अन्तरिक्षमा पहिलो पटक चलचित्र छायाङ्कन गरेर रुसी टोली पृथ्वी फिर्ता

युलिया पेरेसिल्द
Published
पढ्ने समय: ३ मिनेट

पहिलो पटक अन्तरिक्षमा व्यावसायिक चलचित्रको छायाङ्कन गरेर एउटा रुसी टोली पृथ्वी फर्किएको छ।

च्यालेन्ज नामक चलचित्रको छायाङ्कन गर्न निर्देशक क्लिम शिपेन्को र कलाकार युलिया पेरेसिल्ड अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएस गएका थिए।

उनीहरू आईएसएसबाट फर्किएर काजकस्तानमा अवतरण गरेको दृश्य पनि छायाङ्कन गरिएको छ।

उनीहरूको आईएसएस बसाइ पनि निकै नाटकीय रह्यो। प्राविधिक समस्या उत्पन्न भएकाले शुक्रवार आईएसएस अनपेक्षित रूपमा केही ढल्किन पुगेको थियो।

आधा घण्टाजति देखिएको उक्त समस्याबाट छायाङ्कन प्रभावित भएको बताइएको छ।

उनीहरूलाई बिदा गर्दा खिचिएको एउटा भिडिओ आईएसएसले ट्विटरमा प्रेषित गरेको छ।

त्यसमा गुरुत्वहीनताका कारण पेरेसिल्डको कपाल उडिरहेको देखिन्छ।

उक्त चलचित्र अन्तरिक्षमा नभएर पृथ्वीमै खिचिएको हो कि भन्ने शङ्का त्यसबाट निराकरण हुने उनीहरूको अपेक्षा छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

यो रुसी चलचित्रले टम क्रूजसँग प्रतिस्पर्धा गर्न खोजेको छ।

नासा र इलोन मस्कको स्पेसएक्स सम्मिलित हुने र अन्तरिक्षमा छायाङ्कन गर्न लागिएको एउटा हलीवुड चलचित्रमा क्रूज पनि सहभागी हुन लागेका छन्।

पेरेसिल्ड, शिपेन्को र अन्तरिक्षयात्री ओलेग नोभित्स्की चढेको यान स्थानीय समयानुसार आइतवार दिउँसो काजकस्थानको समथर भूमिमा अवतरण गर्‍यो।

शुक्रवार आईएसएसमा उत्पन्न भएको प्राविधिक समस्याले उनीहरूको फिर्ता हुने समयतालिका प्रभावित नभएको बताइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी टीभीले उडानको प्रत्यक्ष प्रसारण गरेको थियो

त्यसअघि अक्टोबर ५ मा आईएसएसमा पुग्दा पनि उक्त टोलीले प्राविधिक समस्या खेप्नुपरेको थियो।

त्यतिबेला सोयुज रकेटको स्वचालित डकिङ प्रणाली विफल भएकाले कमान्डरले म्यान्यूअल कन्ट्रोल प्रयोग गरेका थिए।

पृथ्वीमा फर्किएका निर्देशक शिपेन्को र कलाकार पेरेसिल्डलाई १० दिन रुसको स्टार सिटीस्थित शिविरमा "पुनर्स्थापना"का लागि राखिनेछ।

सोयुजको स्वचालित डकिङ प्रणाली विफल भएको थियो
तस्बिरको क्याप्शन, सोयुजको स्वचालित डकिङ प्रणाली विफल भएको थियो

गत जुलाईमा आईएसएससँग जोडिन पुगेको नयाँ रुसी खण्डको इन्जिन त्रुटिवश सक्रिय हुन पुग्दा उक्त अन्तरिक्ष केन्द्रको सन्तुलन प्रभावित भएको र त्यसको स्थान केही सर्न पुगेको अधिकारीहरूले बताएका थिए।

पछि उक्त समस्या समाधान भएको थियो।

चलचित्रमा के छ?

अन्तरिक्षमा खिचिएको उनीहरूको चलचित्रको कथा विस्तृत रूपमा सार्वजनिक भएको छैन।

तर आईएसएसमा खिचिएको भागमा पेरेसिल्ड चिकित्सकको भूमिकामा छिन्।

उनले बिरामी परेका अन्तरिक्षयात्री (नोभित्स्की) को शल्यक्रिया गरेको दृश्य आईएसएसमा छायाङ्कन गरेको बुझिएको छ।

पेरेसिल्द आईएसएसमा प्रवेश गर्दै गरेको तस्बिर
तस्बिरको क्याप्शन, चलचित्र छायाङ्कन गर्न तीन जनालाई लिएर गएको अन्तरिक्षयानलाई आईएसएसमा जोड्ने डकिङ प्रणालीमा समस्या उत्पन्न भएको थियो

यो चलचित्र रुसी अन्तरिक्ष निकाय रोस्कोस्मोसका प्रमुखले परिकल्पना गरेका हुन्।

उक्त परियोजनाबारे विवाद उत्पन्न भएपछि उनले मानवसहितको अभियान हेर्ने प्रमुख अधिकारीलाई पदमुक्त गरेका थिए।

तर सर्वत्र विरोध भएकाले केही दिनपछि सेर्गेई क्रिकालेभलाई पुनः पदमा फर्काइएको थियो।

अन्तरिक्षमा छायाङ्कन गर्न जानुअघि पेरेसिल्द, शिपेङ्को र अन्तरिक्षयात्री ओलेग नोभित्स्की
तस्बिरको क्याप्शन, अन्तरिक्षमा छायाङ्कन गर्न जानुअघि पेरेसिल्द, शिपेङ्को र अन्तरिक्षयात्री ओलेग नोभित्स्की

आईएसएसमा समस्या

पुरानो हुँदै गएकाले आईएसएसमा केही वर्षदेखि विभिन्न समस्याहरू उत्पन्न हुँदै आएका छन्।

गत महिना त्यहाँ धुवाँ र प्लास्टिक जलेको गन्ध फैलिएपछि चेतावनीस्वरूप अलार्महरू बजेका थिए।

रुसी सञ्चारमाध्यमका अनुसार रुसले निर्माण गरेको आईएएसको ज्वेज्दा मोड्यूलमा उक्त घटना भएको थियो। उक्त खण्डमा अन्तरिक्षयात्रीहरू बस्ने ठाउँ छ।

त्यसको केही दिनअघि एक रुसी अधिकारीले आईएसएसका पार्टपुर्जा थोत्रिएका र त्यसका प्रणालीहरू प्रणाली विफल हुन लागेको चेतावनी दिएका थिए।

आईएसएसमा हावा छिर्ने, इन्जिन आफैँ सक्रिय हुने र चिरा पर्ने समस्या देखा परेका थिए।

सन् १९९८ मा रुस, अमेरिका, क्यानडा, जापान र केही युरोपेली देशहरूको संलग्नतामा आईएसएस निर्माण गरिएको थियो। त्यतिबेला यो १५ वर्ष टिक्ने बताइएको थियो।

गत एप्रिलमा रुसका उपप्रधानमन्त्री युरी बोरिसोभले सरकारी टीभीलाई आईएसएसका पाताहरू खिइएकाले दुर्घटना हुनसक्ने बताउँदै त्यस्तो हुन दिन नहुने बताएका थिए।

रुसी अन्तरिक्ष निकायले गत वर्ष पुरानो भएका कारण सन् २०३० उता आईएसएस सञ्चालन गर्न नसकिने बताएको थियो। हालैका वर्षहरूमा बजेट कम गरिएका र भ्रष्टाचार काण्डहरूका कारण रुसको अन्तरिक्ष कार्यक्रम प्रभावित बनेको छ।