संघीय संसद्को पहिलो अधिवेशन: कार्यसूची के?

संसद् बैठक
तस्बिरको क्याप्शन, झन्डै १० वर्ष पछि संघीय संसद्का रुपमा दुई सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाले सोमवारदेखि आफ्नो काम शुरु गरेका छन्
Published

संघीय संसद्को पहिलो अधिवेशन शुरु भएको पहिलो दिन निर्वाचन सम्पन्न भएको झण्डै तीन महिनापछि प्रतिनिधि सभा र हालै गठन भएको राष्ट्रिय सभाका छुट्टा-छुट्टै बैठक बसेका छन्।

यस पटकको संसद् अधिवेशनले संविधानले तोकेका पदाधिकारी चयन, विश्वासको मत लिनेजस्ता अनिवार्य काम गर्ने बताइएको छ।

संविधानसभामार्फत् संविधान निर्माण गर्ने प्रकृया शुरु भएसँगै दुई सदनात्मक व्यवस्था अन्त्य भएको थियो।

झन्डै १० वर्ष पछि संघीय संसद्का रुपमा दुई सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाले सोमवारदेखि आफ्नो काम शुरु गरेका हुन्।

यसपटक प्रतिनिधि सभा पहिलेको भन्दा केही ठूलो आकारको छ भने राष्ट्रिय सभा विगतको भन्दा सानो आकारको बनेको छ।

कार्यविधि

संसद्को दुवै सदनमा सत्तारुढ वाम गठबन्धनको बहुमत रहेको छ।

दुवै सदनका पहिलो बैठकको अध्यक्षता ती सदनका जेष्ठ सदस्यहरुले गरेका थिए।

प्रतिनिधि सभामा सभामुखको भूमिका निर्वाह गरेका जेष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रिय सभाको अध्यक्षता गरेकी जेष्ठ सदस्य तारादेवी भट्टले सासंद्हरुलाई स्वागत गरेका थिए।

झण्डै १० मिनेट मात्र बसेको पहिलो संसद् बैठकले संसद्को नियमावली नबन्दासम्मको निम्ति संसदीय काम कारबाही गर्न आवश्यक अन्तरिम कार्यविधि पारित गरेको छ।

प्रतिनिधि सभामा सभामुख र उपसभामुख अनि राष्ट्रिय सभामा अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा बैठक संचालन गर्न सांसद मनोनित गर्ने काम समेत भएको संसद् सचिवालयले जनाएको छ।

कार्यतालिका

मंगलवारको बैठकमा प्रमुख दलका शीर्षस्थ नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

संसद् बैठक
तस्बिरको क्याप्शन, संसद्को पहिलो बैठकले संसद्को नियमावली नबन्दासम्मको निम्ति संसदीय काम कारबाही गर्न आवश्यक अन्तरिम कार्यविधि पारित गरेको थियो

संसद्को यस पटकको अधिवेशनको मुख्य जिम्मेवारीबारे संविधानमा गरिएका व्यवस्थाको कार्यान्वयन गर्नुरहेको संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटराईले जानकारी दिए।

उनले भने, "संसद्को नियमावली बनाउनुका साथै प्रतिनिधि सभाको सभामुख, उपसभामुख अनि राष्ट्रिय सभाको अध्यक्ष तथा उपाध्यक्षको निर्वाचन गर्नुपर्ने छ। सरकारले संसद्बाट विश्वासको मत लिने काम पनि यही अवधिमा हुने छ। संविधान अनुकूलका कानूनहरु पनि यसको प्राथमिकता रहनेछन्।"

विगतको रुपान्तरित संसद्ले गर्न बाँकी रहेका संविधान अनुकूलका कानून बनाउने जिम्मेवारी पनि यो संसद्मा सरेको छ। सरकारले पूर्ण आकार नलिएकाले संसद्‍मा लैजानुपर्ने कानूनबारे भने निर्णय हुन बाँकी रहेको अधिकारीहरुको भनाइ छ।

संसद् सचिवालयले सभामुखको चयनका लागि फागुन २६ गते मतदानको मिति तोकेको छ भने राष्ट्रिय सभा अध्यक्षका लागि फागुन ३० गतेको मिति तोकिएको छ।

चैत्र २ गते प्रतिनिधि सभाको उपाध्यक्ष र चैत्र ४ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिएको छ।

सरकारले संसद्‍मा विश्वासको मत लिने कार्यक्रम पनि रहेको बताइएको छ।