ओस्कर पुरस्कारको प्रतिस्पर्धामा छानिएपछि भारतीय चलचित्र ‘आरआरआर’ को गीतको चुलिएको चर्चा

चलचित्रमा राम चरण र एनटीआर जूनिअरले क्रमशः अल्लुरी सीतारामा राजु र कुमारम् भीमको भूमिका निर्वाह गरेका छन्
तस्बिरको क्याप्शन, चलचित्रमा राम चरण र एनटीआर जूनिअरले क्रमशः अल्लुरी सीतारामा राजु र कुमारम् भीमको भूमिका निर्वाह गरेका छन्
Published

भारतमा तेलुगू भाषामा बनेको चलचित्र ‘आरआरआर’ मा समाविष्ट एउटा गीत यो वर्ष ओस्कर पुरस्कारको अन्तिम प्रतिस्पर्धामा पुगेको छ।

‘नाटू-नाटू’ शीर्षकको उक्त गीत ‘मौलिक गीत’ को विधामा प्रसिद्ध ओस्कर पुरस्कारको ९९औँ संस्करणका लागि मनोनयनमा परेको हो।

उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको विधामा बाहेक अरू विधामा 'अक्याडमी अवार्ड्स'मा मनोनयनमा परेको यो नै पहिलो कथानक भारतीय चलचित्र हो।

पुरस्कार वितरण समारोहहरूमा उक्त गीत निकै लोकप्रिय बनेको छ। त्यसले गोल्डन ग्लोब र क्रिटिक्स चोइस अवार्ड पनि हात पारिसकेको छ।

उक्त गीतको प्रतिस्पर्धा लेडी गागा र रिहानाका गीतहरूसँग हुनेछ।

ओस्कर पुरस्कार समारोहका सञ्चालक रिज अहमद र एलिसन विलियम्सले मङ्गलवार बेभर्ली हिल्समा मनोनयनमा परेका चलचित्र, गीत र व्यक्तिहरूको घोषणा गरेका हुन्।

यो वर्ष मार्च १२ मा अमेरिकाको लस एन्जलिसमा पुरस्कार घोषणा र वितरण हुनेछ।

आरआरआर चलचित्रको दृश्य

ओस्कर मा भारतीय सङ्गीत

सन् २००९ मा भारतका एक प्रसिद्ध संगीतकार एआर रहमानले सङ्गीत संयोजन गरेको गीतले ओस्कर हात पारेको थियो।

चलचित्र ‘स्लमडग मिल्यनेअर’ को गीत ‘जय हो’ ले मौलिक गीतको विधामा उक्त उपलब्धि हासिल गरेको थियो। ब्रिटिश निर्देशक ड्यानी बोयलले उक्त चलचित्र बनाएका थिए।

 मनोनयनमा परेका गीतहरूको नाम घोषणा हुनुभन्दा घण्टौँअगाडि ट्विटरमा #NTRforOscars ट्रेन्ड हुन थालेको थियो। प्रशंसकहरूले सामाजिक सञ्जालमा आरआरआरले पुरस्कार जितोस् भन्ने कामना गरेका छन्।

विभिन्न म्यागजीनहरूमा प्रकाशित अनुमानहरूमा ‘नाटू-नाटू’ परेपछि उनीहरूको अपेक्षा बढेको देखिन्छ।

नाटू-नाटू गीतमा के छ?

साढे चार मिनेट लामो उक्त गीत युक्रेनमा सन् २०२१ मा खिचिएको हो। युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयमा त्यसको छायाङ्कन भएको थियो।

चलचित्रका मूल पात्रको भूमिका निर्वाह गरेका अभिनेताद्वय राम चरण र एनटी रामाराव जूनिअरले उक्त गीतको दृश्यमा नाचेका छन्।

गीत कालभैरव र राहुल सिपलीगुन्जले गाएका हुन्।

यो चलचित्रमा ब्रिटिश शासनविरुद्ध सङ्घर्ष गरेका दुई भारतीय क्रान्तिकारीको कथा प्रस्तुत गरिएको छ।यसमा द्वन्द्व, नृत्य र देशभक्ति झल्किने गीतहरू छन्।

