निर्वस्त्र घुमफिर: कोरोनाभाइरस लकडाउनका बेला लुगा नलगाई घुम्दाको अनुभव

ब्रिटिश प्रकृतिवादी डोना प्राइस नग्न घुमफिर गर्दै
तस्बिरको क्याप्शन, ब्रिटिश प्रकृतिवादी डोना प्राइस आफ्नो घर भएको क्षेत्रमा निर्वस्त्र घुमफिर गर्छिन्
Published

कोरोनाभाइरस लकडाउनका बेला कैयौँ मानिसले घरबाहिरको वातावरण अवलोकन गर्दै रमाइलो गरेका छन्। तर के तपाईँ घरबाहिर निर्वस्त्र घुमफिर गर्ने सक्नुहुन्छ?

'नेचरिजम' भनिने कुनै सामाजिक अभ्यास अनुसरण गर्ने मानिसहरू प्राकृतिक रूपमा जस्तो छ त्यस्तै कुनै वस्त्र नलगाई बस्छन्।

विभिन्न संस्कृति र तपाईँ कहाँ बस्नुहुन्छ भन्नेबाट निर्वस्त्र रहने कुरा विवादास्पद पनि हुनसक्छ।

डोना प्राइस र उनका पति दुवै यूकेका प्रतिबद्ध 'प्रकृतिवादी' हुन्। उनीहरू कोरोनाभाइरस महामारीमा पनि मौसमले साथ दिएका बेला घरबाहिर निर्वस्त्र हिँडडुल गर्दै आएका छन्।

हालै बीबीसीसँगको कुराकानीमा प्राइसले प्रकृतिवादबारे थाहा पाउन चाहनेहरूलाई प्रोत्साहित गर्दै एक पटक प्रयत्न गर्न भनेकी छन्।

जाडोका बेला भने निर्वस्त्र विचरण कठिन हुने उनले बताइन्।

"ज्यानुअरी महिनामा 0बाहिर जाँदा म कपडामा राम्ररी बेरिएर गएकी थिएँ।"

तर गत वर्षको लकडाउनका बेला घर वरपरको क्षेत्रमा उनी आफ्ना पतिसँग निर्वस्त्र घुमफिरमा गएकी थिइन्।

सकारात्मक प्रतिक्रियाहरू

प्राइस ब्रिटिश प्रकृतिवादी समूहकी स्वयंसेवी हुन् र विमिन इन नेचरिज्म अभियानकी प्रमुख पनि हुन्।

प्रकृतिवाद सबैका लागि हुन नसक्ने कुरा उनी मान्छिन् र 'सार्वजनिक स्थानमा निर्वस्त्र हुने कुराप्रति समाजमा नकारात्मक दृष्टिकोण रहेको छ' भन्छिन्।

ब्रिटिश प्रकृतिवादी डोना फोहोरको भाँडो घर बाहिर लग्दै
तस्बिरको क्याप्शन, डोनाले प्रकृतिवाद अनुसरण गर्दै आफ्नो घरको काम निर्वस्त्र रूपमा गर्ने गरेका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेकी छन्

तर नग्न हिँडडुल वा पौडी खेल्नेबारे आत्मविश्वास बढाउने कामको वकालत गर्छिन् र उनले सर्वसाधारणबाट आश्चर्यजनक रूपमा सुझबुझपूर्ण प्रतिक्रिया पाउने गरेकी छन्।

"यदि सर्वसाधारण मानिस भेट भए भने धेरैजसोबाट आउने प्रतिक्रिया वास्तवमा असाध्यै प्रोत्साहित पार्ने खाले हुन्छन्।"

"धेरैजसो समयमा उनीहरू 'स्तब्ध' हुँदैनन् भन्ने कुराको म ग्यारेन्टी लिन्छु। "

"धेरैजसो मानिसहरू 'गुड मोर्निङ' भन्छन् र आफ्नो बाटो लाग्छन्।"

उनले बीबीसीलाई जूममार्फत अन्तरवार्ता दिँदा नग्न थिइन्
तस्बिरको क्याप्शन, बीबीसीलाई जूममार्फत् अन्तरवार्ता दिँदा पनि उनी निर्वस्त्र थिइन्

"केहीले भन्छन्, 'ओहो तिमी मभन्दा बहादुर छ्यौ र खासगरी चिसो मौसममा'।"

