तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतमा विद्यालय खाजाबाट अण्डा हटाउन लाग्दा निम्तिएको विवाद
- Author, निकिता यादव
- Role, दिल्ली
- Published
- पढ्ने समय: ५ मिनेट
अण्डासहित कि अण्डारहित?
यो प्रश्नले भारतीय सामाजिक सञ्जाल र समाचारका मुख्य शीर्षकहरूमा चर्चा पाएको छ। यसको कारण गत साता पश्चिम बङ्गाल सरकारले गरेको एउटा घोषणा हो।
उक्त घोषणाअनुसार एउटा नमुना कार्यक्रमअन्तर्गत केही सरकारी विद्यालयहरूमा दिवा खाजामा अण्डाको साटो शाकाहारी खाना खुवाइने छ।
यो योजना 'मिड-डे मील प्रोग्राम' को रूपमा परिचित छ। यसअन्तर्गत सरकारी तथा सरकारी अनुदानप्राप्त विद्यालयका बालबालिकालाई मध्याह्नतिर निःशुल्क खाना दिइन्छ।
आर्थिक एवं सामाजिक रूपमा कमजोर रहेका लाखौँ बालबालिकाका निम्ति यो दिनभरिको सबैभन्दा पौष्टिक र कहिलेकाहीँ एक मात्र खाना हुने गर्छ।
पोषणमा सुधार ल्याउन, भोकमरी घटाउन र बालबालिकालाई विद्यालयमै टिकाइराख्न सघाउ पुर्याउने कार्यक्रमका रूपमा लामो समयदेखि यसलाई मान्यता दिइएको छ।
वैकल्पिक स्रोतहरू
पश्चिम बङ्गालमा हालै निर्वाचित भारतीय जनता पार्टी (भाजपा)को सरकारले कोलकत्ता नगर निगमद्वारा सञ्चालित विद्यालयहरूका लागि खाना तयार पार्ने जिम्मा 'इन्टरन्याश्नल सोसाइटी फर कृष्ण कन्सियसनेस' इस्कनलाई दिने घोषणा गरेपछि विवाद शुरू भएको हो।
इस्कनका एक अधिकारीले गत साता बताएअनुसार खाना उक्त संस्थाको अन्नामित्र फाउन्डेशनद्वारा तयार पारिने छ।
उक्त फाउन्डेशनले शाकाहारी खाना मात्र उपलब्ध गराउँछ र अण्डाको साटो प्रोटिनका वैकल्पिक स्रोतहरूको प्रयोग गर्ने छ।
यो कार्यक्रम अझै शुरू भएको छैन र यसलाई अन्य विद्यालयहरूमा विस्तार गरिने वा नगरिने भन्ने स्पष्ट भइसकेको छैन।
इस्कनले बीबीसीलाई बताएअनुसार यो विषयमा छलफल भइरहेको छ र कुनै पनि कुराको अन्तिम टुङ्गो लागिसकेको छैन।
यद्यपि यसले भारतभरि एउटा बहसलाई फेरि ब्युँताएको छ: विद्यालयको दिवा खाजाको थालीमा के हुनुपर्छ?
पोषणविद्हरूका अनुसार हुर्किने उमेरका बालबालिका, विशेष गरी न्यून आय भएका परिवारका बालबालिकाका लागि अण्डा प्रोटिनको सबैभन्दा सस्तो र प्रभावकारी स्रोतहरूमध्ये एक हो।
बारम्बार विवाद
भाजपाको सत्ता रहेका धेरै राज्यहरूले विद्यालयको दिवा खाजाबाट अण्डा हटाउने वा कटौती गर्ने प्रयास गरेका छन्, जसले बारम्बार विवाद निम्त्याएको छ।
विद्यालयको दिवा खाजाबाट अण्डा हटाएर सरकारहरूले पोषण नीतिमाथि धार्मिक वा वैचारिक मान्यतालाई लाद्ने प्रयास गरेका आलोचकहरूको आरोप छ।
तर सन्तुलन मिलाइएको शाकाहारी खानाले पनि उस्तै पोषक तत्त्वहरू प्रदान गर्न सक्ने समर्थकहरूको धारणा छ।
मे महिनासम्म पश्चिम बङ्गालमा सत्तामा रहेको विपक्षी दल अल इन्डिया तृणमूल कङ्ग्रेसले हालै निर्वाचित भाजपा सरकारमाथि स्कूले बालबालिकाहरूमाथि "शाकाहार लाद्ने" प्रयास गरेको आरोप लगाएको छ।
कतिपय राजनीतिज्ञ र अभियानकर्मीहरूले मध्यमार्गी उपाय प्रस्ताव अघि सारेका छन्: विद्यार्थीहरूलाई अण्डा र शाकाहारी विकल्पमध्ये कुनै एउटा रोज्न दिने।
अण्डालाई लामो समयदेखि उच्च गुणस्तरको प्रोटिनको सबैभन्दा सस्तो र उत्कृष्ट स्रोतहरूमध्ये एक मानिँदै आएको छ।
पछिल्लो निर्णयको प्रतिरक्षा गर्दै पश्चिम बङ्गालका मुख्यमन्त्री सुभेन्दु अधिकारीले उक्त कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई "राम्रो र पौष्टिक खाना" उपलब्ध गराउनु रहेको बताएका छन्।
