तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ब्रह्माण्डको विशाल नक्साले रहस्यमय 'डार्क एनर्जी' बारे गरेका नयाँ सङ्केतहरू
- Author, कार्लोस सेर्रानो
- Role, बीबीसी न्यूज मुन्डो
- Published
- पढ्ने समय: ५ मिनेट
पाँच हजारवटा 'फाइबर-अप्टिक आई' जडान गरिएको एउटा शक्तिशाली उपकरणले ब्रह्माण्डको विशाल नक्सा देखाइदिएको छ। उक्त विशालतम नक्साले ब्रह्माण्डसम्बन्धी विद्यमान हाम्रो धारणालाई चुनौती दिन्छ।
संयुक्त राज्य अमेरिकाको एरिजोनामा अवस्थित किट पीक न्याश्नल अब्जर्भेटरीमा राखिएको 'डार्क एनर्जी स्पेक्ट्रस्कोपिक इन्स्ट्रूमन्ट' (डेसी) नामक उक्त उपकरणले ४.७ करोड वटाभन्दा बढी तारापुञ्ज र क्वेजार अनि २ करोडवटाभन्दा ताराको तस्बिर खिचेको छ।
यो सङ्ख्या विगतमा गणना गरिएका तारापुञ्ज र अन्य ब्रह्माण्डीय वस्तुको कुल सङ्ख्याभन्दा छगुना बढी हो।
ती तस्बिरहरू ११ अर्ब प्रकाशवर्ष टाढासम्मका छन्। अर्थात् डेसीले ब्रह्माण्डको उत्पन्न भएताका तारापुञ्जहरू प्रारम्भिक चरणमा हुँदाकै बेलाको तस्बिर खिचेको छ। कोलम्बियास्थित ईसीसीआई विश्वविद्यालमा खगोलशास्त्रसम्बन्धी शोधकर्ता लुस आन्हेला गार्सिआका अनुसार त्यो समय भनेको झन्डै १३.७ अर्बअघिको हो।
यो नक्साले तारापुञ्जहरूको संरचना र ती कसरी बने भन्ने विषय अझ राम्ररी बुझ्न सघाउँछ भने अहिलेसम्म विज्ञानमा निकै ठूलो रहस्य मानिएको 'डार्क एनर्जी'बारे नयाँ सङ्केतहरू दिन्छ।
आकाशको नक्साङ्कन
डेसीले पाँच वर्षमा आकाशको एकतिहाइ भाग नक्साङ्कन गरेको छ। त्यस क्रममा उक्त शक्तिशाली उपकरणले एक रातमा एक लाख वटाभन्दा बढी तारापुञ्ज नापेको थियो।
तारापुञ्जहरूबाट निस्किएको प्रकाश पृथ्वीतिर आउँदा फाइबर-अप्टिक डिटेक्टरजडित उक्त उपकरणले ती तारापुञ्जको 'स्पेक्ट्रम' अर्थात् रङ्गहरूको वर्णक्रम मापन गर्न र ब्रह्माण्ड कति फैलिएको छ भनेर गणना गर्न सक्छ।
तर डेसीको अर्को ठूलो उपलब्धि चाहिँ यसले 'डार्क एनर्जी' बुझ्नका लागि सङ्केत गरेको नयाँ दृष्टिकोण हो। ब्रह्माण्डको ७० प्रतिशत तत्त्व 'डार्क एनर्जी'मा आधारित छ र त्यसले ब्रह्माण्डलाई फैलिन उत्प्रेरित गर्ने शक्तिले जसरी काम गर्ने मानिन्छ।
त्यसबाहेक वैज्ञानिकहरूलाई डार्क एनर्जीबारे खासै धेरै जानकारी छैन।
अहिलेसम्म डार्क एनर्जीलाई 'कोस्मलोजिक कोन्स्टन्ट' अर्थात् 'ब्रह्माण्डीय स्थिराङ्क' मानिएको छ।
अल्बर्ट आइन्स्टाइनले आफूले प्रतिपादन गरेको सापेक्षताको सामान्य सिद्धान्तको समीकरणमा पनि उक्त स्थिराङ्कलाई ठाउँ दिएका छन्। क्लेअर क्यामरनले 'साइन्टिफिक अमेरिकन' म्यागजीनमा प्रकाशित एउटा आलेखमा त्यसले ब्रहाण्ड स्थिर रूपमा विस्तार भइरहेको छ भन्ने मान्यतालाई व्याख्या गर्ने जनाएकी छन्।
विकास हुँदै गरेको ऊर्जा
यो नयाँ खोजले डार्क एनर्जी स्थिर रहँदैन बरु समयक्रमसँग विकसित हुन्छ भन्ने मान्यतालाई अझ बलियो बनाइदिएको छ। डेसीले केही समयदेखि त्यो प्रवृत्ति अवलोकन गर्दै आएको थियो।