"कैयौँले भन्छन्: मैले पनि त्यसै गर्न पाए हुन्थ्यो जस्तो लाग्छ। र हामी भन्छौँ: तपाईँ पनि सक्नुहुन्छ।"

"हामीलाई प्रकृतिसँग एकाकार भएको महसुस गर्दा मजा लाग्छ।"

"प्रकृतिमा वा घरबाहिर निर्वस्त्र हुन तपाईँले कहिल्यै प्रयत्न गर्नुभएको छैन भने तातो हावाले तपाईँको शरीरको सम्पूर्ण छालामा स्पर्श गर्नु असाध्यै रमाइलो अनुभूति हुन्छ। हो साँच्चै नै।"

"सुरुमै नग्न घुमफिरमा जानु भनेर त म कसैलाई भन्दिनँ, म त्यसो गर्न सक्दिनँ।"

ब्रिटिश प्रकृतिवादी डोना प्राइस नग्न घुमफिर गर्दै
तस्बिरको क्याप्शन, निर्वस्त्र प्रकृतिको अनुभव लिँदा रमाइलो हुने उनको धारणा छ

"तपाईँ आफ्नै छालासँग सहज बन्न सक्नुपर्छ। सुरुमा आफ्नै घरभित्र प्रयत्न गर्नुहोस्, त्यसपछि आफ्नो बगैँचामा अभ्यास गर्नुहोस्।"

"पहिले आफैसँग सहज बन्नुहोस्। नग्न हुनु स्वाभाविक हो भन्ने महसुस गर्न थाल्नु, जुन मलाई लाग्छ स्वाभाविक हो।"

यो यौनसँग जोडिएको कुरा होइन।

कार चलाउँदै गरेकी डोना
तस्बिरको क्याप्शन, डोना प्राइस १० वर्षदेखि प्रकृतिवादी बनेकी छन्

सार्वजनिक स्थलमा कस्तो पहिरन लगाउनु पर्छ भन्नेबारे संसारभरि विभिन्न र फरकफरक नियमहरू छन्।

कुनै मुलुकमा सार्वजनिक स्थलमा नग्न बन्नु अवैधानिक छ। जहाँ अनुमति दिइन्छ, त्यहाँ प्रकृतिवादीहरूले पालना गर्नुपर्ने नियम पनि छन्।

यूकेमा कसैलाई सताउनका लागि वा कसैको ध्यान तान्न वा अत्याचार गर्नबाहेक सार्वजनिक स्थलमा निर्वस्त्र रहनु अपराध होइन।

प्राइसले आफू र आफ्ना श्रीमान्‌का दैनिक जीवन बिताउँदाका, साथीहरूसँग भेट्दाका, घरमा खानेकुरा पकाउँदाका, समुद्रमा पौडी खेल्दाका वा जङ्गलमा हिँड्दाका नग्न तस्बिरहरू आफ्ना सामाजिक सञ्जालहरूमा पोस्ट गर्ने गरेकी छन्।

नग्न डोना र पछाडि तीन घोडसवारहरू
तस्बिरको क्याप्शन, डोनालाई समुद्री तटमा जान र पौडी खेल्न रमाइलो लाग्छ

अणि उनले सधैँ जोड दिने कुरा हो- नग्नताको यौनसँग कुनै सम्बन्ध छैन।

उनी र उनका पति बिदामा न्यूजिल्यीन्ड जाँदा सन् २०१० मा निर्वस्त्र मानिसहरू हुने समुद्री तटमा पुगेपछि प्रकृतिवादबारे थाहा पाएका थिए।

ब्रिटिश प्रकृतिवादी डोना प्राइस समुन्द्र छेउमा
तस्बिरको क्याप्शन, डोनाले अरू मानिसहरूले पनि प्रकृतिवादबारे बुझ्नेछन् भन्ने आशा राख्छिन्

उनले ब्रिटिश अखबार द डेली मेललाई भनेकी छन्, "म र मेरा पतिले लकडाउनका बेला योग, खाना पकाउने कक्षा, चित्रकारिता, सामूहिक छलफल र साँझको पेय सबै भर्चूअल र नग्न भएर गर्दै आएका छौँ।"

उनको ट्विटरको परिचयमा लेखिएको छ "यात्रा, खाना, पौडी, सामाजिक घुलमिल र प्रकृतिवाद…एक अधबैँसे महिलाले गर्ने स्वाभाविक कामहरू! नो पोर्न!"