राजकुमार ह्यारी र मेगन मार्कल: ब्रिटिश महारानी एलिजावेथले समाधान खोज्दै गर्दा डचिस अफ ससिक्स क्यानडा फिर्ता

महारानी एलिजावेथ द्वितीयासँग ड्यूक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगन मार्कल
तस्बिरको क्याप्शन, महारानी एलिजावेथ द्वितीयासँग ड्यूक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगन मार्कल
Published

ब्रिटेनको राजपरिवारमा राजकुमार ह्यारी र उनकी पत्नीको अब के कस्तो भूमिका हुन्छ भन्ने विषयमा छलफल चलिरहँदा डचिस अफ ससिक्स मेगन मार्कल क्यानडा फिर्ता गएकी छन्।

ह्यारी र मार्कलले आफूले राजपरिवारको 'वरिष्ठ सदस्य' को भूमिका परित्याग गर्ने र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका थिए।

उक्त शाही दम्पती क्रिस्मसको बिदामा छोरा आर्चीलाई लिएर क्यानडा गएका थिए। त्यहाँबाट स्वदेश फर्किएपछि उनीहरूले अप्रत्याशित रूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै त्यस्तो घोषणा गरेका थिए।

ब्रिटिश महारानी, प्रिन्स अफ वेल्स र ड्यूक अफ केम्ब्रिजले राजसेवाका कर्मचारीहरूलाई ह्यारी दम्पतीको घोषणापश्चात् उत्पन्न परिस्थितिको एउटा व्यावहारिक समाधान खोज्न भनेकै बेला मेगन क्यानडा गएकी हुन्।

ह्यारी र मेगनको घोषणाका कारण राजपरिवार "आहत" भएको बताइएको छ।

बकिङ्गम प्यालेसस्थित स्रोतहरूले बीबीसीका शाही संवाददाता जोनी डाइमन्डलाई बताएअनुसार उक्त विज्ञप्तिबारे राजकुमार ह्यारी र मेगनले राजपरिवारका कुनै सदस्यसँग पनि परामर्श गरेका थिएनन्।

उनीहरूले यूके र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने आफ्नो योजना भएको उल्लेख गरेका थिए।

"हामी राजपरिवारका 'वरिष्ठ' सदस्यको भूमिका त्याग्न र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्न चाहन्छौँ। यद्यपि हामी महारानीलाई निरन्तर पूर्ण समर्थन गरिरहनेछौँ," उक्त दम्पतीको विज्ञप्तिमा उल्लेख छ।

आमा राजकुमारी डायनासँग राजकुमार विलियम र ह्यारी सन् १९९१ मा क्यानडामा
तस्बिरको क्याप्शन, आमा राजकुमारी डायनासँग राजकुमार विलियम र ह्यारी सन् १९९१ मा क्यानडामा

महारानी, कमनवेल्थ र आफू संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निर्वाह गर्दै यूके र उत्तर अमेरिकामा समय व्यतीत गर्ने आफ्नो योजना भएको उनीहरूले बताएका छन्।

"यो भौगोलिक सन्तुलनले हामीलाई हाम्रा छोरालाई शाही परम्पराको सम्मान गर्दै हुर्काउन समर्थ बनाउनेछ। त्यसो गर्दा हाम्रो परिवारलाई नयाँ परोपकारी संस्थाको आरम्भ गर्न सहित नयाँ अध्यायमा केन्द्रित हुन ठाउँ दिनेछ।"

शाही संवाददाता निकोलस विचलका अनुसार महारानीले बिहीवार प्रिन्स अफ वेल्स चार्ल्स र ड्यूक अफ केम्ब्रिज विलियमसँग सम्पर्क गरेकी थिइन्।

उनीहरू सबैले राजसेवाका वरिष्ठ कर्मचारीहरूलाई ससिक्स परिवार र सरकारसँग मिलेर केही दिनभित्र समाधान खोज्न निर्देशन दिएका थिए।

त्यसपछि मेगन क्यानडाका लागि प्रस्थान गरेको पुष्टि बीबीसीलाई गरिएको थियो, बीबीसी संवाददाता जोनी डाइमन्डले भने।

उत्तराधिकार कायम

ह्यारी र मेगन दम्पतीको घोषणाले बकिङ्गम प्यालेस "स्तब्ध" भएको उनले बताए।

डाइमन्डका अनुसार राजपरिवारमा उनीहरूको भविष्यबारे छलफल भए पनि त्यो प्रारम्भिक चरणमा थियो।

बुधवार एउटा विज्ञप्ति जारी गर्दै बकिङ्गम प्यालेसले भनेको छ, "उनीहरूको भिन्न शैलीमा जाने इच्छा भएको बुझ्छौँ। तर यी जटिल विषय हुन् र तिनलाई समाधान गर्न समय लाग्छ।"

