मेलनमा गहिरा विभाजन देखिएसँगै जलवायुसम्बन्धी महत्त्वपूर्ण सम्झौता हुन सकेन

कोप३१ सम्मेलन
Published
पढ्ने समय: ३ मिनेट

संयुक्त राष्ट्रसङ्घको कोप३१ वार्तामा टर्कीमा जीवाश्म इन्धन र पैसाबारे गहिरा विभाजन देखापरेपछि देशहरूले जलवायु परिवर्तनसँग जुध्न महत्त्वपूर्ण रहेको नयाँ सम्झौता गर्न सकेनन्।

वार्ता शुक्रवार सकिने तय थियो तर साझा आधार खोज्ने प्रयास आइतवार अबेरसम्म चल्यो र यो सम्मेलन संयुक्त राष्ट्रसङ्घ को जलवायुसम्बन्धी इतिहासकै सबैभन्दा लामो सम्मेलन बन्न पुग्यो।

तर अन्तिम सम्झौता युरोपेली सङ्घ, प्रशान्त टापु राष्ट्रहरू र अन्यका लागि अस्वीकार्य साबित भयो किनभने यसले जीवाश्म इन्धनको उल्लेख गरेन जुन विश्वव्यापी तापक्रम वृद्धिको मुख्य कारण हो।

यसैबीच, धेरै गरिब देशहरूले धनी राष्ट्रहरूबाट बढ्दो तापक्रमका प्रभावहरूमा अनुकूलन गर्न कुनै स्पष्ट वित्तीय प्रतिबद्धता नभएकोमा आपत्ति जनाए।

यसअघि पछिल्लो पटक सन् २००९ मा कोपनहेगनमा भएको कोप सम्मेलनमा महत्त्वपूर्ण राजनीतिक सम्झौता हुन सकेको थिएन।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले राजीनामा दिनुअघि आफ्नो अन्तिम कोप सम्मेलनमा आफू "गहिरो रूपमा निराश" भएको बताए।

उनै शब्दमा "शक्तिशाली जीवाश्म इन्धन स्वार्थहरू"लाई देशहरूले आफ्नो लक्ष्य बनाए जसले "बिग टोब्याकोको प्लेबुकको पन्नाबाट: विज्ञानलाई विकृत गर्ने, नीति ढिलाइ गर्ने, कार्यलाई अवरुद्ध गर्ने, र मानिसहरूले सबैतिर मूल्य चुकाइरहँदा नाफा थुपार्ने गरेको" बताए।

कसले के भने?

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनिजले असफलतालाई "कठिन भूराजनीतिक समय" को कारण बताए। अस्ट्रेलिया वार्ताहरूको सहआयोजक देश हो।

"यो वास्तविकता हो," उनले सोमवार भने।

दुई साताको वार्तापछि थाकेका प्रतिनिधिहरूलाई आइतवार बिहानै नयाँ मस्यौदा सम्झौता प्रस्तुत गरियो जसले गतिरोध तोड्ने प्रयास गर्‍यो।

तर "जीवाश्म इन्धन" शब्दहरू मस्यौदामा कतै देखिएनन्। कोइला, तेल र ग्यासको एकमात्रै अप्रत्यक्ष उल्लेख सन् २०२३ मा कोप२८ मा राख्ने सम्झौतामा थियो जब देशहरूले ऊर्जा प्रणालीहरूमा जीवाश्म इन्धनबाट "क्रमश: छोड्दै जाने" सहमति गरेका थिए।

युरोपेली सङ्घ ईयुका प्रतिनिधि तथा आयरल्यान्डका मन्त्री डराघ ओ'ब्रायनले युरोपेली सङ्घले "कडा" विरोध गरेको स्पष्ट पार्दै भने, "निर्णयहरू जलवायु परिवर्तनसँग जुध्न आवश्यक महत्त्वाकाङ्क्षा स्तरमा पुग्दैनन्।"

"हामीसँग जीवाश्म इन्धनको कुनै उल्लेख नभएको जलवायु सम्झौता हुनु अस्वीकार्य छ," उनले भने।

पानामा र मार्शल आइल्यान्डस्‌ जस्ता देशहरूले पनि यो सम्झौताले जलवायु परिवर्तनको गति सामना गर्न पर्याप्त नगरेको भन्दै आलोचना गरे।

सोमवार सम्झौताको पहिलो मस्यौदामा "जीवाश्म इन्धन" वा "जीवाश्म इन्धनहरू" छ पटक उल्लेख गरिएको थियो तर त्यो तेल उत्पादन गर्ने राष्ट्रहरूका लागि स्वीकार्य थिएन।

साउदी अरेबियाका प्रतिनिधि मोहम्मद अयूबले अरब देशहरूले "राम्रो विश्वासमा निरन्तर संलग्न" रहने तर आफूहरूले ऐतिहासिक हरितगृह ग्यास उत्सर्जनको सानो हिस्सामात्रै ओगटेको बताए।

रुसले कोइला, तेल र ग्यासका विषयमा "नारामा नफर्किन" चेतावनी दियो। यदि देशहरूले जीवाश्म इन्धनबाट छिटो टाढा भए भने यसले "इन्धन गरिबी" निम्त्याउने दाबी रुसले गरेको हो।

अर्को ठूलो समस्या भनेको गरिब देशहरूलाई जलवायु परिवर्तनका प्रभावहरू जस्तै तीव्र तातो लहर र गम्भीर खडेरीमा अनुकूलन गर्न पैसा उपलब्ध गराउनु हो। गत वर्ष ब्राजिलमा भएको कोप३० मा देशहरूले त्यो उद्देश्यका लागि वित्तलाई तीन गुणा बनाउन सहमति जनाएका थिए।

तर यो वर्षको सम्झौतामा कुनै ठोस तथ्याङ्कको उल्लेख थिएन। न त त्यो प्रतिबद्धता मापन गरिने आधाररेखा नै थियो। यसले धनी देशहरूलाई धेरै सङ्घर्ष गर्ने ठाउँ दिने डर बढाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।