क्रिप्टोआर्टः डिजिटल कलाकृति बेचेर जीवनमा 'ठूलो परिवर्तन', एउटै चित्रको करोडौँ डलर

अलाना
तस्बिरको क्याप्शन, एनएफटी विक्री गरेर आफ्नो जीवनमा ठूलो परिवर्तन आएको कलाकार एलना एड्जिन्टन बताउँछिन्
    • Author, रेबेका थोर्न
    • Role, बीबीसी विश्व सेवा
  • Published

कलाकार बीपलले ब्लकचेनमार्फत् एनएफटी भनिने विशिष्ट पहिचान र स्वामित्व पाएको एउटा डिजिटल कला बेचेर छ करोड ९० लाख डलर मूल्यको नयाँ कीर्तिमान राखेका छन्।

उक्त विक्रीका कारण ब्रिटेनको लिलाम बढाबढ गर्ने संस्था क्रिस्टीले उनलाई जीवितमध्ये सबैभन्दा बढी मूल्य भएका तीन कलाकारमा राखेको छ।

अन्य कैयौँ कलाकारले क्रिप्टोकलाको नयाँ लहरले आफ्नो जीवनलाई 'रूपान्तरण' गरिदिएको बताएका छन्।

कलाकारहरूले क्रिप्टोकला भनिने 'अभूतपर्व र तीव्र रूपमा विस्तार' भइरहेको डिजिटल कलाकृति विक्री गरेर राम्रो आम्दानी गरिरहेका छन्।

'ऋणबाट उन्मुक्ति'

अलाना
तस्बिरको क्याप्शन, छोराछोरीसँग एलना

एलना एड्जिन्टनले एनएफटीको संसारबारे थाहा पाउनुअघि आफू ऋणमा फसेको बताउँछिन्।

कलामा संलग्न भए पनि अन्तर्मुखी स्वभावका कारण आफ्नो सिर्जनालाई ग्यालरीसम्म पुर्‍याउन नसकेको उनी बताउँछिन्। बरु उनी आफ्ना तीन सन्तान हुर्काउन, जागिर खान र बागवानी विषय लिएर अध्ययन गर्न लागिन्।

"अधिकांश मानिसहरूले जस्तै मैले पनि चेक र क्रेडिट कार्डबाट ऋण चुकाउनुपर्ने अवस्था थियो। मलाई चर्को ब्याज तिर्नुपर्ने त्यो चक्र कसरी तोड्न सकिन्छ भन्ने थाहा थिएन।"

क्यान्भास चित्रकला अनलाइन माध्यमबाट विक्री गर्न सकिने थाहा पाउँदा एलनालाई ५०० डलरसम्म कमाउन सकिएला कि भन्ने लागेको थियो।

आफ्नो पहिलो अनलाइन लिलाम बढाबढमा उनले १६ वटा चित्र विक्री गरेर ७९,५०० डलर कमाइन्। त्यसबाट उनी खुसी नहुने कुरै थिएन।

"मानिसहरूले मेरा कलाकृति किनेको देख्नु पूरै आश्चर्यजनक अनुभव रह्यो जुन मैले अझै पनि पचाउन सकिरहेकी छैन।"

अलना
तस्बिरको क्याप्शन, एलनाको यो डिजिटल चित्र झन्डै साढे १७ हजार डलरमा विक्री भएको थियो

उक्त सफलताले एलनाको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। उनले आफ्नो क्रेडिट कार्डको ऋण तिर्न सकेकी छन् भने कलेजको शुल्क बुझाउन पाएकी छन्।

सहरबाट पर बाहिरी क्षेत्रको ठूलो घरमा उनको परिवार बस्न थालेको छ।

उक्त आम्दानीबाटै उनले अटिजम भएका आफ्ना छोरा रनको उपचारको पनि व्यवस्था मिलाएकी छन्।

उनी आफ्नो सफलताले सङ्घर्ष गरिरहेका अरू महिला कलाकारहरूलाई पनि पुरुषको प्रभुत्व रहेको एनएफटीको विश्वमा स्थान दिलाउने विश्वास गरिन्।

"मैले मेरो आत्मा त्यहाँ राखेर पैसा कमाइरहेकी छु र मैले यस्तो होला भन्ने सोचेकी थिइनँ। पक्कै पनि अहिलेको दिन उज्यालो र घमाइलो छ।"

line

एनएफटी के हो र यसले कसरी काम गर्छ?

