ब्रजिल: पहिला कहिल्यै नदेखिएको आँधी जसले पूरै एउटा समुदायलाई त्रसित बनाएको छ

साओ लोरेन्सो
    • Author, भिनिसयुस लेमोस
    • Role, बीबीसी न्यूज ब्राजिल
  • Published
  • पढ्ने समय: ४ मिनेट

सामाजिक सञ्जालमा व्यापक रूपमा शेअर गरिएका भिडिओहरू झट्ट हेर्दा त हिउँदे तुषारपात जस्तो देखिएको थियो।

तर यी भिडिओहरू ब्रजिलको प्यान्टनालमा खिचिएको हो र त्यहाँ बिरलै मात्रै तापक्रम कम हुने गर्छ।

विश्वकै ठूलो उष्ण सिमसार भूमिको केन्द्र भागमा रहेको बार्रा साओ लोरेन्सो गाउँमा देखिएको खरानी र बालुवा हो। त्यहाँ करिब १०० रैथाने मानिसहरूको बसोबास रहेको छ।

हालैका साताहरूमा आँधी आउने क्रम निरन्तर भइरहेको स्थानीय बासिन्दाले बीबीसीसँग बताएका छन्।

विज्ञहरूले भने यो वर्ष ज्यानुअरीदेखि अक्टोबर महिनासम्म लागेका डढेलोले प्यान्टनालमा पुर्‍याएको क्षतिका कारण त्यस्तो भएको बताएका छन्।

(ब्राजिलका जीवविज्ञ ह्यूगो फर्नान्डेजले ट्वीटरमा पोस्ट गरेको भिडिओले साओ लोरेन्सोको आकाशमा उडिरहेको खरानी हिउँदे कुहिरोजस्तै देखिएको थियो।)

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

एसओएस प्यान्टनाल इन्स्टिट्युट नामक एक गैरसरकारी संस्थाका अनुसार डढेलोले झन्डै ४५ हजार वर्ग किलोमिटर क्षेत्रमा क्षति पुर्‍याएको छ।

यो भनेको न्यूयोर्क महानगरको क्षेत्रभन्दा चार गुणाभन्दा बढी हो।

डढेलो थामिए पनि उक्त क्षेत्रमा बस्ने मानिसहरू भने त्यसका असरहरूबाट अझै पीडित छन्।

'जताततै खरानी'

साओ लोरेन्सोमा बस्ने शिल्पकार मारिया डि सुजाले गएका केही सातामा बाक्लो खरानी उडेर आएको देखेकी छन्।

"यो देख्दा अत्यास लाग्छ। हाम्रो स्वास्थ्य खराब हुनुसँगै हाम्रो घर पनि खरानीले फोहोर हुन्छ र लुगा पनि त्यस्तै मैलो हुन्छ," उनले भनिन्।

"खरानी जेमा पनि टाँसिन्छ।"

खरानी र बालुवा मिसिएको आँधी आउँदा दिउँसै रातपरे जस्तो हुन्छ - एकजना स्थानीय बासिन्दाले खिचेको यो तस्बिर दिउँसो १ बजेको हो

"अर्को दिन म घरबाट बाहिर थिएँ। त्यति बेला बतास चल्न थाल्यो। घरभित्र पसेर मास्क लगाउन नभ्याउँदै एकदमै खोकी लाग्न थालिहाल्यो," डि सुजाले भनिन्।

ब्रजिलको जङ्गली डढेलो नियन्त्रण र रोकथाम गर्ने सरकारी निकायका वातावरणविद् आलेसान्ड्री डि माटोसले आगोका ज्वालाले ठूलो मात्रामा खरानी थुपारेका कारणले यस्तो भएको बताए।

"खरानी बगाएर लैजाने गरी पानी परेको छैन र त्यही कारण बतास चल्दा थुप्रिएर बसेका खरानी उडेर आउँछ।"

पहिला कहिल्यै नभएको प्रक्रिया

ब्रजिलको यो क्षेत्रमा सरकारी स्तरमा सन् १९९० मा डढेलोबारे अनुगमन गर्न थालिएयता प्यान्टनालमा यस्तो देखिएको पहिलो पटक हो।

माटोसका अनुसार यसअघि आँधीका कारण घरको छतका टायलहरू उडाएका विवरणहरू आएका थिए।

विगतमा भन्दा अहिले यी क्षेत्रमा रुखहरू डढेर खरानी भएका कारण पनि स्थिति थप खराब भएको हो। यसअघि यो समुदायमा आउने आँधीलाई तिनै रुखहरूले रोकेका थिए।

अनुसन्धानकर्ताहरूका अनुसार पहिलो पटक बाक्लो खरानी उडेर आएको अक्टोबरको मध्य तिर हो।

प्यान्टनालमा अग्नीनियन्त्रक

सिमसार संरक्षणका लागि एकदमै महत्त्वपूर्ण मानिने मध्येको एउटा ठाउँ सेरा डू अमोलारमा पनि यसको असर परेको छ।

त्यहाँका बासिन्दाहरूले शेअर गरेको तस्बिरमा जमिनभन्दा अलिकति माथि खैरो खालको बाक्लो बादल देखिन्छ।

डढेलो फैलिरहेको समयमा पनि शक्तिशाली आँधीले धुवाँ र खरानीका कणहरू ल्याएका थिए। यसले अग्नि नियन्त्रणका लागि खटिने जहाजका पाइलटहरूलाई पनि भिजिबिलिटी कम बनाएको थियो।

