बाढीपीडितलाई कसरी गर्ने सहयोग, आफैँले के गर्न मिल्छ के मिल्दैन

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

रसुवा, नुवाकोट र धादिङका बाढीपीडितहरूका लागि औषधि, खानेकुरा, पकाउने भाँडाकुँडा र त्रिपालजस्ता राहत सामग्रीको माग सबैभन्दा धेरै आएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

सरकारले बाढीपीडितका लागि राहत सामग्री तथा आर्थिक सहयोग गर्न चाहने व्यक्तिहरूलाई राहत लिएर आफूखुसी बाढी प्रभावित क्षेत्रमा नजान भनेको छ।

प्रधानमन्त्री कार्यालयले "कतिपय व्यक्ति, समूह तथा संस्थाहरूले जथाभावी अनधिकृत क्यूआर कोड र व्यक्तिगत खाता नम्बरहरू सार्वजनिक गरी रकम सङ्कलन गरिरहेकोप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ," प्रधानमन्त्री कार्यालयले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ।

यसअघि नै व्यक्ति, सङ्घसंस्था वा कार्यालयहरूलाई बाढी पीडितका लागि आर्थिक सहयोग उठाउन रोक लगाए पनि कतिपय व्यक्ति र संस्थाले आफ्नै खातामा सहयोग सहयोग सङ्कलन भइरहेको गुनासो आएको अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयले राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषका नौवटा खाता र क्यूआर कोड सार्वजनिक गरेका छन्। त्यसमध्ये एउटा डलर खाता पनि छ।

यसअघि विपद् प्राधिकरणले व्यक्तिगत तहबाट भएका आर्थिक सङ्कलन रोक्न सूचना जारी गरेको थियो।

यसअघि प्राधिकरणले "प्रभावितहरूको राहतका लागि भन्दै आर्थिक सहयोग सङ्कलन गर्न थालेको, कतिपयले नगद सहयोगका लागि क्यूआर कोड समेत शेअर गरिरहेको" गुनासो आएको जनाएको थियो।

सामाजिक सञ्जालमा आर्थिक सहयोगका लागि आह्वान गर्दै राखिएका व्यक्तिगत र संस्थागत पोस्टबारे प्रधानमन्त्री कार्यालयको हेलो सरकारमा पनि पनि गुनासो आएको हेलो सरकार कक्षका चन्द्रशेर रानाले जानकारी दिए।

रानाका अनुसार सरकारी राहत कोषको भनेर विभिन्न सामाजिक सञ्जालमा राखिएका क्यूआर कोड सही भए नभएको बुझ्न समेत मानिसहरूले सम्पर्क गरिरहेका छन्।

"हामीले ह्वाट्स्यापमार्फत् सही क्यूआर कोडहरू पठाइरहेका पनि छौँ," उनले भने।

सहयोग गर्न चाहनेले के गर्ने?

विपद् प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार आर्थिक सहयोग प्रधानमन्त्री राहत वा दैवी प्रकोप कोषमा मात्रै गर्ने व्यवस्था मिलाइएको छ।

"गैरआर्थिक सामग्री सहयोग गर्ने हो भने प्रभावित जिल्लामा गर्ने हो भने त्यहीँको सम्पर्क नम्बर हामीले आफ्नो फेसबुक र वेबसाइटमा पनि प्रकाशित गरेका छौँ," महत भन्छिन्।

उनका अनुसार खानेकुरा, लत्ताकपडा, औषधि तथा अन्य जिन्सी सहयोगका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको गोदामघर, नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको ब्यारेक र सामाखुसीस्थित नेपाल प्रहरीको तालिम केन्द्रमा राहत सामग्री दिने व्यवस्था मिलाइएको छ।

त्रिभुवन विमानस्थल परिसरमा रहेको आपत्कालीन गोदामघरमा विदेशबाट पठाइएका सहयोग सामग्रीहरू पनि जम्मा गरेर बाढी प्रभावित क्षेत्रमा पठाउने गरिएको छ।

"सहयोगका लागि प्राधिकरणसँग पनि समन्वय गरेर जानुपर्ने हुन्छ। किनभने त्यहाँ आवश्यकता र उहाँहरूले सहयोग गर्ने कुरा पनि मेल खानुपर्ने हुन्छ," महत भन्छिन्।

महतका अनुसार स्थानीय मानिसहरूलाई मात्रै आफ्नो क्षेत्रमा राहत वितरणका लागि अनुमति दिइएको छ।

"उतैका व्यक्तिहरूलाई यहाँ आएर स्वीकृति लिनुनपर्ने छुट हामीले दिएका छौँ। उतैबाट दिन सकिन्छ। बट्टारमा रहेको गोदामघरमा हाम्रो टोली छ उहाँहरूको स्वीकृति लिएर के कस्तो सामग्री छ दिन मिल्ने नमिल्ने निश्चित गर्न मिल्यो," उनी भन्छिन्।

त्रिभुवन विमानस्थल परिसरमा रहेको आपत्कालीन गोदामघरका अधिकारी पुरुषोत्तम भण्डारीका अनुसार रसुवा क्षेत्रबाट त्रिपाल, स्ट्रेचर, प्राथमिक उपचारका सामग्री र औषधिहरू, चाउचाउ, चिउरा, ओढ्ने कपडाहरूको माग भएको छ।

त्यस्तै नुवाकोट र धादिङबाट चामल, दाल, चिउरा, कपडाहरू, उज्यालो पार्ने उपकरण र पकाउने भाँडाकुँडा चाहिएको जानकारी आएको छ।

सहयोग गर्न चाहनेले के गर्न मिल्दैन?

विपद् प्राधिकरणले सार्वजनिक गरेका नम्बरहरूमा सम्पर्क गरेर मात्रै राहत विवरणबारे बुझ्न र आफैँ राहत लिएर नजान सरकारले आग्रह गरेको छ।

"प्रभावित व्यक्तिहरूलाई गएर आफैँले बाँड्न मिल्दैन। हामीले सम्पर्क नम्बर दिएका छौँ। उहाँहरूलाई दिने हो। आफैँले चाहिँ वितरण गर्न मिल्दैन," प्राधिकरणकी प्रवक्ता महत भन्छिन्।

कानुनमन्त्री सोविता गौतमले सङ्कलित राहत आफूखुसी वितरण नगर्न भन्दै त्यसो गरे कारबाही हुन सक्ने सूचना सामाजिक सञ्जालमा राखेकी छन्।

मन्त्री गौतमले राखेको मन्त्रालयद्वारा जारी सूचनामा अफवाह फैलाउने, चन्दा राहत वा सहयोग सङ्कलन गरेर दुरुपयोग गर्ने तथा राहत आफूखुसी वितरण गर्ने वा लाभमा प्रयोग गर्ने लगायतका गतिविधिमा कैद र जरिबानासम्मका सजाय हुनसक्ने चेतावनी दिइएको छ।

बिहीवार बाढीमा बगेको एक महिलाको शवबाट मानिसहरूले गहना निकाल्दै गरेको भिडिओ मानिसहरूले सामाजिक सञ्जालमा राखेका थिए।

प्रहरीले उक्त शवबाट गहना निकाल्ने व्यक्तिहरूलाई पक्राउ गरिएको जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।