उनीहरूले जे निर्णय गरेको भए पनि ह्यारी ब्रिटिश राजगद्दीको उत्तराधिकारीको लहरमा छैटौँ स्थानमा छन्।

क्यानडाबाट फर्किएपछि ह्यारी र मेगनले लन्डनस्थित क्यानडाको उच्च आयोगमा गएर आतिथ्यका लागि धन्यवाद दिएका थिए
तस्बिरको क्याप्शन, क्यानडाबाट फर्किएपछि ह्यारी र मेगनले लन्डनस्थित क्यानडाको उच्च आयोगमा गएर आतिथ्यका लागि धन्यवाद दिएका थिए

गत अक्टोबर राजकुमार ह्यारी र मेगनले ब्रिटिश सञ्चारमाध्यमले आफूहरूबारे अनावश्यक चासो देखाएको गुनासो गरेका थिए।

क्रिस्मसको बेला राजपरिवारको जिम्मेवारीबाट छ हप्ताको बिदा लिएर छोरासहित ह्यारी दम्पती क्यानडा गएका थिए।

उनीहरू छोरालाई क्यानडामा नै छाडी मङ्गलवार यूके फर्किएका हुन्।

त्यसपछि ३५ वर्षीय ह्यारी र ३८ वर्षीया मेगन लन्डनस्थित क्यानडाको उच्च आयोग गएर आतिथ्यका लागि धन्यवाद दिएका थिए।

भूतपूर्व अभिनेत्री मेगन अमेरिकी नागरिक हुन्।

अमेरिकी टेलिचलचित्र 'सूट्स'मा अभिनय गर्दा उनी क्यान्डाको टोरन्टो बस्थिन्।

राजपरिवार

आर्थिक आत्मनिर्भरता

राजपरिवारको वरिष्ठ भूमिका परित्याग गरेपछि ब्रिटेनमा राजपरिवारका सदस्यको खर्च व्यहोर्ने कोष 'सोभ्रिन ग्र्यान्ट'बाट पैसा नलिने घोषणा ह्यारी र मेगनले गरेका छन्।

औपचारिक शाही उत्तरदायित्व वहन गर्दा राजपरिवारका सदस्यलाई सोभ्रिन ग्र्यान्ट भनिने सार्वजनिक कोषबाट रकम उपलब्ध गराइन्छ।

महारानीले राज्यलाई सुम्पिएको शाही सम्पत्तिको कारोबार हेर्ने निकाय क्राउन इस्टेटले गर्ने आम्दानीबापत राज्यले राजपरिवारलाई खर्चका लागि उक्त कोष उपलब्ध गराउँछ।

आर्थिक वर्ष २०१८-२०१९ मा उक्त कोषमा आठ करोड २० लाख पाउन्ड थियो।

सन् २०१९ को मे ६ मा मेगनले छोरालाई जन्म दिइन्।
तस्बिरको क्याप्शन, सन् २०१९ को मे ६ मा मेगनले छोरालाई जन्म दिइन्।

ह्यारी र मेगन दम्पतीका अनुसार सन् २०१९ मा सोभ्रिन ग्र्यान्टले उनीहरूको औपचारिक कार्यालयको पाँच प्रतिशत खर्च बेहोरिदिएको थियो। बाँकी खर्च प्रिन्स चार्ल्सले आफ्नो व्यापारिक संस्था डची अफ कोर्न्वलको आयबाट उपलब्ध गराएका थिए।

विन्जरस्थित राजकुमार ह्यारी सपरिवार बस्दै आएको निवास फ्रग्मोर कटेज उनीहरूकै मातहतमा रहनेछ। त्यसको जिर्णोद्धार गर्न जनताको करबाट सङ्कलित २४ लाख पाउन्ड खर्च भएको थियो।

ह्यारी र मेगनको सम्बन्ध

ह्यारी र मेगन
  • ८ नोभेम्बर २०१६ - केन्सिङ्टन प्यालेसले वक्तव्य जारी गरी राजकुमार ह्यारी र मेगन मार्कल प्रेमसम्बन्धमा रहेको जानकारी
  • २८ नोभेम्बर २०१७ - ह्यारी र मेगन विवाहका लागि तयार भएको भनाइ
  • १५ डिसेन्बर २०१७ - केन्सिङ्टन प्यालेसले उनीहरूले मे १९ लाई विवाहको दिन तोकेको जानकारी
  • १९ मे २०१८ - ह्यारी र मेगनको विवाहसँगै उनीहरूलाई ड्यूक एन्ड डचिस अफ ससिक्स उपाधि प्रदान
  • १५ अक्टोबर २०१८ - केन्सिङ्टन प्यालेसद्वारा मेगन गर्भवती भएको जानकारी
  • ६ मे २०१९ - मेगनको कोखबाट छोरा आर्चीको जन्म
  • ८ ज्यानुअरी २०२० - परिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गर्ने र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा
भिडिओ क्याप्शन सुरु हुँदैछ, राजकुमार ह्यारीको बिहे