तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'आफ्नै'ले केपी ओलीको विकल्प खोज्दा 'नेतृत्व रक्षा' विषय किन उठ्यो
नेकपा एमालेमा नेतृत्व परिवर्तनको मुद्दाले प्रवेश पाएको भनिएको सचिवालय बैठक आइतवार अबेर राति सम्पन्न भएको छ।
पार्टी उपमहासचिव लेखराज भट्टले बैठकसँगै पार्टी पङ्क्ति र आम जनतामा उत्साह सञ्चार हुने आफूले देखेको बताए।
नेतृत्व परिवर्तनको जारी बहसबारे उनले भने, "बहस यो बैठकको अन्त्यसँगै अन्त्य भएको छ। कार्यदलको जे प्रतिवेदन आउँछ त्यसमाथि फेरि छलफल हुन्छ। त्यो केन्द्रीय समितिमा जान्छ र निर्णय गर्छ।"
अध्यक्ष केपी शर्मा ओली निकट सचिव महेश बस्नेतका अनुसार अध्यक्षले जेजे प्रस्ताव राखेका थिए त्यो सर्वसम्मतिले पारित भएको छ।
रामबहादुर थापाको अध्यक्षतामा कार्यदलले निर्वाचनको समीक्षासँग सम्बन्धित विषयमा एक महिनाभित्र प्रतिवेदन दिने बताइएको छ।
"अध्यक्षलाई नै अझ सशक्त ढङ्गले अगाडि बढाउने बैठकको भाव हो। बाहिर केपी ओलीको पक्षमा दुई जना थिए, चार जना थिए भनेर जुन ३-४ दिनको रमिता साथीहरूले मिडियाबाट गर्नुभयो त्यो आजबाट सकियो," बस्नेतले भने, "राजनीतिक सङ्गठनात्मक नीतिगत र कतिपय तलका कमिटीगत पुनर्गठनको आवश्यकता भए कार्यदलले सुझाव दिने छ।"
तर नेतृत्व परिवर्तनको पक्षमा रहेका एक नेताले कार्यदल बन्नु नै ओलीको नेतृत्व परिवर्तनको औपचारिक प्रस्थान सुरु भएको बीबीसीलाई बताए।
पाँच महिनाअघि गत पुसमा सम्पन्न महाधिवेशनमा ओली सहित ठूलो सङ्ख्यामा उनी पक्ष निर्वाचित भएका छन्।
तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा अलगै समूह बनाएर महाधिवेशनमा प्रतिस्पर्धामा उत्रिएको थियो।
विशेष महाधिवेशनको सामना गर्ने सामर्थ्य छ?
तर आम चुनावमा बेहोरेको ठूलो हारपछि एमालेभित्र ओली निकट नेताहरूनै उनलाई काँध थाप्न नसकिने निचोडमा पुगेको देखिएको छ।
सचिवालयका कतिपय सदस्यले राजीनामा दिन भनेपछि प्रतिवादमा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हट्न भन्न नमिल्ने तर्क आएको बताइएको छ।
ओलीले सहज रूपमा मार्ग प्रशस्त नगरेमा विशेष महाधिवेशन आह्वान गरिने पोखरले पक्षका नेताहरूले बताउँदै आएका छन्।
ओली निकट नेताहरू त्यो सामना गर्न तयार छन्?