विपल
तस्बिरको क्याप्शन, बीपलको एउटा सिर्जना ६.९० करोड डलरमा विक्री भयो

एनएफटी डिजिटल प्रमाणपत्र जस्तै हो जसले कुनै पनि सम्पत्तिमा कसको स्वामित्व छ भन्ने प्रमाणित गर्छ।

क्रिप्टोकलाको विश्वमा प्रत्येक प्रमाणपत्रले कलाको आधिकारिक स्वामित्वको प्रतिनिधित्व गर्छ।

बिटक्वाइनजस्ता डिजिटल मुद्रा अस्तित्वमा रहने ब्लकचेन भनिने प्रविधिमा क्रिप्टोकला पनि पर्छ। त्यसमा सर्जक, विक्रेता र विक्री भएको मितिजस्ता विवरण समाविष्ट गरिन्छ।

यसको अर्थ उक्त कलाकृतिको प्रतिलिपि अनलाइनमा जो कोहीले हेर्न सक्छन् तर एनएफटीमा त्यसलाई खरिद गरेका व्यक्तिले मात्रै त्यो आफ्नो स्वामित्वमा रहेको बताउन सक्छ।

डिजिटल आकृति
तस्बिरको क्याप्शन, यो डिजिटल कलाकृति ३५,००० डलरभन्दा बढीमा विक्री भएको थियो

त्यसलाई पुनः विक्री गर्न सकिन्छ र स्वामित्व अर्को व्यक्तिमा हस्तान्तरण हुन्छ।

यसबीचमा कलाकारमा नै आफ्नो कलाको बौद्धिक सर्वाधिकार रहन्छ र प्रत्येक चोटि विक्री गरिदा रोयल्टी प्राप्त हुन्छ।

line

'यसले हामीलाई समान अवसर दिएको छ'

चित्रकला र कलाकृतिमात्रै क्रिप्टोआर्टका रूपमा विक्री भइरहेका छैनन्। आर्जेन्टिनी कलाकार ब्रुनो नासिफले सफलतापूर्वक जीआईएफहरू विक्री गरिरहेका छन् र आम्दानी गरेको रकम आफू बसेको कृषि क्षेत्रमा सौर्य ऊर्जाका उपकरण जडान गर्न खर्च गरिरहेका छन्।

ब्रुनो नासिफ
तस्बिरको क्याप्शन, ब्रुनो नासिफ आफ्नो कलाको साथमा

सैँतीस वर्षीय उनले आफूले १५ वर्षदेखि कलाकृति बनाइरहेको बताउँदै अहिले 'अभूतपूर्व ढङ्गले' विस्तार भइरहेको क्रिप्टोकलाले 'सङ्कलक, कलाकार र पहिला सहभागी हुन नसकेका धेरैलाई' विश्वव्यापी पहुँच दिएको बताए।

1px transparent line

भारतकी ३२ वर्षीया कलाकार र फोटोग्राफर साइबर शक्तिले दिगो आर्थिक स्वतन्त्रताको अपेक्षा आफूले एनएफटीबाट पाएको बताइन्।

"करिब पाँच महिनामा ‍औसतमा मैले राखेका कलाकृतिको मूल्य ८० डलरबाट ८०० डलरसम्म पुगेको छ," उनले भनिन्।

साइबर शक्ति
तस्बिरको क्याप्शन, साइबर शक्तिले इन्टरनेटमा ठूलो हलचल ल्याउने लक्ष्य लिएकी छन्
1px transparent line

एनएफटीप्रति आकर्षित एक सङ्कलक नेल्सन रोहबाख कलाकारबाट कलाको मूल्य खोस्नेविरुद्ध क्रिप्टोकला एउटा विद्रोह भएको ठान्छन्।

शिकागोका २६ वर्षीय बजार निर्देशक उनले ज्यानुअरीयता क्रिप्टोकलामा २०,००० डलर खर्च गरिसकेका छन्।

उनले यसमा बलियो लगानीको सम्भावना देखेको बताए।

"म कलाकारहरूलाई समर्थन गर्ने र उनीहरूलाई आर्थिक रूपमा स्वतन्त्र हुने र आफ्नो कामको अधिकार थप सुनिश्चित गर्ने कुराका लागि समर्थन गर्छु।"

क्रिप्टोकलामा आफूले गरेको लगानीबारे उनले थपे, "यो पूर्ण रुपमा जोखिम हो, तर म यस्तो जोखिम शत प्रतिशत लिन चाहान्छु।"