एसियाली खेलकुद: सहोदर दाजुभाइका जुडो सङ्घर्षका फरक कथा

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
जुडो यात्रा
विकास विक र उनका भाइ विशेष विक दुवै नागोया एसियाली खेलकुदमा नेपाली जुडोको प्रतिनिधित्व गर्दै खेल्दै छन्।
प्रतियोगितामा विकासले ६० तथा विशेषले ६६ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै छन्।
एसियाली खेलकुद जस्तो ठुलो मञ्चमा एकै घरका सहोदर दाजुभाइ छनोट हुनु गजबको संयोग मानिएको छ।
राष्ट्रिय टोली र एसियाडसम्म पुग्न यी दाजुभाइले गरेको मेहनत र सङ्घर्षको यात्रा फरक छ।
रोल्पामा जन्मेर काठमाण्डू हुँदै भारतमा लामो समय जुडोका लागि २५ वर्षीय दाजु विकासले गरेको सङ्घर्ष, संयम र जिम्मेवारी तथा १८ वर्षीय विशेषले दिएको साथको कथा प्रेरणादायी देखिन्छ।
विकासको खेलकुदको सुरुआत करातेबाट भएको हो।
प्रशिक्षक बुबा कुल बहादुर विक रोल्पामै कराते सिकाउँथे। विकासले त्यहीँ कराते सिक्न थाले। थप सिक्ने हुटहुटीले उनी काठमाण्डू आए।
तर काठमाण्डूमा बस्न र कराते सिक्न सक्ने आर्थिक स्थिति उनमा भएन।
बुबा पनि भारततर्फ लागिसकेका थिए। त्यसपछि भारतमा केही गर्न सकिने योजना बन्यो। भारतमा छात्रवृत्तिमा खेल्न र बस्न पाउने भएपछि विकासले त्यसको 'ट्रायल' पास गरे र सन् २०१८ मा पन्जाब इन्स्टिट्यूट अफ स्पोर्ट्समा १ वर्षको छात्रवृत्ति पाउन सफल भए।
विकास सम्झन्छन्, "त्यहाँ कुन खेलाडी, कुन खेलमा राम्रो हुन्छ भन्ने टेस्ट थियो। त्यहाँ म जुडोमा छानिएँ। प्रिन्सिपलले पनि जुडो सिक भन्नुभयो। त्यसरी खेल जीवन जुडोतिर मोडियो। "
एक वर्षको प्रशिक्षणमा उनी जुडोको राम्रो खेलाडी बनिसकेका थिए।
नेपाल यात्रा र तितो अनुभव

