भारतीय सिमानामा 'सतर्कता', थप रोहिन्ज्या 'नेपाल पसेका छैनन्'

तस्बिर स्रोत, BBC/SHARADKC
अधिकारीहरूले भारतमा शरण लिइरहेका रोहिन्ज्या नेपाल भित्रिने आशङ्कामा सिमानामा सतर्कता अपनाइएको बताएका छन्।
भारतीय सिमाना काटेर अन्य देशका नागरिकलाई गैर कानुनी रूपमा नेपाल पस्न नदिन "निगरानी र सक्रियता" बढाएको अधिकारीहरूले जनाएका छन्।
अहिलेसम्म अवैध ढङ्गले नेपाल पसेको कुनै घटना "रिपोर्टिङ" नभएको उनीहरूको भनाइ छ।
खास गरेर कोशी प्रदेशका सीमावर्ती जिल्लाहरूमा देखाइएको सतर्कता भारतको पश्चिम बङ्गालमा आएको राजनीतिक परिवर्तनसँग जोडिएको बताइन्छ।
बाङ्ग्लादेशी र म्यानमारका रोहिन्ज्या 'शरणार्थी' प्रति कडा नीति लिएको भारतीय जनता पार्टी (भाजपा) ले त्यहाँ सरकार बनाएपछि उनीहरू नेपाल भित्रिन सक्नेतर्फ विशेष निगरानी गर्न निर्देशन दिइएको अधिकारीहरूले जनाएका छन्।
पूर्वी नेपालका सीमावर्ती जिल्लाहरूमा निश्चित सुरक्षा चुनौतीलाई ख्याल गरेर सुरक्षा सक्रियता बढाइएको बताइएको छ।
खोज्दै रोहिन्ज्या?

तस्बिर स्रोत, BBC/sharadkc
पश्चिम बङ्गालमा भाजपा सरकार बन्ने बित्तिकै उत्पन्न आशङ्का उसको घोषित नीतिले पुष्टि गर्दै गएको छ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार यही शनिवार राज्य सरकारको गृह मन्त्रालयले गैर कानुनी आप्रवासीहरूको निम्ति होल्डिङ सेन्टर बनाउन २३ वटा जिल्लालाई निर्देशन दिएको छ।
मुख्यमन्त्री सुभेन्दु अधिकारीले अवैध घुसपैठ गर्नेहरूको पहिचान गरेर देश निकाला गर्ने अर्थात् "डिटेक्ट, डिलिट र डिपोर्ट" को नीति घोषणा गरेको तीन दिनपछि गृह प्रशासनले कार्यान्वयनको निम्ति आदेश दिएको बताइएको छ।
नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख रहेका नायब महानिरीक्षक (डीआइजी) विनोद घिमिरे भन्छन्, "कुनै पनि किसिमको गैर कानुनी प्रवेश नहोस् भनेर सीमा क्षेत्रमा निगरानी कडा तुल्याइएको छ, त्यस्तै लुकीछिपी कोही कतै प्रवेश गरेको छ कि भनेर खोजी र पहिचानको निम्ति सुरक्षा परिचालन गरिएको छ।"
तर उनले कुनै सूचनाको आधारमा नभई सतर्कताको निम्ति त्यस्तो नीति अपनाइएको बताए।
कोशी प्रदेशका सीमावर्ती जिल्लाहरूको प्रवेश विन्दुबाट नेपाल भित्रिँदा परिचय पत्र अनिवार्य गरिएको अधिकारीहरूले जनाएका छन्।
काठमाण्डूमा रहेका रोहिन्ज्या समुदायका एक अगुवा जाफर मियाले भने, "यो बहानामा सरकारले दु:ख दिएको त छैन, बाहिरबाट मान्छे आएमा नराख्नू, हामीलाई खबर गर्नू भनेको छ।"

तस्बिर स्रोत, APF
'नेपाल पसेको भेटिएको छैन'

तस्बिर स्रोत, BBC/sharadkc
केही दिनअघि सामाजिक सञ्जालमा रोहिन्ज्या नेपाल पसिरहेको भन्ने भिडिओ पोस्ट गरिएपछि त्यसले प्रहरी प्रशासनमा एक खालको चासो निम्त्याएको अधिकारीहरू बताउँछन्।
मधेश प्रदेशबाट उनीहरू प्रवेश गरेको दाबी गरिएको थियो।
तर पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले अनधिकृत प्रवेश नहोस् भनेर सीमा नाकामा निगरानी भइरहेको बताए।
"सबैतिर सुरक्षा सतर्कता बढाएका छौँ, सिमानाकामा कडाइ गरेका छौँ, सिमानामा सबैतिर साथीहरू खटिनु भएको छ," उनले भने, "यो हाम्रो नियमित काम पनि हो, हाम्रो जिल्लाको सिमानाबाट अवैध रूपमा रोहिन्ज्या प्रवेश शून्य छ।"
अध्यागमन विभागका अनुसार अनधिकृत रूपमा कुनै रोहिन्ज्या वा बाङ्ग्लादेशी नेपाल पसेको आधिकारी जानकारी छैन।
विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालले भने, "यसबीचमा अध्यागमन कार्यालय वा प्रहरीले रोहिन्ज्या समुदायको व्यक्तिलाई नियन्त्रणमा लिएर अध्यागमन विभागमा बुझाएको रेकर्ड छैन।"

तस्बिर स्रोत, Facebook/SSB
लामो समयदेखि नेपालमा रहेका जाफर मिया पनि कुनै नयाँ रोहिन्ज्या नेपाल नआएको बताउँछन्।
"कोही पनि थप आएको छैन। पहिले जति थिए त्यति मात्रै हो," उनले भने, "हामी स्वदेश फर्किने वा तेस्रो देशमा पुनर्स्थापना हुने केही टुङ्गो पनि लागेको छैन।"
नेपाल सरकारले गैर कानुनी आप्रवासी मान्ने गरेका करिब डेढ दर्जन देशका सहरी शरणार्थी नेपालमा छन्। तीमध्ये द्वन्द्व चर्किएको देश म्यानमारका रोहिन्ज्या सबैभन्दा बढी ४४० जना जति छन्।
पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार सरकारले कसैलाई पनि शरणार्थीको मान्यता दिने गरेको छैन।
"मानवीय आधारमा यहाँ बस्न दिइएको हो," उनी भन्छन्, "उनीहरूलाई स्वदेश फर्काउने गृह प्रशासनको नीति रहने गरेको छ।"
तर सर्वोच्च अदालतले विभिन्न आदेशहरूमा ज्यानको जोखिम भएका अवस्थामा जबरजस्ती स्वदेश नफर्काउन आदेश दिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