डेसीले सन् २०२५ मा डार्क एनर्जीको 'प्रतिगुरुत्वाकर्षणीय प्रभाव' कमजोर बन्दै गएको हुन सक्ने घोषणा गरेको थियो।
अन्तरिक्ष फैलिँदा तारापुञ्जहरूबीच हुने ठाउँ पनि बढ्छ। डार्क एनर्जीले उक्त विस्तारको गति बढाइदिन्छ।
तर यदि डार्क एनर्जी साँच्चै कमजोर हुँदै गएको छ भने त्यसले ब्रह्माण्डबारे हाम्रो ज्ञानलाई प्रभावित पार्न सक्छ।
अहिलेसम्म डार्क एनर्जी स्थिरप्रायः रहन्छ भन्ने मान्यता सर्वस्वीकार्यजस्तै छ।
"तसर्थ हाम्रो ब्रह्माण्डको भविष्य डार्क एनर्जीलाई ब्रह्माण्डको हिसाबकिताबमा समावेश गरिँदाको भन्दा भिन्न छ भन्ने यी नयाँ सङ्केतहरूले देखाउँछन्," गार्सिया भन्छिन्।
डार्क एनर्जीबारे डेसीले गरेको घोषणाबाट ब्रह्माण्ड कसरी चल्छ भन्ने मोडलमा, ऊर्जा र पदार्थबीचको सन्तुलनमा अनि ब्रह्माण्डको अन्त्य कसरी होला भन्ने बुझाइमा आमूल परिवर्तन ल्याइदिन सक्छ।
"डार्क एनर्जी स्थिर रहँदैन र यो क्षीण हुँदै गएको छ भने त्यसबाट आधुनिक ब्रह्माण्डविज्ञानको समग्र मानक स्वरूप फेरिन्छ," दक्षिण कोरियास्थित यन्से विश्वविद्यालयका यङ वुक लीले गत वर्ष एउटा अन्तर्वार्तामा भनेका थिए।
यदि त्यसो हो भने यस्तो समय आउँछ जसमा डार्क एनर्जी यति कमजोर बन्छ कि गुरुत्वाकर्षणका कारण आकाशगङ्गाहरू एकैठाउँ आइपुग्छन् र अन्ततः खगोलशास्त्रीहरूले भन्ने गरेको 'बिग क्रन्च'को स्थिति उत्पन्न हुन्छ।
विशाल नक्सा
डेसी प्रयोग गर्ने अनुसन्धानकर्ताहरू १७,००० वर्ग डिग्री क्षेत्र समेट्न अब नक्साको आकार २० प्रतिशतले बढाउने योजनामा छन्। कुनै वस्तुले आकाशमा ओगट्ने क्षेत्रफल निर्धारण गर्न उक्त एकाइ प्रयोग गरिन्छ। उदाहरणका लागि, चन्द्रमाले आकाशमा ०.२ वर्ग डिग्री भाग ओगट्छ।
"पाखुरा फिँजाएर हात सीधा अगाडि राख्दा कान्छीऔँलाको नङले आकाशको झन्डै १ वर्ग डिग्री भाग ढाक्छ," खगोलभौतिकशास्त्री इथान सीगल 'बिग थिङ्क' वेबसाइटमा भन्छन्।
नक्साको यो विस्तृत संस्करणले हाम्रो आकाशगङ्गा 'मिल्की वे' नजिकैका भागहरू वा ताराको उज्यालो अथवा वायुमण्डलका कारण टाढाका वस्तु हेर्न नसकिने क्षेत्रहरू पनि समेट्ने छ।
अनुसन्धानकर्ताहरू 'ड्वार्फ ग्यालक्सी' र 'स्टेलर स्ट्रीम'हरूको पनि अन्वेषण गर्ने योजनामा छन्। 'मिल्की वे' को गुरुत्वाकर्षणले साना तारापुञ्जहरूबाट तानेका ताराहरूलाई 'स्टेलर स्ट्रीम' भनिन्छ।
डेसीका अनुसार अनुसन्धानको उद्देश्य 'डार्क म्याटर'लाई अझ राम्ररी बुझ्नु हो। 'डार्क म्याटर' पदार्थको अदृश्य रूप हो र त्यसले ब्रह्माण्डको अधिकांश पिण्डमान ओगटेको छ। यद्यपि अहिलेसम्म त्यो प्रत्यक्ष रूपमा फेला परेको छैन।
"अब हामी आफ्नो वास्तविक योजनाभन्दा अगाडि जाँदै छौँ। के फेला पर्छ भन्ने हामीलाई थाहा छैन। तर हामीलाई त्यो निकै रोचक हुन्छ जस्तो लाग्छ," डेसीका निर्देशक माइकल लेभी भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।