दिउँसै रात पर्‍यो

"यो पहिला कहिल्यै नभएको डरलाग्दो घटना भयो," उक्त क्षेत्रमा अनुगमन गर्ने वातावरणसम्बन्धी गैरसरकारी संस्था आईएचपीका अनुसन्धानदाता एन्जेलो राबेलोले भने।

"केही बेरमै दिन रातमा परिणत भयो र भोलिपल्ट बिहान नहुँदासम्म त्यस्तै भइरह्यो।"

तर त्यसयता आँधी रोकिएको छैन।

कम आक्रामक भए पनि खरानी मिश्रित उक्त आँधीले समुदाय, स्थानीय जनावर र प्यान्टनालको संरक्षणमा काम गरिरहेकालाई निरन्तर समस्यामा पारिरहेको विज्ञहरूले बताए।

डढेलो रोकिए पनि आँधीको असर निरन्तर परिरहेको छ

"मैले यसअघि दुई वटा डढेलोपछि आएका आँधी देखेको छु। तर यो चाहिँ सामान्य होइन," राबेलोले भने।

"यसले त्रास फैलाएको छ।"

कम आर्द्रता, उच्च तापक्रम र हालैका खडेरीले उक्त क्षेत्रमा अहिलेको परिस्थिति निम्त्याएको राबेलो बताउँछन्।

प्यान्टनाल क्षेत्रमा कति यस्ता आँधी आए भन्ने कुनै आधिकारिक तथ्याङ्क छैन तर साओ लोरेन्सोका बासिन्दाहरू भने आफूहरूले हालैका दिनमा दैनिक जसो यस्तो देख्ने गरेको बताउँछन्।

आँधीका कारण नदी किनारमा बस्ने समुदायमा स्वास्थ्य समस्याहरू देखा परेका छन्।

श्वासप्रश्वाससम्बन्धी समस्या भएकालाई त यसले थप असर गरेको छ।

कोरोनाभाइरसको विश्वव्यापी महामारीका माझ अवस्था थप बिग्रँदो बनेको छ।

"वायु प्रदूषण धेरै भएका क्षेत्रमा कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या धेरै रहेको भन्ने अध्ययनहरूले देखाएका छन्। त्यसैले अहिलेको यहाँको अवस्था चिन्ताजनक छ," फोक्सोसम्बन्धी चिकित्सक प्याट्रिसिया कान्टोले भने।

तर यस्तो प्रदूषित हावामा सास फेरेको असर वर्षौँपछि पनि देखिन सक्ने उनले बताए।

खोलामा पनि असर

"यदि यो अवस्था लामो समयसम्म निरन्तर रह्यो भने यसले फोक्सोको क्यान्सर पनि हुनसक्छ," विज्ञले भने।

प्यान्टनालमा भएको डढेलोले निम्त्याएको कठिनाइ एउटा मात्रै होइन।

प्याराग्वे रिभरको बायाँ किनारमा अवस्थित समुदायमा खाना र पानीको अभाव छ।

यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोत यही खोला हो र अहिले यो पाँच दशक यताकै सुख्खा भएको छ।

त्यससँगै, डढेलोले खोलाको पानीको गुणस्तरमा पनि असर पुर्‍याएको छ र बेलाबेला त्यहाँको पानी पिउनै नहुने अवस्थामा पुग्छ।

खरानी मिश्रित आँधीले प्याराग्वे रिभरको पानीको गुणस्तरमा पनि असर पुर्‍याएको छ

"खोलामा पर्याप्त पानी हुने गरी वर्षा भएको छैन र यसले माछा मार्ने काम थप कठिन बनाएको छ। त्यसबाहेक उडेर आएको खरानी पानीमा मिसिँदा पानी थेग्रिलो भएको छ," उक्त क्षेत्रमा काम गर्ने वातावरणविद् एलसाइड्स फरियाले भने।

फरियाका अनुसार उक्त खोलाको पानी पिएपछि थुप्रै मानिसहरूलाई पखाला लागेको थियो।

साओ लोरेन्सोमा एउटा मुख्य गतिविधि भनेको माछा मार्ने काम हो तर पानी प्रदूषित हुँदा माछा आफैँ मरेका छन्।

"यो एकदमै ठूलो विनाश हो। दुर्भाग्यवश यसमा 'मानिसको हात छ'। यो एकदमै गैरजिम्मेवारपूर्ण हो," लियोनिडा आयर्सले खेद प्रकट गरिन्।

उनी शिल्पकार हुन् जसले सिमसार क्षेत्रमा पाइने एक प्रकारको फूलको पातलाई आफ्नो काममा प्रयोग गर्छिन्। ती फूलका बिरुवाहरू पनि हराउन थालेका छन्।

"डढेलो र खडेरीका कारण हाएसिन्थ नामक फूल एकदमै कम मात्रै पाइन्छ।"

वाटर हाएसिन्थ

तर यो बिरुवाका पातहरू वरपर पाइए पनि त्यसलाई बेच्नका लागि कोही पनि छैनन्।

कोरोनाभाइरसको विश्वव्यापी महामारी र डढेलोले उक्त क्षेत्रको पर्यटनलाई नराम्ररी प्रभावित पारेको छ।

"धेरै मानिसहरू आर्थिक कठिनाइमा छन्," लियोनिडाले भनिन्।

मानिसहरू आकस्मिक सहायताको भरमा बाँचिरहेका छन्।