रुस युक्रेन युद्ध: पुटिन भन्छन्- किएभको प्रत्याक्रमणले रुसी योजना परिवर्तन 'हुँदैन'

पुटिन
Published

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी प्रत्याक्रमणले रुसको योजनामा कुनै परिवर्तन नहुने बताएका छन्।

उक्त मामिलामा पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै पुटिनले त्यसो भनेका हुन्।

युक्रेनी फौजले एउटा उल्लेखनीय उपलब्धिका रूपमा पूर्वोत्तरको खार्किभ क्षेत्रमा ६ दिनमा ८ हजार वर्ग किलोमिटरभन्दा बढी भू-भाग आफ्नो नियन्त्रणमा आएको बताएको छ।

तर पुटिनले आफू हतारमा नरहेको र युक्रेनको डोन्बास क्षेत्रमा आक्रमण जारी रहने बताए।

उनले रुसले हालसम्म आफ्नो पूर्ण सैन्य शक्ति नखटाएकोमा पनि जोड दिए।

"डोन्बासमा हाम्रो आक्रामक अपरेशन रोकिएको छैन। उनीहरू (हाम्रा सेना) अगाडि बढिरहेका छन्। धेरै तीव्र गतिमा होइन तर उनीहरूले क्रमशः धेरै र अधिक क्षेत्र नियन्त्रणमा लिइरहेका छन्," उनले उज्बेकिस्तानमा एउटा शिखर सम्मेलनपछि भने।

पूर्वी युक्रेनको औद्योगिक डोन्बास क्षेत्रमा रुसी नियन्त्रण केन्द्रित छ। पुटिनले त्यहाँका रुसी भाषा बोल्नेहरूको आम नरसंहार रोक्न आफूहरूले आक्रमण गरेको गलत दाबी गर्दै आएका छन्।

डोन्बासका केही भागहरू सन् २०१४ देखि रुसी-समर्थित पृथकतावादीहरूले कब्जा गरेका छन्।

युक्रेनले हालै प्रत्याक्रमण सुरु गरेको खार्किभ भने डोन्बासको भाग होइन।

पुटिनको चेतावनी

शुक्रवार पुटिनले रुसी सेनाको एक हिस्साले मात्र युक्रेनमा लडिरहेको बताउँदै यदि युक्रेनी आक्रमण जारी रहेमा "थप गम्भीर" जवाफ दिने धम्की पनि दिए।

युद्ध

"म के स्मरण गराउन चाहन्छु भने रुसी सेना पूर्ण रूपमा लडिरहेको छैन ... केवल व्यावसायिक सेना मात्र लडिरहेको छ।"

अहिलेसम्म रुसले युक्रेनविरुद्ध आधिकारिक रूपमा युद्धको घोषणा गरेको छैन र आफ्नो आक्रमणलाई "विशेष सैन्य कारबाही" मात्र भनेको छ।

तर रुसले हालैका दिनमा भोगेको क्षतिपछि केही क्रेमलिन समर्थक टिप्पणीकारले थप बल परिचालन गर्न आह्वान गरेका छन्।

हालै बाहिरिएको एउटा गोप्य भिडिओमा एउटा निजी सैन्य कम्पनीले भाडाका सैनिकहरू भर्ती गर्ने प्रयास गरेको देखिन्छ।

त्यसले रुसले लड्न इच्छुक पर्याप्त मानिस फेला पार्न सङ्घर्ष गरिरहेको सङ्केत गर्छ।

चीन र भारतका नेताको सुझाव

गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु भएपछि पुटिनले विरलै मात्र रुस छोडेका छन्।

परित्याग गरिएका रुसी ट्याङ्क माथि युक्रेनी सेनाहरू
तस्बिरको क्याप्शन, परित्याग गरिएका रुसी ट्याङ्कमाथि युक्रेनी सेनाहरू

यसै साता समरकन्दमा साङ्घाइको-अपरेशन अर्गनाइजेशनको शिखर सम्मेलनका लागि उनले गरेको भ्रमणमा पुटिनले चिनियाँ नेता सी जिन्पिङलाई भेटेका थिए।

त्यसले पश्चिमहरूले एक्ल्याएपछि एशियाली देशहरूसँगको सम्बन्धलाई बढावा दिनुपर्ने उनको आवश्यकतालाई देखाउँछ।

तर त्यहाँ पनि नेताहरूले रुसी आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन्।

"आजको समय युद्धको होइन," भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनलाई भने।

त्यस्तै सी जिन्पिङले पनि त्यस्तै सुझाव दिएको सङ्केत पुटिनले गरेका थिए।

"हामी तपाईँको प्रश्न र चिन्ता बुझ्छौँ," उनले युद्धको सन्दर्भमा चिनियाँ नेतालाई भनेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी सेनाको विमानसँग आकाशमा यसरी भयो जम्काभेट