"तपाईँले हरे कृष्ण जपिरहनु पर्दैन। कसैले पनि तपाईँलाई दबाव दिने छैन," उनले भने।
मुख्यमन्त्री अधिकारीले यो कदम भाजपाको हिन्दू राष्ट्रवादी विचारधाराबाट अभिप्रेरित भएको भन्ने आरोपलाई अस्वीकार गरे।
इस्कनले यो आलोचना आधारहीन रहेको दाबी गरेको छ। उक्त संस्थाले आफ्नै पहलमा शुरू गरेको अक्षय पात्र फाउन्डेशनमार्फत् कर्नाटक, आन्ध्र प्रदेश, गुजरात र दिल्लीका केही हिस्सासहित १६ वटा राज्यका करिब १० लाख विद्यार्थीलाई विद्यालयमा खाना उपलब्ध गराउँदै आएको छ।
गत सातासम्म इस्कनको कोलकाता शाखाका उपाध्यक्षका रूपमा कार्यरत राधारमण दासले उक्त संस्थाले आफ्ना खानेकुराहरू पौष्टिक र स्वच्छ हुनुपर्ने कुरामा विशेष जोड दिने गरेको स्थानीय सञ्चारमाध्यमलाई बताएका थिए।
उनले शाकाहारी खानाबाट पनि अण्डाबाट प्राप्त हुने जत्तिकै मात्रामा प्रोटिन र भिटामिनहरू पाइने तर्क गरेका थिए।
खानामा विविधता
पछिल्लो विवादले भारतको विद्यालय दिवा खाजा कार्यक्रमतर्फ पनि पुनः ध्यानाकृष्ट गराएको छ।
सन् १९२५ मा मद्रास (हाल चेन्नई) मा शुरू भएको विद्यालय खाजा कार्यक्रममा आधारित भई सन् १९९५ मा देशभरि लागु गरिएको यो योजना अहिले विश्वकै सबैभन्दा ठूला कार्यक्रमहरूमध्ये एक बनेको छ।
यसले ११ करोड जनाभन्दा बढी बालबालिकालाई खाना उपलब्ध गराउँछ।
भारतको केन्द्र सरकारले क्यालोरी र प्रोटिनसम्बन्धी लक्ष्यहरू निर्धारण गर्छ। तर ती लक्ष्यहरू कसरी पूरा गर्ने भन्ने निर्णय चाहिँ राज्य सरकारहरूले गर्छन्।
त्यसको परिमाणस्वरूप देशभरि एकै प्रकारको 'राष्ट्रिय मेनु' हुँदैन र उपलब्ध गराइने खानामा पनि विविधता पाइन्छ।
बिहारमा बालबालिकालाई सामान्यतया दाल वा चनासँग भात र हप्ताको एक पटक अण्डा दिइन्छ।
तमिलनाडुमा विद्यालयको दिवा भोजनमा प्रायः भात, साम्बर, तरकारी र अण्डा समावेश हुन्छन्।
अन्य राज्यहरूमा शाकाहारी भोजन मात्र दिइन्छ। गुजरात, उत्तर प्रदेश र दिल्लीमा खानाको सूचीमा सामान्यतया दाल र तरकारीका साथै चामल वा गहुँबाट बनेका परिकारहरू हुन्छन्। कहिलेकाहीँ दूध, पनिर वा फलफूल पनि समावेश गरिन्छ।
खाना पकाउने तरिका पनि फरकफरक हुन्छ। धेरैजसो सरकारी विद्यालयहरूमा विशेष रूपमा खटाइएका कर्मचारीद्वारा विद्यालय परिसरमै खाना बनाइन्छ।
अन्य ठाउँमा भने तोकिएको पोषणसम्बन्धी मापदण्ड र राज्यले निर्धारण गरेको मेनुको पालना सुनिश्चित गर्न राज्य सरकारहरूले खाना पकाउने र वितरण गर्ने जिम्मा गैरनाफामूलक संस्थाहरूलाई दिने गरेका छन्।
कोलकत्ताका सरकारी विद्यालयहरूमा गत करिब एक दशकदेखि विद्यार्थीहरूलाई साताका निश्चित दिनहरूमा भात, दाल र तरकारीका साथै अण्डा पनि खुवाइँदै आएको छ। अब भने यो अभ्यासमा परिवर्तन आउन सक्छ।
यो कदमले मिश्रित प्रतिक्रिया निम्त्याएको छ।
प्राथमिक तहका केही विद्यार्थीहरूले बीबीसीलाई बताएअनुसार उनीहरू यो परिवर्तनबाट खुशी छन्। किनभने उनीहरूले आफ्नो नियमित खानाभन्दा फरक परिकार खान पाउने भए।
केही विद्यार्थी भने निराश देखिए। उनीहरूले खानामा अण्डा पाइने दिनको व्यग्रताका साथ प्रतीक्षा गर्ने गरेको बताए।
सरकारी विद्यालयमा छोरी पढाइरहेकी ३७ वर्षीया चैताली मित्राले भनिन्, "विद्यालयको खानामा अण्डा समावेश हुँदा झन् राम्रो हुन्छ।"
"हुर्किने उमेरकी मेरी छोरीको प्रोटिनको आवश्यकता पूरा भइरहेको छ भनेर म ढुक्क थिएँ।"
पोषणविद् के भन्छन्?
