इबोला भाइरसको डरले डीआर कङ्गोमा विश्वकप फुटबलको तालिम स्थगित

    • Author, वेडाएली शिबेलुशी
  • Published
  • पढ्ने समय: २ मिनेट

देशको पूर्वी भागमा इबोला भाइरसको प्रकोप फैलिएपछि डीआर कङ्गोले फिफा विश्वकप २०२६ खेल्न जाने राष्ट्रिय टोलीका लागि राजधानी किन्शासामा हुने तालिम स्थगित गरेको छ।

उक्त भाइरसबाट अहिलेसम्म ६०० जनालाई सङ्क्रमण भएको ठानिएको छ। सन्दिग्ध सङ्क्रमितमध्ये १३९ जनाको मृत्यु भइसकेको छ।

डीआर कङ्गोले राष्ट्रिय टोलीलाई तालिमका लागि बेल्जम पठाउने तयारी गरेको छ। डीआर कङ्गो सन् १९७४ पछि पहिलो पटक विश्वकपमा सहभागी हुन लागेको हो।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले इबोलाको प्रकोपलाई "अन्तर्राष्ट्रिय चासोयुक्त जनस्वास्थ्य सङ्कट" भनेको छ।

यद्यपि उक्त भाइरसको सङ्क्रमणले महामारीको स्वरूप लिइनसकेको डब्ल्यूएचओले जनाएको छ।

योजना

डीआर कङ्गोको राष्ट्रिय टोलीका प्रवक्ता जेरी कालेमोका अनुसार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई विश्वकप सुरु हुनुअघि युरोपमा हुने खेलहरू पुरानो योजनानुसार नै हुने छन्।

डीआर कङ्गोले बेल्जमको लिएजमा ३ जुनमा डेन्मार्कसँग र मार्बेलामा ९ जुनमा चिलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने छ।

अहिले 'बुन्डिबुग्यो' भनिने दुर्लभ प्रकारको इबोला भाइरसबाट प्रकोप फैलिएको हो। सरकारी निकायहरू यो प्रकोप नियन्त्रण गर्ने प्रयासमा छन्।

यो भाइरसविरुद्ध कुनै खोप उपलब्ध छैन। डब्ल्यूएचओका अनुसार खोप तयार पार्न नौ महिनाजति समय लाग्न सक्छ।

संयुक्त राज्य अमेरिकाले विगत २१ दिनमा डीआरसी, यूगान्डा वा दक्षिण सुडान भ्रमण गरेका गैरअमेरिकी नागरिकहरूलाई अमेरिका प्रवेश गर्न रोक लगाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।