नेपाल फर्कने घोषणा गरेका शेरबहादुर देउवाको परिवारमाथि के कस्तो अनुसन्धान भइरहेको छ?

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

विदेशमा रहेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल फर्कने घोषणा गरेपछि उनी र उनको परिवारका कतिपय सदस्यबारे नेपालमा 'जारी रहेको' सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानले कुन मोड लिन्छ भन्नेबारे चासोहरू प्रकट भएका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकले अनुसन्धान भइरहको विषयमा आफूले प्रतिक्रिया दिन नसक्ने बीबीसीलाई बताए।

गएको चैत्रमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा काठमाण्डू जिल्ला अदालतले अनुसन्धानका लागि देउवा दम्पतीलाई पक्राउ गर्न अनुमति दिएको थियो।

उक्त पक्राउ पुर्जीलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो र त्यसयता अनुसन्धान प्रक्रिया कुन ढङ्गले अघि बढी रहेको छ भन्नेबारे अधिकारीहरूले केही बताएका छैनन्।

गत फागुन महिनाको आम निर्वाचनको एक साता अघि नै उपचारका लागि भन्दै विदेश प्रस्थान गरेका देउवाले मङ्गलवार वीपी स्मृति दिवसका अवसरमा जारी गरेका सन्देशमा नेपाली नागरिकको लोकतान्त्रिक चेतना, राष्ट्र प्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण अस्था र समर्पण भाव रहेको उल्लेख गर्दै नेपाल फर्कन लागेको जनाएका थिए।

राज्य शक्तिको 'प्रतिशोधपूर्ण प्रयोग गरी प्रतिपक्षलाई आतङ्कित बनाउन' सरकार लागेको भन्दै उनले आफू र आफ्नो दलले त्यसको सामना गर्ने पनि उल्लेख गरेका थिए।

स्वदेश फर्कने देउवाको निर्णयपछि कस्ता प्रतिक्रिया?

जेन जी आन्दोलनका क्रममा कुटपिटमा परेका पूर्व प्रधानमन्त्री देउवा र उनको परिवारका कतिपय सदस्यमाथि हालैका महिनाहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेका ती निकायहरूले उल्लेख गरेका थिए।

नेपाल प्रहरीले इन्टरपोलमार्फत देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी गर्ने प्रयास गर्दा 'सफल हुन नसकेका' विवरणका माझ सर्वोच्च अदालतले जिल्ला अदालतद्वारा जारी गरिएको पक्राउ अनुमतिलाई निष्क्रिय तुल्याइदिएको थियो।

सर्वोच्च अदालतले उक्त प्रक्रियामा अवलम्बन गरिएको 'बाटो ठिक भएन' भनेपछिका घटनाक्रमबारे अनुसन्धान अधिकारीहरूले खुलाएका छैनन्। तर विभागले देउवा दम्पत्तिलाई बोलाएर बयान लिनसक्ने बाटो खुला नै रहेको कतिपय जानकार अधिकारीहरू बताउँछन्।

हालै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री विष्णु पौडेलसहितलाई प्रतिवादी बनाएर दायर गरेको आरोपपत्रमा प्रतिवादी दीपक भट्टको लगानी रहेको व्यापारिक संस्थाबाट पूर्वप्रधानमन्त्री देउवाका छोराको लगानीमा रहेको दुई कम्पनीमा २ करोड ६० लाख रुपियाँ भुक्तानी गरेको देखिएको पनि उल्लेख गरिएको छ।

उक्त रकम सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरबाट प्राप्त भएको हुनसक्ने भन्दै सो आरोपपत्रमा अनुसन्धानलाई निरन्तरता दिइने जनाइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले बीबीसीसँग कुरा गर्दै भने, "ठ्याक्कै यसमा प्रतिक्रिया दिनसक्ने अवस्थामा हामी छैनौँ। अनुसन्धानको विषयमा नबोलौँ।"

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गएको असार २३ गते शेरबहादुर देउवाका छोराको नाममा गोरखापत्रमा सार्वजनिक सूचना नै प्रकाशित गरेर ७ दिनभित्र बयानका लागि उपस्थित हुन भनेको थियो।

त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेन जी आन्दोनलमा क्षति पुगेपछि भत्काइँदै गरेको बुढानिलकन्ठस्थित देउवा निवासमा पुगेर तीन दिनभित्र राहदानी छपाई सम्बन्धी उजुरीबारे बयान दिन आउन असार २ गते सूचना टाँस गरेको थियो।

उक्त प्रकरणमा अख्तियारका अधिकारीहरूलाई प्रधानमन्त्री वालेन्द्र शाहको 'सचिवालयका अधिकारीहरूले मुद्दा चलाउन दबाब दिएका' भन्ने समाचार विवरणहरू आएका थिए।

गएको महिना नै अख्तियारले विभागका तत्कालीन महानिर्देशकसहित १८ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

नेपाली कांग्रेसका नेता के भन्छन्?

