कबड्डी : 'ट्रयाक' मा रोकिएको सपना 'म्याट' मा पूरा गर्दै मानमती

मानमती
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

आइची नागोया एशियाली खेलकुद कबड्डीकी मानमती विष्टका लागि खेल जीवनको अविस्मरणीय पाना बन्यो।

सुरुआतमा उनले नेपाली टोलीको प्रतिनिधित्व गर्दै उद्घाटन समारोहको मार्च पासमा नेपाली झण्डा बोकिन्। यो थोरै खेलाडीले पाउने मौकामध्ये एक थियो।

त्यसपछि आफ्नै कप्तानीमा कबड्डीबाट देशलाई कांस्य पदक दिलाइन्। एक जना खेलाडीले खेल जीवनमा देख्ने अनुपम सपना यस्तै हो।

"दुई वर्षदेखि मेहनत गरेकी थिएँ। देशका लागि लगातार पदक दिलाउन पाउँदा खुसी छु। हामी सबै खेलाडीहरूले मेहनत गर्‍यौँ। त्यसमा साथ र हात दिने सबैलाई धन्यवाद।"

एशियाली खेलकुद पदक मानमतीका लागि नौलो विषय होइन। पछिल्लो समय उनले सफलताका एकपछि अर्को कथा कोर्दै आएकी छिन्।

गत २०२३ को १९ औँ एशियाली खेलकुदमा महिला कबड्डीले कांस्य जित्दा मानमती त्यसको मुख्य सदस्य थिइन्। यसअघि १३औँ दक्षिण एशियाली खेलकुदमा महिला कबड्डीले रजत पदक जितेको थियो।

गत वैशाखमा उनकै नेतृत्वमा कबड्डी टोलीले एशियन बीच गेम्समा कांस्य पदक प्राप्त गरेको थियो। महिला कबड्डीको एकपछि अर्को सफलतामा मानमतीले मुख्य भूमिका निर्वाह गर्दै आएकी छिन्।

यद्यपि यी खेलाडी सुरुदेखि कबड्डीमा लागेकी खेलाडी होइनन्। उनी त एथलेटिक्सकी राष्ट्रिय खेलाडी हुन्।

एथलेटिक्सबाट कबड्डीमा करिअर बदलेकी उनको खेल जीवन रोचक र मार्मिक छ।

एथलेटिक्सले दिएको चोट

मानमती

धनगढीको छैटौँ राष्ट्रिय खेलकुदमा उनले ४०० मिटर हर्डल्समा स्वर्ण, ८०० मिटर स्वर्ण तथा ४ गुणा १०० मिटर रिले र ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण पदक जितेकी थिइन्।

त्यहाँबाट उदाएकी उनी राष्ट्रिय खेलाडीको रूपमा स्थापित भइन्। उनले स्प्रिन्टमा पकड बनाइन् ।

सन् २०१६ मा भारतमा भएको १२औँ दक्षिण एशियाली खेलकुदमा उनी ४०० मिटर दौडमा छानिइन्।

तर उनले त्यहाँ ठूलो धक्का महसुस गर्नुपर्‍यो। मैदानमा पुग्दा थाहा भयो - प्लेइङ लिस्टमा उनको नाम नै रहेनछ। वर्षौँको मेहनतपछि दक्षिण एशियाको ठूलो खेलकुदमञ्चमा खेल्न पाएकी उनको सपना चकनाचुर हुन पुग्यो।

यो घटनाले उनको मन नमज्जाले कुँडियो र सदाका लागि एथलेटिक्स त्याग्ने निर्णय गरिन्।

कबड्डीले दिएको मलम

चोट गहिरो थियो। नेपाल प्रहरीकी यी खेलाडी महाराजगञ्ज प्रहरी परिसरमा दु:ख भुल्ने प्रयास गर्दै थिइन्। त्यति बेला मैदानमा कबड्डीको अभ्यास खेल चलिरहेको थियो।

कबड्डी प्रवेशको संयोग सुनाउँदै मानमती भन्छिन्, "दिदीहरूले आइज खेल भने। मन बहलाउन म पनि मैदान छिरेँ। रमाइलो लाग्यो। खेल बुझ्न समय लागेन।"

एथलेटिक्सकी तेजिली खेलाडी र फुर्तिलो जिउडाल भएकी मानमती कबड्डीमा तुरुन्तै घुलमिल भइन्। प्रहरीको टीममा उनलाई समेटियो।

त्यसपछि कबड्डीको टीमबाट सातौँ र आठौँ राष्ट्रिय खेलकुद हुँदै चाँडै नै उनको यात्रा राष्ट्रिय टोलीसम्म पुग्यो।

एथलेटिक्स खेलाडीको झटपट यात्रा कबड्डीतिर भयो।

१२औँ साफमा एथलेटिक्सबाट देशको प्रतिनिधित्व गरेकी उनी १३औँ साफमा कबड्डीकी राष्ट्रिय खेलाडीको रूपमा परिचय बदलियो।

अनि १२औँ मा एथलेटिक्सले दिएको चोटलाई उनले १३औँ साफमा कबड्डीको रजत पदक पहिरेर मलम लगाइन्।

आत्मविश्वासी कप्तान

मानमती

कञ्चनपुर भीमदत्त नगरपालिका जन्मिएको मानमतीमा गजबको आत्मविश्वास छ। एक जना खेलाडीमा हुनुपर्ने विषय पनि त्यही हो।

जापान जानुअगाडि उनले आत्मविश्वासका साथ भनेकी थिइन् - "हामी पदक जितेरै फर्किन्छौँ "। उनले आफ्नो वाचा पूरा गरेरै छाडे।

गत हान्चाउ एशियाडमा उनी उत्कृष्ट डिफेन्स र रेडर थिइन्। यसपालिको एशियाडमा पनि उनको भूमिका महत्त्वपूर्ण रह्यो। १३औँ सागमा पनि नेपाललाई रजत पदकको यात्रामा पुर्‍याउन उनले सेमिफाइनलमा निर्णायक अङ्क बटुलेकी थिइन्।

मानमती खेलकुदले आफ्नो करिअर पूर्ण बनाएको बताउँछिन्। त्यसमा नेपाल प्रहरीप्रति उनी बढी आभार व्यक्त गर्छिन्।

उनी नेपाली खेलकुदमा अझ धेरै गर्न बाँकी भएको बताउँछिन्। उनी भन्छिन्, "कबड्डीबाट देशलाई चिनाउने धेरै सम्भावनाहरू छन्। सपना बोकेका थुप्रै खेलाडीहरू पनि छन्। त्यसमा हिँड्ने मेरो लक्ष्य हो। "

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।