शव फेला पर्ने क्रम बढेसँगै महामारीको चिन्ता, व्यवस्थापनका लागि के गरिँदै छ

    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

सुरक्षाकर्मीले बुधवार आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजीकार्य गरिरहँदा विभिन्न स्थानमा भेटिएका शवबाट महामारी फैलिन सक्ने चुनौती थपिएको अधिकारीहरूले बताएका छन्।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले खोजी तथा उद्धारकार्य जारी नै रहँदा शव व्यवस्थापनले चुनौती बढाएको बताएका हुन्।

चितवनमा मात्रै अहिलेसम्म १७८ वटा शव फेलापरिसकेको उनले बताए। तीमध्ये ७४ ओटा शव पुरुषका, ४१ वटा महिलाका, छ बालकका र दुई बालिकाको भएको छुट्टिएको छ।

"हिजो (बिहीवार) फेला परेका अधिकांश शवहरू सडेको अवस्थामा रहेका कारण महामारी फैलिन नदिन शव व्यवस्थान कसरी काम गर्ने भन्ने चुनौती थपिएको छ," अर्यालले बीबीसीसँग भने।

"यस विषयमा कसरी गर्ने भनेर केन्द्रसँग समन्वय गरिरहेका छौँ।"

चितवनमा शव राख्न अस्पतालको क्षमताले नभ्याएपछि एउटा सरकारी कार्यालयमा राखिँदै आएको छ।

उक्त क्षेत्रमा रहेका बीबीसी संवाददाता ईश्वर जोशीले त्यहाँ शवहरूबाट दुर्गन्ध आउन थालेको बताएका छन्।

"म अहिले शव पहिचान कक्षको अगाडि नै छु। यहाँ शवहरू अहिले ल्याइएको छैन। हिजो ल्याइएका शवहरू पनि सडेको अवस्थामा भएका कारण दुर्गन्ध आइरहेको छ," उनले भने।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म ५३८ जनाको शव फेला परेको जनाएको छ।

त्यस्तै सम्पर्कविहीन हुनेहरूको सङ्ख्या पनि ९७७ पुगेको र घाइतेको सङ्ख्या ७३ रहेको प्राधिकरणले जनाएको छ।

त्यसमा प्रहरी, सेना, सशस्त्र प्रहरी बल, भन्सार र अध्यागमन कार्यालयका कर्मचारीलगायत नेपाली र विदेशी पर्यटकहरू रहेका छन्। हराइरहेका विदेशी नागरिकको सङ्ख्या ५१७ रहेको छ।

महामारी हुन नदिन केन्द्रले कसरी काम गररहेको छ?

मृत्यु हुनेको सङ्ख्या बढिरहँदा शव व्यवस्थापन कसरी गर्ने भनेर सम्बन्धित जिल्लासँग समन्वय भइरहेको गृह मन्त्रालयले जनाएको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीमा शव भेटिइरहँदा ती शवको व्यवस्थापन सम्बन्धित जिल्लामै वा केन्द्रमा ल्याएर गर्ने भन्ने विषयमा छलफल भइरहेको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य सुवेदीले बीबीसीलाई बताएकी हुन्।

"जहाँजहाँ शवहरू भेटिएका छन् र व्यवस्थापन गर्नुपर्ने छ, त्यहाँ कसरी व्यवस्थापन गर्ने भनेर समन्वय भइरहेको छ," सहप्रवक्ता सुवेदीले भनिन्।

"जसरी भए पनि व्यवस्थापन छिटो गर्ने भन्ने कुरा भइरहेक छ। यो विषयमा हामी अहिले प्राधिकरणमा छलफल गर्दै छौँ।"

प्रभावित जिल्लाहरूमा शवहरू भेटिने क्रम बढिरहँदा त्यसले महामारी नित्याउन सक्ने चुनौती रहेको एपिडीमिओलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

उक्त महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचनले शवको अवस्था र त्यसलाई सनाखत नहुँदासम्म चिस्यानमा राख्नुपर्ने भएका कारण चुनौतीहरू रहेको बताएका छन्।

शवलाई चिस्यानमा राख्नुपर्ने, ठूलो सङ्ख्यामा शव एकैपटक आइपुग्ने, क्षमता सीमित हुनेजस्ता कारणले चुनौती थपेको उनले बताए।

"...त्यसले गर्दा धादिङमा भेटिएको (शव)लाई काठमाण्डू पठाउनुपर्ने, पोखरा पठाउनुपर्ने... एउटा पाटो त्यो भयो," उनले भने।

"अर्को पाटोमा धेरै (शव) क्षतिविक्षत छन्। त्यसले गर्दा पहिचानका लागि लामो समय चिस्याना राख्नुपर्दा त्यो चुनौती चाहिँ छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।