'ताल भत्केर नभई भरिएर आएको पानीका कारण': भोटेकोशीमा फेरि बाढी

Published
पढ्ने समय: ३ मिनेट

भोटोकोशी नदीमा रसुवाको स्याफ्रुबेँसी हुँदै एउटा सानो बाढी त्रिशूली नदीतिर अघि बढेको देखिएको स्थानीय बासिन्दा र विज्ञहरूले बताएका छन्।

नेपाली अधिकारीहरूका अनुसार उक्त बाढी यसअघि पहिरोले थुनेर निर्मित ताल भत्किएकाले नभई बढी भएको पानी बाहिरिएर उत्पन्न भएको हुन सक्छ। अहिलेको बाढीको वेग बुधवारको जस्तो तीव्र नभएको बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुलीले बताए।

चिनियाँ सरकारी सञ्चारमाध्यमले पनि ताल भत्किएको नभई जम्मा भएको पनि भरिएर बाहिर निस्किएको विवरण दिएको छ।

बुधवार घटना भएको ठाउँनेर ताल जमेको देखिएको विवरणहरू आइरहँदा पुन: बाढी आउन सक्ने भन्दै नेपाल प्रहरीले सुरक्षाका लागि सतर्क रहन सूचना जारी गरेको थियो।

भोटेकोशी नदीमा लेदोसहितको बाढी बढेको भए पनि चीनतर्फ बनेको ताल फुटेको आधिकारिक जानकारी आफूहरूलाई नआएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बीबीसीलाई बताएकी छन्।

तर खतरा कायम छ

"पानीको बहाव बढेको छ तर त्यो सामान्य बाढी हो। ठूलो बाढी देखिएन तर त्यसबारे अप्डेट लिइराखेका छौँ," उनले भने, "तर यसले (रसुवा र नुवाकोट) क्षेत्रमा जारी उद्धार कार्यलाई प्रभावित तुल्याउन सक्ने भएकाले सतर्कताको सूचना जारी गरेका हौँ।"

"अस्ति जुन घटना भयो, त्यसैको माथिल्लोपट्टि देब्रेतिर (जुन नेपालतर्फ नै पर्छ) एउटा ताल जमेको देखिन्छ। चीन पक्षबाट प्राप्त स्याटलाइट लाइट तस्बिर र ड्रोन फुटेजहरूले त्यो पुष्टि गरिसकेका छन्," पराजुलीले भने।

पराजुलीका अनुसार खतरा भनेर टरिसकेको छैन।

"सँगसँगै उनीहरूले त्यहाँ २० लाख घनमिटर पानी जम्मा भइसकेको हुन सक्ने र भरिँदासम्म ३० लाख घनमिटरजति पुग्न सक्ने बताएका थिए। अहिले भर्खर त्यो खोलिएको सूचना प्राप्त भएको छ," पराजुलीले भने।

"त्यो फुटेको चाहिँ होइन, खोलिएको मात्रै हो। तर त्यस्ता तालहरू कमजोर हुने भएकाले फुट्न पनि सक्छ। स्थलगत वस्तुस्थिति नहेरीकन ठ्याक्कै भन्न सकिँदैन," उनले भने।

"त्यो एक दुईदिनसम्म पनि अलिक स्थिर भएर बस्यो भने त्यसको जोखिम तत्कालका निम्ति कम भएको मान्न सकिएला तर अहिले चाहिँ सतर्क भएरै बस्नुपर्छ।"

ड्रोन प्रयोग गरेर तालको नक्साङ्कन

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले स्थानीय समयानुसार दिउँसो २ बजेपछि दिएको विवरणअनुसार तिब्बततर्फ नदी थुनिएर बनेको बाँधमा पानीको मात्रा केही घटेको छ। अहिले त्यहाँ सामान्य रूपमै उद्धारकार्य भइरहेको छ।

सीसीटीभीका अनुसार सरकारले परिचालन गरेका उद्धारकर्मीहरूले विपद्बाट प्रभावित क्षेत्रमा राहतकार्य गर्न उपलब्ध सबै उपाय प्रयोग गरेका छन्।

चीनस्थित बीबीसी संवाददाता लोरा बिकरका अनुसार चिनियाँ विज्ञहरूले पहिरो थुप्रिएर बनेका दुईवटा तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग गरेका छन्।

चिनियाँ उद्धारकर्ताहरूले नेपाल र तिब्बतका बीच रहेको क्षेत्रमा पुग्न बाढीको जोखिम घटाउन प्रयास गरेको बताइएको छ।

तिब्बततर्फ रहेको उक्त क्षेत्रमा ५०० जना भन्दा बढी मानिस बेपत्ता छन्।

बिकरका अनुसार त्यहाँ निरन्तर वर्षा हुँदा ताल फुट्न सक्ने र बाढी आउन सक्ने चिन्ता अधिकारीहरूले व्यक्त गरेका छन्।

दक्षिणी तिब्बतको विपद्ग्रस्त क्षेत्रबाट १,००० जनाभन्दा बढी मानिसको उद्धार गरिएको छ। तीमध्ये ५०० जनाजति विदेशी पर्यटक छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।