छात्रवृत्तिको समय सकिएपछि गुरुले उनलाई केरलामा गएर थप प्रशिक्षणका लागि सुझाव दिएका रहेछन्।
तर विकासले नेपालमा फर्केर थप प्रशिक्षण लिने निर्णय गरे। काठमाण्डूमा आफ्नो कोही थिएन र आर्थिक हिसाबले काठमाण्डू बसाइ सहज हुने देखिएन।
विकास भन्छन्, "तर बुबाले तिमी जाउ, खर्च मेरो जिम्मा भन्नुभयो र यहाँ आउन आँट गरेँ।"
नेपालमा जुडोका लागि बिताएको उनको त्यो समयको अनुभव भने निकै तितो रह्यो। जुडोमा साथीहरूले स्वीकार नगरेको जस्तो, बेग्लै खाले व्यवहार गरेजस्तो र खेलमा पनि जितेको खेल हराएको जस्तो उनलाई महसुस भयो।
त्यति बेला उनलाई साथ दिने गुरु मनोज केसी थिए। तर दुर्भाग्यवश उनको पनि अचानक मृत्यु भयो। काठमाण्डूमा विकासले एक्लिएको महसुस गरेँ।
उनी भन्छन्, "खेल नै त्यागिदिऊँ जस्तो लागेको थियो।"
त्यति नै बेला कोरोनाभाइरस काल पनि सुरु भयो। एक्लिएका विकास फेरि भारत फर्किने निर्णय गरे। चण्डीगढमा पुगे। भाइलाई पनि सँगै लगे र आफूसँगै जुडो सिकाउनमा लागे।
त्यहाँ प्रशिक्षण र रुमको भाडा नि:शुल्क थियो। बाँकी रकम जोहो गर्न भने दु:ख गर्नुपर्ने।
उनी भन्छन्, "लामो समय जुडोमै लागेपछि यसैमा केही गरौँ भन्ने भयो। छोड्न सकिनँ।"
झन्डै ३ वर्ष त्यहाँ बिताएपछि परिष्कृत भइसकेका विकास १९ औँ एसियाली खेलकुदको छनोट खेल्न फेरि नेपाल फर्किए।
१०० ग्रामको दुर्भाग्य र पुनः प्राप्त भएको भाग्य
सन् २०२२ को हान्चाउ एसियाड छनोट खेल्न उनी नाइट बस चढेर काठमाण्डू बसपार्क ओर्लिए। छनोट नयाँ बजारको मल्टिपर्पोज भेन्यूमा थियो।
बसपार्कमा झोला छोडेर उनी दौडेरै त्यहाँ पुगे। यति बेला ट्रायलको समय ५ मिनेट मात्र बाँकी थियो। तर 'वइङ' (तौल नाप्ने)मा उनको तौल १०० ग्राम बढी भयो।
१०० ग्राम तौल बढी भएको भन्दै उनलाई छनोट खेल्न अयोग्य घोषित गरियो।
त्यतिबेलाको घटना सम्झिँदै विकास भन्छन्, " मैले कति अनुरोध गरेँ। रोएँ। तर मलाई 'रुल इज रुल' भनेर खेल्न दिइएन। म कति दु:खी भएको थिएँ त्यति बेला। त्यो मलाई मात्र थाहा छ।"
तर विकासले हार मानेनन्। उनी एक छात्रवासमा बसे। आफ्नो प्रशिक्षणलाई थप मजबुत बनाउन थाले।
यसै बेला नवौँ राष्ट्रिय खेलकुद पोखरामा भयो। त्यहाँ उनले स्वर्ण पदक जिते।
शायद भाग्य विकासकै साथमा थियो। कोरोनाको कारण एसियाली खेलकुद खेल एक वर्ष पर सर्यो। अर्थात् विकासले फेरि अर्को छनोट खेल्ने अवसर पाउने भए।
यसपालि भने विकास समयमै पुगे र एसियन गेमको लागि छनोट हुन सफल भए।
हान्चाउमा उनले जुडोको नयाँ इतिहास पनि बनाए। खेल जित्न नसके पनि उनले एसियाडमा एक बाउट जित्न सके। नेपाली जुडोले एसियाडमा कुनै विपक्षी विरुद्ध एक बाउट जितेको त्यो ४० वर्षपछि थियो।
फेरि भारत र मिसन २०२६

एसियाली खेलकुदबाट फर्केर विकास फेरि प्रशिक्षणका लागि चण्डिगढ पुगिसकेका थिए। त्यसै बेला राष्ट्रिय खेलकुद परिषद्ले 'मिसन २०२६' को तयारी सुरु गरेको थियो।
विकासलाई त्यसमा सहभागी हुन फोन आयो। त्यसपछि उनी फेरि काठमाण्डू फर्किए। तर मिसन २०२६ को दैनिक ३०० रुपैयाँ भत्ताले उनको दैनिक फेरि गाहो बन्यो।
यति बेलासम्म विकासले नेपाली जुडोमा राम्रो छवि बनाइसकेका थिए। त्यसै बेला नेपाली प्रहरीकी राधादेवी राईले उनलाई नेपाल प्रहरीबाट खेल्न सुझाव दिइन्। विकासलाई पनि एउटा दरिलो आधारको जरुरी थियो।
अनि दुई वर्ष अगाडि २०८१ मा उनी नेपाल प्रहरीमा प्रवेश गरे। उनको जुडो यात्रालाई स्थायित्व दिन र भाइलाई पनि सँगै राख्नको लागि यो कदमले काम गर्यो।
भाइको प्रवेश
विकासले एसियाली खेलकुद खेलिरहँदा भाइ विशेष भारतमै स्कुल प्रतियोगिता खेलिरहेका थिए।
पुलिसमा आएपछि काठमाण्डूमा कोठा लिएपछि विकासले भाइलाई पनि काठमाण्डूमा बोलाए।
दुबैजनाको जुडो यात्रा थप मजबुत बन्यो। दुवैले पदक हरू थप्दै गए। राष्ट्रिय प्रतियोगितामा दुवैले स्वर्ण पदक जिते।
भाइ विशेष बाङ्ग्लादेशमा गएर जुनियर च्याम्पियनसिपमा स्वर्ण जितेर फर्किए।
एसियन सिनियर च्याम्पियनशिपमा पनि दुवै जना खेले। त्यहाँ पनि विकासले एक बाउट जितेका थिए।
मिसन २०२६ को पहिलो चरणमा विकास मात्र छानिएका थिए। पछि विशेष पनि थपिए र दुवै जना एसियाली खेलकुदमा छनोट हुने उद्देश्यका साथ कडा मेहनतमा लागेको बताउँछन्। अहिले दुवैजना छानिएका उनीहरू पदक जित्ने आशामा देखिन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















