युक्रेन युद्ध: रुसी सेनाको कब्जामा रहेका क्षेत्रलाई रुसमा गाभ्न 'जनमतसङ्ग्रह' घोषणा

युक्रेनको नियन्त्रणमा डोनेट्स्क र जापोरीजा क्षेत्रका धेरै भूभाग भएको अवस्थामा त्यहाँ कसरी मतदान हुन्छ भन्ने स्पष्ट छैन
तस्बिरको क्याप्शन, युक्रेनको नियन्त्रणमा डोनेट्स्क र जापोरीजा क्षेत्रका धेरै भूभाग भएको अवस्थामा त्यहाँ कसरी मतदान हुन्छ भन्ने स्पष्ट छैन
Published

रुसले कब्जा गरेका युक्रेनका चार क्षेत्रमा रुससँग मिसिने विषयमा तत्काल जनमतसङ्ग्रह योजना घोषणा गरिएको छ। उक्त कार्यले रुसलाई युक्रेनका ती भूभाग आफूमा विलय गर्ने बाटो खोलिदिनेछ।

पश्चिमा देशहरूले मस्कोको उक्त योजनाको निन्दा गरेका छन्।

संयुक्त राज्य अमेरिका, जर्मनी र फ्रान्सले रुसी योजनाअनुसारको जनमतसङ्ग्रहलाई "छद्म" को सङ्ज्ञा दिँदै त्यसको परिणामलाई अस्वीकार गर्ने घोषणा गरेका छन्। नेटो सैन्य गठबन्धनले पनि रुसी योजनाको आलोचना गरेको छ।

युद्ध चलिरहेको बेला निष्पक्ष र वैधानिक निर्वाचन हुन नसक्ने पश्चिमा देशहरूको धारणा छ।

केही समययता रुसी अतिक्रमण रोकिएको छ भने युक्रेनले उत्तरपूर्वी क्षेत्रमा ठूलो भूभाग पुन: आफ्नो नियन्त्रणमा लिएको छ।

पूर्वी र दक्षिणी भेगमा रहेका रुससमर्थित अधिकारीहरूले रुससँग मिसिनेबारे मतदान गर्न यो साता थालियोस् भन्ने आफूले चाहेको बताएका छन्।

पूर्वका लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरीजा र खेअर्सनमा शुक्रवारदेखि पाँच दिन मतदान गर्ने योजना बताइएको छ।

ती चार क्षेत्रले युक्रेनको कुल भूमिको १५ प्रतिशत ओगट्छन्। रोयटर्स समाचारसंस्थाका अनुसार तिनको कुल क्षेत्रफल हङ्गेरीको जत्रो छ।

रुसले सन् २०१४ मा क्राइमिया आफूमा गाभेको थियो। र त्यतिबेला रुसले गराएको मतदानको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको थियो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने ठानिएको थियो। तर स्रोतहरूका अनुसार क्रेम्लिनले उक्त योजनालाई पछि सारिएको सङ्केत गरेका थिए। त्यसको कारणबारे केही बताइएको छैन।

लुहान्स्क
तस्बिरको क्याप्शन, युद्ध भइरहेको बेला निष्पक्ष निर्वाचन हुनेमा युक्रेनका साझेदारहरूले आशङ्का व्यक्त गरेका छन्

के भन्छ युक्रेन?

युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले मङ्गलवार "छद्म जनमतसङ्ग्रह" ले केही परिवर्तन नगर्ने" बताए।

अन्तर्राष्ट्रिय समुदायले रुसले क्राइमियालाई आफूमा गाभेको कदमलाई मान्यता दिएको छैन। तर रुसले कब्जा गरिएका अन्य क्षेत्रलाई पनि त्यसैगरी आफ्नो हो भन्ने दाबी गर्ने आशय राखेको लामो समयदेखि स्पष्ट रहँदै आएको छ।

थप युक्रेनी भूभाग गाभ्दा क्रेम्लिनले आफू नेटोका अस्त्रको आक्रमणमा परेको दाबी गर्न सक्नेछ।