"हामी भर्खरै महाधिवेशनबाट आएका छौँ। विशेष महाधिवेशनकै ठाउँमा पुग्छ भन्ने मलाई लाग्दैन। जे निर्णय गरे पनि संस्थागत ढङ्गले हुनुपर्छ," केन्द्रीय सदस्य सुनिता बराल भन्छिन्, "चुनावपछि बृहत् समीक्षा भएको थिएन। सचिवालयमा छलफल हुनु स्वाभाविक हो। पदाधिकारी बैठकबाट हुने मार्गदर्शन र केन्द्रीय कमिटी बैठकमा पुगेर निर्णय गर्ने कुरा हुन्छ।"
सचिवालय प्रतिकूल बनेको देखिएपछि ओली पक्ष केन्द्रीय कमिटीप्रति निर्भर हुने देखिएको छ।
ओली निकट अर्का केन्द्रीय सदस्य किरण पौडेलले पनि छलफल केन्द्रीय कमिटीसम्म पुग्ने सङ्केत दिए।
"विशेष महाधिवेशनको तयारीबारे यसअघि पनि फरक फरक विषयहरू सामान्य अवस्थामा पनि आइरहन्थे," उनी भन्छन्, "केही कुरा उठ्यो भने केन्द्रीय कमिटीको बैठकले छिनोफानो गर्छ।"
एमालेको विधानमा भएको विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरु भएको थियो। तर ओली निकट नेताहरूले नै वैधानिक प्रक्रिया र निकायबाटै निकास निकाल्ने आश्वासन दिएपछि त्यो प्रक्रिया अहिले रोकिएको छ।
कांग्रेस हेरेर सिक्ने सल्लाह
तर ओली निकट नेताहरू नेपाली कांग्रेसको जस्तै अवस्था एमालेमा निम्त्याउन खोजेको बताउँछन्।
नेता पौडेलका भनाइमा राजनीतिक दलको जीवनमा धेरै किसिमका उतार चढाव आउँछन्। नेपालका पुराना दलहरूमध्ये एमाले मात्रै होइन, जेन जी आन्दोलन लगत्तै कांग्रेसमा पनि त्यस्तै अवस्था आयो। उनले विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन गरिएको विषयतर्फ सङ्केत गरे।
"तर त्यसले कांग्रेस र सिङ्गो राष्ट्रलाई राम्रो गरेन। त्यस्तै अवस्था एमालेभित्र देखिन थालेको छ," उनले भने, "अहिले पुराना दलहरू विरुद्ध चौतर्फी घेराबन्दी छ। त्यसको केन्द्रमा एमाले छ। यसरी सिङ्गो पार्टी र मूल नेतृत्वविरुद्ध चौतर्फी हमला र घेराबन्दी भइरहेको अवस्थामा जे जस्तो गर्न खोजिँदै छ यो सही होइन।"
उनले कांग्रेसमा देखिएको घटनाक्रमबाट शिक्षा लिनुपर्ने बताउँदै कुनै व्यक्ति, नेतृत्व वा केही विषय भए आन्तरिक छलफलबाट समाधान गर्न सकिने बताए।
नेता पौडेलले भने, "स्वाभाविक र विधिसम्मत रूपमा महाधिवेशनबाट आएको नेतृत्व र सीमित व्यक्तिलाई लक्षित गरेर बीच बाटोबाटै परिवर्तन वा अपदस्त गर्ने खोजिएको कुरा जुन आएको छ, सही होइन। त्यसका आफ्ना विधि प्रक्रिया हुन सक्छन्।"
ओली मात्रै कसरी जिम्मेवार?
प्रतिकूल अवस्थामा नेतृत्वको रक्षाको तर्क गरिरहेका ओली पक्षीय नेताहरूले चुनावी हारको जिम्मेवारीको विषयलाई फरक रूपमा प्रस्तुत गरेको पाइन्छ।
खास गरेर जेन जी आन्दोलन लगत्तै एमालेमा नेतृत्व परिवर्तनको विषय उठे पनि त्यसपछि भएको महाधिवेशनबाट ओली बलियो रूपमा स्थापित भए। त्यस बेला पूर्व वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षले ओलीलाई घोषित रूपमा विस्थापित गर्ने प्रयास गरेको थियो।
तर सकेन। त्यस बेला ओली पक्षबाट निर्वाचित पदाधिकारीहरू समेत अहिले भने नेतृत्व परिवर्तनको पक्षमा खुलेको बताइएको छ। त्यसो गरेका भनिएका नेताले भने बैठकमा त्यस्तो अभिव्यक्ति दिएकोबारे खुला रूपमा बताएका छैनन्।
एमाले नेतृ बरालका भनाइमा व्यक्ति परिवर्तन पनि छलफलको विषय बन्छ।
"तर मूलतः एमालेको एजेन्डा नै प्रधान विषय बनाउनु पर्छ। हामीले परिवर्तनको सन्देश दिँदा व्यक्ति र विषय दुबैबाट दिन सक्यौँ भने मात्रै हामी सफल हुन्छौँ," उनको भनाइ छ।
उनले पनि चुनावमा एमालेले मात्र नभई सबैजसो पुराना दलले हार बेहोरेको बताइन्।
"त्यो एक जनाको निम्ति मात्रै लागु हुन्छ? त्यो अध्यक्ष मात्रैको विषय हुँदैन," उनले भनिन्, "कसले कति जिम्मा लिने भन्ने कुरा विभाजन होलान् तर सामूहिक नेतृत्व नै जबाफदेही बन्नु पर्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।