पोषणविद्हरूका लागि यो बहस खानपानसम्बन्धी रुचिको विषयभन्दा पनि उस्तै मूल्यमा अण्डाको बराबर पोषण प्रदान गर्न शाकाहारी विकल्पहरू सक्षम छन् कि छैनन् भन्ने कुरामा बढी केन्द्रित छ।
दिल्लीस्थित सर गङ्गाराम अस्पतालकी पोषणविद् फरिहा शनमका अनुसार अण्डा प्रोटिनका सबैभन्दा पूर्ण र सस्तो स्रोतहरूमध्ये एक हो।
उनले भनिन्, "अण्डामा शरीरलाई आवश्यक पर्ने सबै नौ वटा अत्यावश्यक एमिनो एसिडहरू पाइन्छ।"
दाल तथा गेडागुडीहरू पौष्टिक भए पनि तिनमा फाइबर र गैरअत्यावश्यक एमिनो एसिडको मात्रा बढी हुने उनले बताइन्।
"अण्डामा भिटामिन डी र बी-१२ पनि प्रशस्त मात्रामा पाइन्छ, जसले गर्दा हुर्किने उमेरका बालबालिकाका लागि यो पोषणको राम्रो स्रोत बन्छ।"
डा. शनमका अनुसार पनिरजस्ता खानेकुराले पनि उस्तै पोषण प्रदान गर्न सक्छन्। तर अण्डाको तुलनामा ती निकै महँगा हुन्छन्।
त्यसैले सरकारी लगानीका कार्यक्रमहरूमा तिनलाई नियमित रूपमा उपलब्ध गराउन मुश्किल हुन्छ।
हैदराबादस्थित ग्लेनइगल्स अवेअर हस्पिटलका इन्टरनल मेडिसिन विशेषज्ञ डा. वामशी भि. भन्छन्, "धेरै बालबालिकाका लागि विद्यालयमा पाइने खाना नै दिनभरिमा उनीहरूले प्राप्त गर्ने सबैभन्दा पौष्टिक खाना हो।"
डा. वामशीका अनुसार अण्डाको पोषणमूल्यलाई ध्यान नदिई यसको साटो अरू खानेकुराहरू समावेश गरिएमा बालबालिकामा आवश्यक प्रोटिन र सूक्ष्म पोषक तत्त्वहरूको कमी हुन सक्छ।
त्यसको असर तत्काल नदेखिए पनि समय बित्दै जाँदा बालबालिकाको वृद्धि-विकास, सिक्ने क्षमता र रोग प्रतिरोधात्मक क्षमतामा नकारात्मक असर पार्न सक्ने उनी औँल्याउँछिन्।
धेरै विपन्न बालबालिकाका लागि यो खाना अत्यन्त महत्त्वपूर्ण भएको देशभरिका सरकारी विद्यालयका शिक्षकहरूले विश्वास गरेको विषय हो।
दिल्लीको एउटा प्राथमिक विद्यालयका शिक्षकले भनिन्: "प्राथमिक विद्यालयहरूमा विद्यार्थी भर्ना हुनुको एउटा मुख्य कारण दिवा खाजा बनेको छ।"
उनका अनुसार धेरै बालबालिका भोकै विद्यालय आउँछन् र हरेक दिन आफ्नो खाजाको उत्सुकतापूर्वक प्रतीक्षा गर्छन्।
बिहारकी शिक्षिका विमला सिंह हाल सो राज्यमा अभ्यासमा रहेअनुसार रोज्ने अधिकार बालबालिकाहरूमाथि नै छोड्नुपर्ने बताउँछिन्।
त्यहाँ मांसाहारी विद्यार्थीहरूलाई हरेक शुक्रवार अण्डा दिइन्छ भने शाकाहारीलाई केरा खान दिइन्छ।
"कसैलाई पनि अण्डा खान वा नखान बाध्य पारिएको छैन," उनले अगाडि थपिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।