रुसले युक्रेनमा फेब्रुअरी २४ मा आक्रमण थालेको थियो।

युक्रेनी सेनाले रुसी सैनिकहरूले एउटा नदीमा परित्याग गरेका यी सैन्य सवारीसाधनहरूको तस्बिर सार्वजनिक गरेको हो
तस्बिरको क्याप्शन, युक्रेनी सेनाले रुसी सैनिकहरूले एउटा नदीमा परित्याग गरेका यी सैन्य सवारीसाधनहरूको तस्बिर सार्वजनिक गरेको हो

रुसले के गर्ला?

रुसले युक्रेनमाथि गरिएको अतिक्रमणलाई अझै पनि युद्ध भनिसकेको छैन। उसले त्यसलाई युक्रेनमा गरिएको "विशेष सैन्य कारबाही" भन्ने गरेको छ।

क्रेम्लिनले "तय गरिएका सबै कार्य नसकिएसम्म" आफ्नो सैन्य अभियान जारी रहने बताउँदै आएको छ।

गत फेब्रुअरीमा युक्रेनमाथि जाइ लाग्दा पुटिनले "युक्रेनलाई असैनिकीकृत बनाउने" उद्देश्य रहेको उद्घोष गरेका थिए। युक्रेन पश्चिमा सैन्य गठबन्धन नेटोमा सहभागी नहोस् भन्ने एउटा उद्देश्य रुसले स्पष्ट पारेको थियो।

रुसको प्रारम्भिक इच्छा युक्रेनलाई नियन्त्रणमा लिने र भोलोदिमिर जेलेन्स्कीको सरकारलाई हटाउने थियो।

तर अहिले उसको आकाङ्क्षा पूर्वी र दक्षिणी युक्रेनका भूभागलाई आफ्नो नियन्त्रणमा लिनु रहेको देखिएको छ।

अहिले रुसले युक्रेनमा आफ्नो सैन्य बललाई सुदृढ बनाउन सामूहिक परिचालनको घोषणा गर्छ कि भन्ने अनुमान छ।

रुसी संसद्‌ले सेना छोड्ने, सैन्य सम्पत्तिमा क्षति पुर्‍याउने र परिचालन वा सैन्य कारबाहीका क्रममा अवज्ञा गर्ने जस्ता अपराधमा गम्भीर सजायको व्यवस्था पारित गरिसकेको छ।

रुसले मङ्गलवार डोनेट्स्क क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको यो तस्बिर सार्वजनिक गरेको थियो
तस्बिरको क्याप्शन, रुसले मङ्गलवार डोनेट्स्क क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको यो तस्बिर सार्वजनिक गरेको थियो

रुसी सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेद्‌भेदेभले डोनेट्स्क र लुहान्स्क सम्मिलित डोन्बास क्षेत्रमा जनमतसङ्ग्रह गर्दा त्यसले "ऐतिहासिक न्याय" सच्याउने र त्यो अपरिवर्तनीय हुने नहुने मङ्गलवार बताएका थिए।

"हाम्रो देशको संविधानमा संशोधनहरू गरिएपछि रुसका भावी नेता वा अधिकारी कसैले पनि यी निर्णयहरू उल्ट्याउने सक्नेछैनन्।"

त्यसको लगत्तैपछि डोनेट्स्क र लुहान्स्कका रुससमर्थित अधिकारीहरूले सेप्टेम्बर २३ देखि २७ सम्म चुनाव गर्ने घोषणा गरे।

नक्सा

कसरी भयो जनमतसङ्ग्रहको घोषणा?

