रुसमा भीआर उपकरणको प्रयोग गरेर गाईलाई शान्त तुल्याउने र दूध उत्पादन बढाउने प्रयास

गाईलाई भीआर हेडसेट

तस्बिर स्रोत, Moscow Ministry of Agriculture and Food

Published

रुसमा एउटा डेरी फार्मले गाईको मानसिक उद्विग्नता कम गरेर दूध उत्पादन बढाउने प्रयासस्वरूप अत्याधुनिक प्रविधि प्रयोग गर्न थालिएको छ।

उक्त फार्मले गाईहरूलाई कृत्रिम वास्तविकता भनिने भर्चूअल रीयालिटी (भीआर) उपकरण लगाइदिन थालेको छ। आँखा पूरै छोपिने हेडसेट लगाएर आफू अर्कै दुनियाँमा रहेको भान पार्ने भीआर प्रविधि हाल विशेषगरी कम्प्युटर गेमहरूका लागि प्रख्यात रहेको छ।

सामान्य टेलिभिजन वा भिडिओको दृश्य भन्दा निकै भिन्न भीआर प्रविधिमार्फत् दर्शकले आफू अर्कै दुनियाँमा रहेको वास्तविक जस्तै अनुभव गर्न सक्ने भएकाले यस्लाई कृत्रिम वास्तविकता भन्ने गरिएको हो।

गाईहरूलाई भीआर प्रविधिजडित हेडसेट लगाइदिएर दूध उत्पादन बढाउन तिनीहरूलाई ग्रीष्म ऋतुको बेलाको जस्तो खेतबारी र चौरका दृश्य देखाइएको थियो।

मस्कोस्थित कृषि मन्त्रालयले एउटा अनुसन्धानलाई उद्धृत गर्दै गाईको भावनात्मक अनुभवको अवस्था र दूध उत्पादनबीच सम्बन्ध रहने थाहा भएको जनाएको छ।

प्रारम्भिक परीक्षणमा भीआर उपकरणले गाईबस्तुको "समग्र मनस्थिति"मा सुधार देखिएको बताइएको छ।

मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा मस्कोको रामन्स्की जिल्लास्थित रुसमोलोको फार्ममा उक्त परीक्षण गरिएको उल्लेख छ।

गाई

तस्बिर स्रोत, Moscow Ministry of Agriculture and Food

"विभिन्न देशका डेरी फार्मका उदाहरणहरूमा शान्त वातावरणमा दूधको परिमाण अनि कहिलेकाहीँ गुणस्तर पनि उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ," विज्ञप्तिमा उल्लेख छ।

उक्त उपकरणको प्रभाव गाईबस्तुमा कस्तो हुन्छ त्यो अनुसन्धानकर्ताहरूले दीर्घकालीन अध्ययन गरेर हेर्नेछन्।

राम्रो परिणाम आइरहे उपकरणका निर्माताहरूले आफ्नो योजना विस्तार गर्ने अपेक्षा राखेको बताइएको छ।