चलचित्रमा भीमको भूमिका निर्वाह गरेका एनटीआरलाई तेलङ्गानाका र रामको भूमिकामा रहेका राम चरणलाई आन्ध्र प्रदेशका पात्रका रूपमा प्रस्तुत गरिएको छ।

आरआरआर

भारतको औपचारिक मनोनयनमा परेको थिएन

भारतबाट ओस्करका लागि गरिएको औपचारिक मनोनयनमा गुजराती चलचित्र ‘चेल्लो’ले ‘आरआरआर’लाई उछिनेको थियो।

त्यसपछि निर्देशक एसएस राजामौलीले व्यापक सार्वजनिक अभियान गरेर उक्त चलचित्रलाई १४ वटा विधाका लागि प्रतिस्पर्धामा पठाए।

तीमध्ये उत्कृष्ट तस्बिर, उत्कृष्ट निर्देशन र उत्कृष्ट पटकथाका विधा पनि पर्छन्।

‘आरआरआर’ भारतमा निर्माण भएका महँगा चलचित्रमध्ये पर्छ।

यो चलचित्रलाई भारत र अन्यत्र पनि निकै सफल मानिएको छ।

सबैतिर प्रशंसा

संयुक्त राज्य अमेरिकामा ‘आरआरआर’ प्रदर्शन हुँदा दर्शकहरू रमाएर चिच्याएको भिडिओ सामाजिक सञ्जालमा देखिन्छ।

समीक्षकहरूले उक्त चलचित्रबारे उत्साहप्रद र सकारात्मक टिप्पणी गरेका छन्।

एड्गर राइट र जेम्स गनजस्ता हलीवुडका ख्यातिप्राप्त निर्देशकले पनि ‘आरआरआर’ को प्रशंसा गरेका छन्।

क्रिटिक्स चोइस अवार्ड्सको २८औँ संस्करणमा उक्त चलचित्रले विदेशी भाषामा भनेको उत्कृष्ट चलचित्रको विधा ‘बेस्ट फोरिन ल्याङ्वेज फिल्म’को उपाधि र ‘नाटू-नाटू’ उत्कृष्ट गीतका रूपमा विजयी घोषित भएको थियो। त्यसपछि सो गीतका सङ्गीत संयोजक एमएम कीरवानीले प्रसिद्ध चलचित्र निर्देशक जेम्स क्यामरनसँग पुरस्कार वितरण समारोहमा खिचेका तस्बिरहरू सार्वजनिक गरेका थिए।

क्यामरनले ‘आरआरआर’ दुई पटक हेरेको र आफ्नो सङ्गीतको प्रशंसा गरेको त्यतिबेला कीरवानीले लेखेका थिए।

क्यामरन पनि एक ओस्कर पुरस्कार विजेता चलचित्र निर्देशक हुन्।

आरआरआर चलचित्रका निर्देशक एसएस राजामौली
तस्बिरको क्याप्शन, आरआरआर चलचित्रका निर्देशक एसएस राजामौली

कसरी बन्यो नाटू-नाटू

राजामौली, कीरवानी र गीतकार चन्द्रबोसले तीन वर्षअघि यो गीतमा काम गर्न थालेका थिए।

हैदराबादस्थित एउटा कारखानामा स्थापित 'आरआरआर' को कार्यालयबाट काम सुरु भएको थियो।

आफ्नो गाडीमा बस्नासाथ चन्द्रबोसको मनमा गीतकाबारेमा विचारहरू फुर्न थालेको र त्यो कारखानाबाट आफैँ गाडी चलाएर बाहिर गइरहेको बेला उनको मनमा ‘नाटू-नाटू’ बोल फुरेको बताइएको छ।

त्यसैलाई सुहाउनेगरी पछि सङ्गीत संयोजन भयो।

‘नाटू-नाटू’ को गीतमा अभिनेताहरूले आफ्नो नृत्य कौशल पनि देखाएका छन्। नाच्न सुहाउने गरेर चन्द्रबोसले त्यो गीत बनाए।

गीतको सुरुका पङ्क्ति दुई दिनमा बनाएर उनले कीरवानीसँग भेटेको र उनलाई विभिन्न लयमा ती पङ्क्तिहरू सुनाएको पनि उनले बताएका छन्।