देउवा निकटका कांग्रेस नेता मीन विश्वकर्मा आफूले दुई दिन अघि मात्रै देउवासँग कुरा गरेको र चाँडै देश फर्कने पक्षमा उनी रहेको पाएको बताए।

उनले भने, "उहाँले मिति भन्नुभएको छैन। तर चाँडै आउँछु भन्नुभएको थियो। आउन चाहिँ सबै जना नै आउनुहुन्छ होला तर विस्तृत कुराकानी भएन।"

उनले देउवाको 'हात भाँच्चिएको' भन्ने चर्चाबारे आफूले जिज्ञासा राख्दा त्यो गलत भएको र स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी पाएको सुनाए।

उनले सरकारको व्यवहार प्रतिशोधपूर्ण रहेको र उसले 'आफूलाई जे सुकै गर्नसक्ने' ठानेको भएपनि पार्टी एकता र राष्ट्रिय एकता दुवैलाई ध्यान दिएर फर्कन लागेको सन्दर्भ देउवाले आफ्नो विज्ञप्तिमा पनि उल्लेख गरेको जनाए।

"राजनीतिक प्रतिशोध भएका हुनाले एउटा राजनीतिक बाटोमा हामी जान्छौँ। अक्षरश: कानुनलाई पालना गर्ने भएकाले उहाँ कानुनी बाटोमा नै जानुहुन्छ," उनको भनाइ थियो।

नेपाली कांग्रेस पार्टीमा रहेको देउवा पक्षले वीपी कोइराला स्मृति दिवसको सन्दर्भमा बुधवार राजधानीमा अलग्गै कार्यक्रम राखेको छ र यसपछि सम्भवतः काठमाण्डू बाहिरका समर्थकहरूसमेतलाई सहभागी गराएर राष्ट्रिय भेला आयोजना गर्ने तयारी रहेको छ।

देउवा एक्लै फर्कलान कि परिवार सहित फर्कलान्?

पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाले आफ्नो विज्ञप्तिमा एक्लै वा आफ्नी श्रीमती पूर्वपरराष्ट्रमन्त्री समेत रहेकी आरजु राणा देउवासहित फर्कन लागेको हो खुलाएका छैनन्।

विगतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेल मार्फत पत्र नै लेखेर देउवाले आफू स्वास्थ्य उपचारका लागि बाहिर रहेको र उपचार सकिएलगत्तै उपस्थित हुने जानकारी गराएका थिए।

देउवा प्रधानमन्त्री रहेको समयमा उनका प्रेस सल्लाहकार रहेका गोविन्द परियार 'देउवा नेपाल फर्कने निश्चित भएको र उनी यही महिना भित्रै नेपाल आइपुग्ने' बताउँछन्।

उनले भने, "उहाँको उपचारको जुन चरणहरू थियो त्यो सकिएको छ। साउनको अन्तिमसम्ममा उहाँ आउने कुरा भइरहेको छ।"

जेन जी आन्दोलनमा 'दमन गरेको' अभियोगमा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक अनि सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ गरिएका पूर्व अर्थमन्त्री विष्णु पौडेललाई अदालतले रिहा गरिदिएको थियो।

आलोचकहरूले ती गिरफ्तारीहरू 'प्रतिशोधपूर्ण' रहेको बताइरहँदा सरकारले कानुन सम्मत ढङ्गले नै कदमहरू चालिएको दाबी गर्ने गरेको छ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले देउवालगायत अन्य व्यक्तिहरूको घरमा आक्रमण हुँदा फेला परेको रकमका बारेमा कानुनबमोजिम विस्तृत अनुसन्धान गर्न सिफारिस गरेको थियो।

त्यसबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरेको पनि भनिएको थियो। तर त्यो अनुसन्धानमा के फेला पर्‍यो भन्ने कुरा अझै अधिकारीहरूले खुलाएका छैनन्।

देउवा दम्पती बिदेसिएपछि सम्पत्ति शुद्धीकरण विभागले अध्यागमन विभागलाई पत्र लेखेर उनीहरूको यात्रा विवरण र उनीहरू रहेको स्थानका बारेमा जानकारी माग गरेको थियो।

फौजदारी कानुनका कतिपय विज्ञहरूले प्रभावकारी ढङ्गले प्रमाण सङ्कलन नगरी गिरफ्तारी मात्र गर्दा सरकारको विश्वसनीयतामा ह्रास आउने तर्क गर्दै आएका छन्।

सरकारले चाहिँ स्वदेश फर्कने देउवाको निर्णयबारे कुनै पनि प्रतिक्रिया जनाइसकेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।