रुसी सेनाले युक्रेनलाई पूर्व, उत्तर र दक्षिणबाट आक्रमण गर्नुभन्दा तीन दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रलाई स्वतन्त्र भनेका थिए।

रुसले खेअर्सनको दक्षिणी क्षेत्रमा राखेका अधिकारीहरूले पनि चुनाव गर्ने बताएका छन्। त्यस्तै खालको घोषणा रुसले कब्जा गरेको जापोरीजाका क्षेत्रहरूमा पनि गरिएको छ।

रुसी सरकारी सञ्चारमाध्यमले मानिसहरूले भौतिक रूपमा उपस्थित भएर वा टाढा रहेरै पनि मतदान गर्न सक्ने बताएका छन्।

रुसी सेनाका उपकरण
तस्बिरको क्याप्शन, केही स्थानमा युद्धको अग्रमोर्चाबाट पछि हट्दा रुसी सेनाले आफ्ना उपकरणहरू त्यत्तिकै छोडेर गएको पाइएको छ

रुसले राखेका अधिकारीहरूले महिनौँदेखि आफ्नै शैलीको जनमतसङ्ग्रह गर्ने प्रयास गर्दै आएका थिए।

तर स्वतन्त्र र निष्पक्ष मतदान हुने आशा कहिल्यै पनि थिएन र निरन्तरको युद्धले त्यसलाई व्यावहारिक पनि हुन दिएन।

युक्रेनको प्रत्याक्रमणले पनि त्यसो गर्न झन् कठिन पारेको थियो।

गत जुलाई महिनायता लुहान्स्कका धेरै क्षेत्र रुसी कब्जामा रहे पनि सोमवार उक्त क्षेत्रका युक्रेनी नेताले सेनाले बिलोहोरिभ्का गाउँ पुन: नियन्त्रणमा लिएको बताए।

युक्रेन के चाहन्छ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी सेनालाई आफ्नो देशबाट धपाउनु र रुसले कब्जा गरेको भूभाग मुक्त गराउने आफ्नो मुख्य उद्देश्य रहेको बताउने गरेका छन्।

उनले रुसी कब्जाबाट फिर्ता ल्याइएका स्थानमा आफ्नो नियन्त्रण कायम राख्न थप पैसा र उपकरण आवश्यक परेको बताएका छन्।

युक्रेनी सैनिकहरूले पश्चिमा देशहरूबाट प्राप्त अस्त्रशस्त्रहरू व्यापक रूपमा प्रयोग गरिरहेका छन्।

खेअर्सनमा रुसी सैनिकहरू
तस्बिरको क्याप्शन, खेअर्सनमा रुसी सैनिकहरू

युद्धमा कति मानिसको ज्यान गयो?

लडाइँमा दुवै पक्षतर्फ ठूलो सङ्ख्यामा सैनिकहरू हताहत भएका छन्। तर कसैले पनि त्यसको आधिकारिक सङ्ख्या प्रकाशित गरेको छैन।

युक्रेनले ५०,००० भन्दा बढी रुसी सैनिकलाई मारिएको दाबी गरेको छ। गत महिना उसले युद्ध सुरु भएपछि आफ्नो पक्षतर्फ ९,००० सैनिकको ज्यान गएको बताएको थियो।

रुसले मृत्यु भएका आफ्ना सैनिकबारे हतपत जानकारी दिँदैन। उसले युक्रेनमा भएको सैन्य कारबाहीका क्रममा आफ्ना १,३५१ सैनिकको ज्यान गएको गत मार्च महिनामा बताएको थियो।

जुलाईमा अमेरिकी अधिकारीहरूले १५,००० रुसी सैनिकको मृत्यु भएको अनुमान सार्वजनिक गरेका थिए।

युद्धका क्रममा सर्वसाधारण नागरिकहरू पनि हताहत भएका छन्। संयुक्त राष्ट्रसङ्घले ५,७०० जनाभन्दा बढी गैरसैनिकको ज्यान गएको सेप्टेम्बरको सुरुतिर बताएको थियो।

तर उसका अनुसार मृत्यु हुने मानिसको सङ्ख्या त्यसभन्दा निकै बढी हुनसक्छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी सेनाको विमानसँग आकाशमा यसरी भयो जम्काभेट